उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट दलसँग आज वार्ता गर्ने भएको छ । समितिले आज मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको हो ।
आज समितिको कार्यालय नयां बानेश्वरमा हुने वार्तामा असन्तुष्ट दलहरूले राख्दै आएका सबै मागका विषयमा छलफल हुने बताइएको छ । संविधानसभाको आकार बढाउनुपर्ने, दलीय नेतृत्वको सरकारले चुनाव गराउनुपर्नेलगायतका विभिन्न मागहरू असन्तुष्ट दलहरूले राख्दै आएका छन् । उच्चस्तरीय राजनीतिक समितिका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक पत्र लेखेपछि असन्तुष्ट दलहरू वार्तामा बस्न तयार भएका हुन् ।
विहान ११ बजे मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चासंग , १२ बजे सङघीय समाजवादी पार्टीसंग र दिउंसो एक बजे नेकपा–माओवादी नेतृत्वको मोर्चासंग वार्ता हुने छ । आगामी मङसिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न गराउन राजनीतिक वातावरण बनाउन समितिले गम्भीरताका साथ वार्ता गर्ने निणर्य गरेको नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले बताए ।
गगन शर्मा
