कुनै पनि देशको अन्तर्राष्ट्रिय विमानस्थललाई अति संवेदनशिल मानिन्छ । त्यसैले त्यहाँ विशेष सुरक्षा सतर्कता अपनाइन्छ, होहल्ला, हुलदंगा र नारावाजी गर्न दिईदैन । तर शुक्रबार देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो नियम तोडियो । भारत भ्रमण सकेर स्वदेश फर्किएका कांग्रेस सभापति सुशील कोइरालालाई स्वागत गर्न पुगेका कांग्रेस कार्यकर्ताका कारण विमानस्थल परिसर राजनीतिक कार्यक्रम भइरहने खुलामञ्ज मै परिणत भयो ।

हातहातमा झण्डा हल्लिएकै छ, जिन्दावादको नारा लागाउ‘दै राजनीतिक दलका सभा–सम्मेलन हुने राजधानीको खुलामञ्च जस्तै बनायो कॉग्रेस कार्यकर्ताहरुले त्रिभूवन अन्तराष्ट्रिय विमान स्थललाई । त्यति मात्र कहाँ हो र ? कार्यकर्ताको जोशसंगै हात हल्लाएर नेताहरू पनि जोसिन्दै मुलुककै अति संवेदनशील क्षेत्र विमानस्थल हो भन्ने चाहिं कसैले हेक्का राखेनन् नेपाली कॉग्रेसका नेता तथा कार्यकर्ताहरुले ।
नेता त नता भइहाले, सधैं ताली र प्रशंसाको भोका । विकानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समेत यो स्थानको संवेदनशिलताप्रति विचार गरेनन् । आफन्त वा साथीभाई विदेश जान लाग्दा वा विदेशबाट आउँदा स्वागत र विदाइमा जाने सर्वसाधारणलाई समेत तल्लै गेटमा रोक्ने सुरक्षाकर्मीले राजनीतिक प्रभावको बेवास्ता गर्न सकेनन् र विमानस्थलमा हुलहुल्ती कार्यकर्ता प्रवेश गर्न दिए ।
यस्तो दृष्य सायद संसारका अन्य कुनै अन्तर्राष्ट्रिय विमानस्थलमा देखिदैन, किनभने विमानस्थलको सुरक्षाप्रति कुनै पनि देशको सुरक्षा निकाय अति संवेशनशिल हुन्छ र त्यस्ताको अनुगमन तथा निरीक्षण र पालना सबैले गर्नेगर्दछ । तर शुक्रबार त्रिभूवन विमानस्थलमा त्यस्तो पाइएन ।
कार्यकर्तामा लोकप्रियता कसको बढी छ भन्ने कांग्रेस नेताहरूको होडबाजीका कारण शुक्रबार विमानस्थल यसरी अस्तव्यस्त हुन पुगेको हो । विमानस्थलबाट सबै दलका शीर्ष नेता ओहोरदोहोर गर्ने गर्छन्, तर कांग्रेसका दुई नेता सुशील कोइराला र शेरबहादुर देउवाका पालामा मात्र यस्तो हुने गरेको छ । करिब दुई महिनाअघि भारत जा“दा र फर्कंदा देउवा पक्षका कार्यकर्ता पनि यसैगरी विमानस्थल पुगेका थिए । देउवालाई उछिन्दै अहिले कोइराला पक्षका कार्यकर्ताले यस्तो प्रदर्शन गरे ।
विमानस्थलको सुरक्षाको जिम्मेवारी लिएका नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक गोपालप्रसाद भण्डारी राजनीतिक दलहरूले विमानस्थलको संवेदनशीलता नबुझिदिंदा समस्या आउने गरेको बताउँछन् ।
विमानस्थल बाहिर मात्र होइन, विशिष्ट कक्षमै पनि नेता–कार्यकर्ता भरिभराउ थिए । सञ्चारकर्मीले समेत अनुमति लिएर मात्र जान पाइने स्थानमा अधिकांश नेताहरूले कब्जा जमाएका थिए, जसका कारण समाचार सम्प्रेषण गर्न पुगेका सञ्चारकर्मीले बस्ने ठाउँ पाएनन् । त्यतिमात्र होइन विमानस्थलमा सुरक्षामा खटीएका प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउनसमेत निकै हम्मे परेको थियो ।
सभापतिलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्ताले यातायातका साधन जथाभावी पाकिङ गर्दा विमानस्थल अव्यवस्थित देखिन्थ्यो । तर डीआईजी भण्डारीले विशिष्ट व्यक्तिहरूका धेरै सवारी भएकाले विशिष्ट कक्षको अगाडि गाडी राख्नु परेको बताए ।
शुक्रबार विमानस्थलमा देखिएको दृष्यले गम्भीर सुरक्षा कमजोरी देखाएको छ । विमानस्थलमा प्रवेश गरेको हुल सँगै अपराधिक उद्धेश्यका व्यक्तिले सजिलै प्रवेश पाउने र कुनै पनि अपराधिक गतिविधि गर्न सकिने अवस्था शुक्रबार थियो । एउटा पार्टीका नेताको जुँगा लडाईमा विमानस्थलको संवेदनशिलतालाई बेवास्ता गरिनु गम्भीर त्रुटी हो । सम्बन्धित दलका नेता र सुरक्षा निकायले यसबारे समयमै सोच्ने हो कि ?
आनन्द गुरुङ
