सुर्खेतको काँक्रेबिहारमा बुद्धको मूर्ति राख्न नदिएको विरोधमा आदिवासी जनजाति महासंघलगायत बौद्ध धर्मावलम्बी संघसंस्थाले आज बिहान सिंहदरवार घेराउ गर्दैछन् ।

बुद्ध जयन्तीको अवसरमा काँक्रेबिहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने कार्यमा स्थानीय प्रशासनले हस्तक्षेप गरी अवरोध गरेपछि जनजाति महासंघ लगायतका संंघसंस्थाहरु बुद्धका मूर्ति राख्न पाउनुपर्ने माग राख्दै आन्दोलित भएका छन् । यसअघि नै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेट गरी सरोकारवाला संस्थाहरुले आफ्ना माग राखेपनि उनीहरुका माग सरकारले पूरा नगरेपछि दोस्रो चरणको आन्दोलन स्वरुप आज सिंहदरवार घेराउ गर्न लागेका हुन् ।
सिंहदरवार जाने नाकाहरु माइतीघर मण्डला, पुतलीसडक, हनुमानथान, भद्रकाली नाकामा यातायात अवरुद्ध गर्दै सरोकारवालाहरुले धर्ना दिने जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए । धर्ना बिहान ९ देखि ११ बजेसम्म हुने अध्यक्षकुमालले जानकारी दिए ।
काँक्रेविहार घटनालाई लिएर शुरु गरिएको दोश्रो चरणको आन्दोलन स्थगित गर्न अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले हिजो अनुरोध गरेकाथिए । दोश्रो चरणको आन्दोलन शुरु गरेका सरोकार समूहलाई हिजो भेटी अध्यक्ष रेग्मीले आन्दोलन स्थगित गर्न अनुरोध गरेकाथिए । तर, आफ्ना माग पूरा नभएको भन्दै आदिवासी जनजाति लगायत बौद्ध धर्मावलम्बीहरुले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आनन्द गुरुङ
