संविधानसभा चुनावको विपक्षमा रहेका दलहरुमा सहभागी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले नेकपा – माओवादीका नेताहरुको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । परिषद्ले राष्ट्रियताका लागि पूर्वराजा र राजावादीहरुसग मिल्न सकिने भन्ने अभिब्यक्तिप्रति आपत्ति जनाएको हो । यस्तो अभिव्यक्ति सैद्धान्तिक अडान हो भने आफू ३३ दलीय मोर्चामा नबस्ने चेतावनी परिषदले दिएको छ ।
चुनावको विपक्षमा रहेको ३३ दलमा आवद्ध भए पनि गणतन्त्र बिरोधी पूर्वराजावादीहरुसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसकिने भन्दै विज्ञप्तिमार्फत परिषद्ले आपत्ती जनाएको हो ।
परिषदका अध्यक्ष कुमार लिङदेनद्वारा जारी विज्ञप्तिमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता कुरा आफ्नो बटमलाइन भएको उल्ल्ोख छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन यथास्थितिवादी अनि संघीयता विरोधी भएको आरोप लगाउँदै परिषदले यसका विरुद्धमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । परिषदले मंसिर ४ को निर्वाचनलाई संघीयता बिरोधी निर्वाचन भन्दै त्यसको प्रतिकारका लागि प्रशिक्षण थालेको बताएको छ ।
भैरब आङ्ला, धरान
