राष्ट्रिय दलित आयोगले बेलबारी घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । विराटनगरमा स्थलगत अध्ययनपछि आयोगले तयार गरेको प्रतिवेदन पत्रकारसामु सार्वजनिक गर्दै आयोगले पीडितले न्याय पाउनु पर्नेमा जोड दिइएको छ । आयोगले घटनाको प्रकृतिका आधारमा कानुनी प्रक्रिया अगाडि बढाउँदै दोषीलाई कारवाही गरी पीडितलाई न्याय दिलाउन सबै एक हुनुपर्नेमा जोड दिएको छ । पाँच बुँदामा समेटिएको प्रतिवेदनमा घटना हुनुको मुख्य दोष नेपाली सामाजिक चेतना भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा सम्बन्धित पीडित पक्षमाथि जातीय भेदभाव झल्कने गरी गाली गलौज तथा उचनिच जस्ता भावना फैलाएको उल्लेख छ । 
घटनापछि पीडितले दिएको उजुरीका आधारमा प्रहरी प्रशासनले तत्काल घटनाका विषयमा गहिरो अनुसन्धान गर्न तत्परता नदेखाएकोले समस्या बढेको बताइएको छ । घटना अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगकी केन्द्रीय अध्यक्ष शुशिला श्रीपालीले घटनाको प्रारम्भिक प्रतिवेदनले सबै विषय समेट्न नसकेको बताउँदै अर्को टोलिमार्फत थप अध्ययन गर्ने बताए । उनले दलित महिलामाथि भएको घटनाले राज्यमा कानुन नभएको आभास दिएको बताए ।
प्रतिवेदन अध्ययन संयोजक अनिता परियारले सार्वजनिक सञ्चारमाध्यमको भूमिकाकै कारण दलित महिलामाथि भएको ज्यादती बाहिर आएको बताए । बेलबारीमा साउन ६ गते स्थानीय एक दलित महिलामाथि बलात्कारको प्रयास भएको थियो । घटनामा संलग्न भनिएका आरोपितमध्येका जीवन भेटवाल परिवारका सदस्यसहित स्थानीय केही व्यक्तिहरुले ७ गते महिलामाथि कालो मोसो दलि जुत्ताको माला लगाइ दिएका थिए । त्यसपछि राष्ट्रिय दलित आयोगले घटनाको अध्ययन गर्न अनिता परियारको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो । त्यही समितिले घटनाका विषयमा अध्ययन गरेको प्रतिवेदन सार्वजानिक गरिएको हो । घटनामा पीडित बनेकी महिलाले दिएको किटानी जाहेरीका आधारमा मोरङ प्रहरीले कृष्ण सुन्दासलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले पीडितले जाहेरी दिदा उल्लेख गरेको हुल्याहाका आधारमा सुन्दासलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ ।
भैरब आङ्ला, धरान
हे भगवान किन बनाईस ‘सार्की’ मलाई ?
