उच्चस्तरीय राजनीतिक समिति र असन्तुष्ट दलहरूबीच आज हुने भनिएको निर्णायक वार्ता स्थगित भएको छ ।
वार्ताको तयारी नपुगेको तथा शीर्ष नेताहरूको समयअभाव भएकाले शनिबारको वार्ता स्थगित भएको समितिले जनाएको छ । स्थगित वार्ता आइतबार हुने बताइएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल विदेश भ्रमणबाट शुक्रबार अबेर मात्र स्वदेश फर्किएकाले वार्ता प्रक्रियामा भइरहेको पछिल्लो प्रगतिबारे समीक्षा गर्न र असन्तुष्टका माग सम्बोधनका लागि छलफल गर्न समय नपुगेकाले बैठक सारिएको स्रोतहरूले जनाएका छन् । समितिले निर्वाचन प्रक्रियामा असन्तुष्ट मोहन वैद्य नेतृत्वको मोर्चा, उपेन्द्र यादव नेतृत्वको सघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसंग संयुक्त रुपमा निर्णायक वार्ताको तयारी गरेको छ ।
यसअघि भएको छुट्टाछुट्टै वार्तामा तीनवटै मोर्चाले मंसिर ४ को निर्वाचन प्रक्रिया रोक्नुपर्ने, ११ बुँदे सहमति, २५ बुँदे बाधाअड्काउ फुकाउ आदेश, सरकार र चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति खारेज गरिनुपर्ने तथा संविधानसभामा समानुपातिक प्रतिनिधित्व बढाउनुपर्ने लगायत माग पेश गरेका थिए । उच्चस्तरीय समितिमा रहेका मुख्य दलले भने सरकार परिवर्तन र निर्वाचन स्थगनबाहेक अन्य मागमा लचकता अपनाउन तयार रहेको बताउदै आएका छन् ।
आनन्द गुरुङ
