उच्चस्तरीय राजनीतिक समिति र निर्वाचनको प्रक्रिया संग असहमत उपेन्द्र यादव र अशोक राई नेतृत्वको आठ दलिय संघीय लोकतान्त्रिक मोर्चाबिचको वार्ता औपचारिकतामा मात्र सिमित बनेको छ । विघटित संविधानसभा भवन नयां बानेश्वरमा समिति र दुई मोर्चा बिच छुट्टाछुट्टै छलफल भएको थियो । ११ बजेदेखि १ घन्टा यादव नेतृत्वको मार्चा र १ बजेदेखि २ बजेसम्म् वैद्य नेतृत्वको मोर्चासंग छलफल भएको थियो ।
बैठकमा उपेन्द्र यादव नेतृत्वको मोर्चाका तर्फबाट आफ्ना माग राख्ने र समितिका तर्फबाट ति माग सुन्ने काम भएको बैठकपछि नेताहरुले बताए । मोर्चाले चार दलीय उच्चस्तरीय समितिको खारेजी, प्रधानन्याधीशबाट खिलराज रेग्मीको राजीनामा, समानुपातिकमा पुरानै सीट संख्या कायम गरिनुपर्ने, निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण गरिनुपर्ने, मतदाता नामावली पुन संकलन गरिनुपर्ने र बाधा अड्काऊमा भएका केही त्रुटीहरु सच्याउनुपर्ने छ वटा बटमलाइन पेश गरेको छ ।
आफुले यसअघि नै राख्दै आएका मागहरु बैठकमा दोहोर्याएपनि त्यसबारे समितिभित्र फरकफरक मत रहेको मोर्चाका संयोजक उपेन्द्र यादवले बताए । निर्वाचन हुने नहुने अब बल सरकारको कोर्टमा रहेको यादवको भनाई थियो । तर बैठकमा सहभागि एमाले नेता रघुजी पन्तले मोर्चाको माग प्रति समिति गम्भिर रहेको बताए । उनले मोर्चाको माग बारे गम्भिरतापुर्वक छलफल भएको र निर्वाचनबारे असन्तुष्ट रहेका अन्य दलहरुसंगपनि छलफल गरेपछि समिति एउटा निष्कर्षमा पुग्ने बताए । मोर्चा संगको बैठकमा कुनै निष्कर्ष ननिस्किएपनि संघीय लोकतान्त्रिक मोर्चासंगको छलफल सकारात्मक भएको पन्तको भनाई थियो ।
त्यस्तै वैद्य नेतृत्वको मोर्चासंगको बैठक पनि विना निष्कर्ष सकिएको छ । उक्त मोर्चाले वार्ताका लागि निर्वाचनको प्रक्रिया रोक्न माग गरेपछि समितिसंग बैठक धेरैबेर चलेन । मोर्चाले सर्वपक्षीय गोलमेच सम्मेलन र राष्ट्रिय सहमतिय सरकार गठनको माग राख्दै आएको छ । सरकारले मंसिर चारका लागि निर्वाचनको मिति घोषणा गरेपनि मोर्चा सहित नेकपा माओवादी नेतृत्वको मोर्चा र संघीय समाजवादी पार्टीले फरक मत राखेपछि समिति उनीहरुलाई मनाउन वार्तामा जुटेको हो ।
जगन शर्मा, काठमाण्डु
