अर्काको जातमा जाने–आउने सम्मानित

Read Time:2 Minute, 59 Second

घान्द्रुक, २६ साउन ।
    कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्तरजातीय विवाह गर्ने बाईस जोडी सम्मानित भएका छन् । दलित वर्ग उत्थान समन्वय समिति, घान्द्रुक गाउँ समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
    घान्द्रुकको फुलिवाङ, इम्ले, तिख्यान, किम्चे, क्ल्यु लगाएतमा बसोबास गरी विगत पाँच वर्षयता विवाह गर्ने जोडी सम्मानित भएका हुन् । उनीहरुलाई प्रमुख अतिथि पूर्वसभासद दुर्गा विकले अविर, दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले अन्तरजातीय विवाहले जातीय अन्तर्घुलन पैदा गर्ने बताए । ‘जातीय अन्तर्घुलन भयो भने छुवाछुत हट्न पनि मद्दत पुग्छ’–उनले भनिन् । पूर्वसभासद विकले अन्तरजातीय विवाह गर्ने जोडीलाई समाजमा पुनस्र्थापित गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताइन् । उनले यसपटकको बजेटमा सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्सानस्वरुप दिने एक लाख रुपैया समेत कटौती गरेकोमा विरोध जनाइन् ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिमबहादुर वि.क ‘क्षितिज’ ले जोखिम मोलेर अन्तरजातीय विवाह गर्नेहरु समाजमा उदाहरणको पात्र भएको बताए । सम्मान कार्यक्रमले अन्तरजातीय विवाह गर्ने जोडीलाई समाजमा स्थापित गराउन सहयोग पुग्ने बताउँदै विकले अन्यलाई पनि प्रेरणा मिल्न सहयोगी भुमिका खेल्ने विचार व्यक्त गरे ।
    कार्यक्रममा अधिवक्ता शिव सुनारले अन्तरजातीय विवाह गरेपश्चात उक्त जोडीलाई सरकारले सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अधिवक्ता सुनारले उमेर पुगेका युवायुवतीले चाहेमा जातिकै कारण विवाह गर्नबाट कसैले रोक्न नसक्ने बताए । त्यसो गरिए पीडकलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम ३ महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उनले जानकारी गराए ।

सबिता मगर, पोखरा
    
   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %