यसपालिको आदिवासी दिवस संघर्षपूर्ण

Read Time:4 Minute, 15 Second

हरेक वर्षझै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघले १९औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ । विगतका कतियप वर्षहरूमा आ–आफ्नो जातीय पहिचान झल्कने सांस्कृतिक कार्यक्रमहरू गरेर मनाइने विश्व आदिवासी दिवस यो वर्ष भने आन्दोलनको रूपमा मनाइदैछ ।
संविधानसभाको निर्वाचन सम्पन्न गर्न अहिले मुख्य दलहरू घुडा धंसेर लागिपरेका छन् । र, केही साना दलहरू भने निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट छन् । निर्वाचनमा असन्तुष्ट दलहरूले प्रत्यक्ष र समानुपातिक सीटको प्रतिशतलगायतका विषयमा असहमति जनाएका छन् । जुन एक तिहाईभन्दा बढी जनसंख्या रहेको आदिवासी जनजातिसग पनि प्रत्यक्ष सम्बन्ध राखेको छ । त्यसैले १९औं विश्व आदिवासी दिवस मनाइरहेको नेपाल आदिवासी जनजाति महासंघले पनि निर्वाचनबारे मुख्य दलहरूबीच भएको सहमति र प्रक्रियाको विरोध गरिरहेको छ । त्यसैले महासंघले १९औं विश्व आदिवासी दिवसलाई आन्दोलनकै रूपमा मनाइरहेको  भनाई नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालको छ ।
विश्व आदिवासी दिवस अगष्ट नौ तारिखमा अर्थात साउन २५ गते हो । तर महासंघले साताव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइरहेको छ ।  मंगलबार उपत्यकामा मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो । ¥यालीले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । र्यालीमा सहभागी तमू हूल छो धीका अध्यक्ष रेशम गुरुङले आदिवासी जनजाति समुदायले अबका हरेक कार्यक्रम अधिकार प्राप्तिसँग जोडेर मनाउने बताए ।
मुख्य दलहरूले ११ बुंदे राजनीतिक सहमति गर्दा संविधानसभा सदस्यको सीट संख्या घटाउने निर्णय गरेका छन् । जसमा प्रत्यक्षमा यथावत् राख्दै समानुपातिकमा कटौती गर्ने सहमति भएको छ । पहिलो संविधानसभामा आदिवासी जनजाति, मधेसी, महिला, दलित, अल्पसंख्यकहरूको उल्लेख्य सहभागिता समानुपातिकबाटै भएको थियो । जसलाई उनीहरूले आफूहरूमाथिको षड्यन्त्रका रूपमा बुझेका छन् । त्यसैले आदिवासी जनजातिहरूले प्रत्यक्षतर्फ ४० र समानुपातिकतर्फ ६० प्रतिशत सीट संख्या कायमै हुनुपर्ने माग राखेको किरात याक्थुम चुम्लुङका अध्उक्ष उत्तरसिंह थाङ्देकको छ ।
आदिवासी जनजातिहरूको पहिचान राष्ट्रको सम्पत्ति हो । जसलाई जोगाउने जिम्मेवारी राज्यको हो । तर करिब अढाई दशक लामो देशको इतिहासमा आदिवासी जनजातिलगायतका समुदायलाई राज्यले सधैं बहिस्करणमा पर्ने प्रयास गरेको इतिहास छ । त्यसैले पनि अहिले आदिवासी जनजातिहरू आन्दोलित छन् । असन्तुष्ट छन् । यो आन्दोलन र असन्तुष्टि आफ्नो पहिचान खोजीका लागि हो । पहिलो संविधानसभा विघटनले आदिवासी जनजाति तथा अल्पसंख्यकहरूको माग र सपनामा तुषरापात भयो । यता आदिवासी जनजातिहरूलाई अझ पछाडि धकेल्ने सहमति गर्दै मुख्य दलहरू दोस्रो संविधानसभाको निर्वाचन गर्ने तयारीमा जुटेको छ । त्यसैले पनि आदिवासी जनजाति महासंघले १९औं विश्व आदिवासी दिवसलाई आन्दोलनकै रूपमा मनाइरहेको हो ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %