अहिले देशमा पहिचान, संघियता, धर्मनिरपेक्षता जस्ता गहन मुद्दामा निक्कै चर्को बहस चलीरहेको छ । सबैले आ-आफ्नो तर्कलाई अघि सार्दै आफु राम्रो वा आफ्नो विचार राम्रो देखाउने कोशीस गरिरहेका छन । हिजो अस्ती यस्ता गहन राजनीतिको कुरै नगर्नेले पनि यस बारेमा मुख खोल्न थालेकाछन् । यसले देशका हरेक क्षेत्र, वर्ग, पेशा, व्यवसायी, जातजाति धार्मिक समुदाय सबैलाई छोएको छ ।
तर शुरुमा नेपालमा यो मुद्दालाई राजनीतिकरण गर्ने राष्ट्रिय जनमुक्ति पार्टी जसले विगत २३ बर्ष देखी जातिय पहिचानको राजनीतिमा केन्द्रित रहेर राजनीति गरीरहेको छ, त्यसका संस्थापक अध्यक्ष ( हालसम्म निरन्तर) एमएसथापा चाहिं के भन्छन् ? भनि मैले सोधेको थिए । ईतिहासविद, कानुन व्यवसायी समेत रहेका पूर्व मन्त्री थापा पार्टी विस्तारको क्रममा बेलायत भ्रमणमा रहेको बखत यो अन्र्तवार्ता गरेकोथिए । उनको प्राचिन मगर र अक्खा लिपी नामक अनुसन्धनात्मक बहुचर्चित पुस्तक सम्बन्धमापनि कुरा गरिएकोछ । । (पुरा अर्न्तरवार्ता भिडीयोमा हेर्नोस)
– डा. चजिन्द्र राना, बेलायत
शिक्षण पेशा, वकालत सँग सँगै सकृय राजनीति गर्दे आउनुभएको यहाँले कम अनुसन्धान गरिएको क्षेत्र जातिय ईतिहासमा समेत काम गरेर देखाइदिनु भो । यत्रो भूमिका माथि एकै साथ कसरी न्याय गर्नु हुन्छ ?
अध्ययन प्रतिको रुची भएपछि यो सबै सम्भव छ । लामो समय सम्म बिद्यालयको प्राध्यापक रहँदा पनि अध्ययन गर्ने मौका मिल्यो । ईतिहास, भुगोल सम्बन्धीमा अभिरुची रहेकोले पनि यसबारे मैले अनुसन्धान गर्ने मौका पाए ,सँग संगै वकालत पेशा गर्दा पनि यस सम्बन्धी अध्ययन गर्ने थप मौका मिल्यो । मेरो साँस्कृतिक ईतिहासमा बिशेष रुची रहेकोले यस सम्बन्धी अध्ययन गरी पुस्तकको आकार दिएको मात्र हुँ ।
प्राचिन मगर र अक्खा लिपी पुस्तकमा तपाईंले दावी गरेको बुद्ध मगर हुन भन्ने र पाली लिपीलाई मगरको अक्खालिपी भनि दावी गरिएकोलाई लिएर विवाद पनि उठेको देखिन्छ । अनुसन्धान नपुगेको आरोप लगाइन्छ, के भन्नु हुन्छ ?
अनुसन्धान नपुगेको भन्ने वालाले के के नपुगेको प्रस्ट भन्नु पर्दछ, विनाआधार आरोप लगाउदैमा ईतिहास बदिलिदैन । मगरको ईतिहास लेख्दा प्राचिन समयमा बिभिन्न किसिमका जातीहरुले, देश हरुमा मगरलाई मगर नभनी बिभिन्न नामले पुकारेको पाईन्छ, जस्तै चिनियाहरुले मगरलाई मगर नभनी यु-ची भनी उल्लेख गरेको पाईन्छ, यु-चि भनेको नेपालमा बसोबास गर्ने बृजी हुन भनेर इतिहासमा लेखिएको छ र अहिलेको मगरलाई प्राचिन समयमा बृजी जाति भनेर प्रस्ट उल्लेख गरेको छ ।
बुद्धको पालामा बुद्ध कुन जातिका हुन भन्ने कुरामा बुद्धकालिन जाति भाषाको खोज अनुसन्धान गर्दै जादा उनी बृजी जातिको भएको पाइएको छ र ईतिहासमा वाज्जी भनेको छ र चिनियाहरूले भन्ने यु-चि जातिनै नेपालका बृजी हुन र पाली भाषामा वाज्जी हुन भन्ने प्रस्ट लेखेको पाईन्छ ।
पाली भाषामा मगर भाषाको प्रयोग प्रसस्त पाईन्छ । यसरी प्राचिन समयमा मगरलाई मगर नभनी बृजी, विडाल, भाटी, लिच्छवी, मेदेश, यु-ची आदि नामले पुकारेको पाईन्छ ।
स्वयम मगरहरुको साँस्कृतिक परम्परा बौद्ध साहित्यमा प्रसस्त उल्लेख गरेको पाईन्छ । जस्तै बुद्धकै समयको व्यवहारिक परम्पराकै कुरा गर्ने हो भने पनि मगरले हकै लाग्ने गरी मामाको छोरीको बिहे गरेजस्तै बुद्धले पनि मामाकै छोरी बिहे गरेका थिए । यसरी मामाको छोरी मात्र बिहे गर्ने परम्परा अन्य कुनै पनि जात-जाति, धर्म समुदायमा पाइदैन । त्यस्तै बुद्ध सुङ्गुरको मासु खाई पखाला लागेर बितेको उल्लेख छ । बुद्धले बोलेको भाषा शब्दहरू जस्तै उनले कतै ‘मोचा खान्छु’ भनेको उल्लेख छ जसलाई अङ्ग्रेजीमा वनाना भनेर उल्था गरेको पाईन्छ । मगरहरुले अहिले पनि केरालाई मोचा नै भन्छन । त्यस्तै बुद्धको पुर्खाको नाम वक्का भनि उल्लेख गरेको पाईन्छ । मुखबाट अचानक कुनै बस्तु निस्कन्छ भने त्यसलाई मगर भाषामा वक्का भनिन्छ जसलाई अङ्ग्रेजीमा भोमिटिङ भनिन्छ भने खस नेपालीमा उल्ती गर्नु भनिन्छ ।
बौद्ध साहित्यमा उल्लेखित त्रिपिटक,मज्झ्यम निकाय जसलाई अङ्ग्रेजीमा मिड्ल पार्ट भनिन्छ, यदी यो शब्द संस्कृत र हिन्दीमा भएको भए मध्यम भन्नु पर्ने तर मगर भाषा प्रयोग भएकोले मगरहरुले बीचको वा मध्यमलाई माझ भन्छन, जस्तै बीचमा हिंड्नु भनेको मगर भाषामा माझ अके भनिन्छ । संस्कृतमा भनेको भए मध्यम भन्नु पर्ने । त्रिपिटकलाई अङ्ग्रेजीमा थ्री बास्केट भनिन्छ भने खस नेपालीमा तिनवटा भनिन्छ यसरी बासले बनेको बस्तुलाई मगरहरुले पितारा भन्दछन यसको क्लासिक वर्डबाट पितर बनेको छ ट्री भन्ने संस्कृतबाट जोडीएको मात्रा हो ।
यस्ता जोडीएको भाषा संसारमा धेरै पाईन्छ जस्तै अकुप्रेसर, अकु भनेको ल्याटिन भाषा र प्रेसर भनेको अङ्ग्रेजी भाषा हो । भारतीय लगायत केही मुलुकहरूले बेलायतका गोरा छाला भएकालाई अङ्ग्रेज भन्छन् जसको अर्थ अङ भनेको संस्कृत शब्दबाट आएकोहो जसको अर्थ शरीर र रेज भनेको फारसी भाषा हो जसलाई रङ भनिन्छ । सेतो रङ गोरो मान्छे भन्ने बुझिन्छ । शब्दको मिश्रन संसारको हरेक भाषामा पाईन्छ । त्रिपटकमा पनि मुल शब्दमा पिटक भन्ने जुन मुल शब्द हो त्यो मगर भाषाबाट बनेको छ र त्यसमा अन्य शब्द मिलेर तीन वटा वा चारवटा भन्ने बुझाउन ट्रिपिटक भनियो संस्कृतमा । यस्ता धेरै उदाहरणहरू छन् जसले बुद्ध मगर कुलमा जन्मिएको हुन भन्ने बुझाउन ।
{youtube}https://www.youtube.com/watch?v=rAKugSMH4EQ{/youtube}
त्यसैले मगरहरू बुद्धिस्ट हुन त्यसैले बौद्ध धर्म अपनाऔं भन्ने लहर चलेको हो ?
बुद्ध भन्ने शब्द नै मगर शब्द हो । संस्कृतमा बुद्धको अर्थ ज्ञानी हुन्छ । नेपालीमा जान्ने सुन्ने बुझ्ने भनिन्छ र अङ्ग्रेजीमा इन्लाइटमेन भनिन्छ अर्थात बढीनै ज्ञानी वा प्रकाशवान व्यक्ति भन्ने बुझिन्छ । मगर भाषामा बुद्धि नभएकोलाई बुद्धि माले भनिन्छ ज्ञान माले भनिदैन, मगर भाषामा बुद्धको अर्थ बुद्धि नै हो । बुद्ध भनेको एउटा ज्ञान हो । धार्मिक रुपले ख्रिस्तियन , मुस्लिम जो जेसुकै भएपनि ज्ञान त सबैलाई चाहिन्छ । त्यसैले बुद्ध हुनु भनेको ज्ञानी हुनु हो। बुद्धको सक्कली नाम त सिद्धार्थ गौतम हो ।
यो गौतम कसरी भयो त भन्दा उनी जन्मेपछी उनको आमा बिति कान्छी आमाले स्याहार सुसार गरे । उनको नाम गौतमी थियो । बुद्धले महिलालाई सम्मान दिदैं आफ्नो नामको अगाडि गौतम बुद्ध राखे । महिलालाई सम्मान गर्ने कुरा के हिन्दूले नाइ भन्छ ? के ख्रिस्तियनले नाई भन्छ ? के मुस्लिमले नाइ भन्छ ? यो ज्ञानको कुरा जहाँ महिलाको सम्मान भाछ, जहाँ मान्छेलाई जीवन पद्दति सिकाइ रहेकोछ त्यसकारण यो ज्ञान ,यो बुद्धि त सबैलाई चाहिएको छ नी !
त्यसैले बुद्धलाई मान्दैमा बुद्धिस्ट हुनैपर्छ भन्ने छैन, बुद्ध धर्मको हुनुपर्ने जरुरी छैन । अहिले बुद्धलाई धर्मको रुपमा बिकास गरेको छ तर यो धर्म भन्दा बढी यो वे अफ साइन्टिफिक लाइफ हो, मान्छेले बढी नबुझेर धर्मको रुपमा एकोहोरो भएको जस्तो लाग्छ ।
अब त्यस्मा मगरहरुले बढी बुझेर वा बुद्ध पनि मगर जातिको भएको कारण सम्मान दिने कुरा बेग्लै हुन तर धेरै कुरा हाम्रो चाड परम्परा रितिथिती बुद्ध धर्म परम्परासँग मेल खान्छ । अहिलेको युगमा कसैले पनि आफ्नो स्व-इच्छाले कुनै पनि धर्म अपनाउन सक्छन तर मगरहरूको पैतृक धर्म बुद्ध धर्म नै हो ।
प्रसंग बदलौं, २०४६ आसपास वर्गीय राजनीतिको वेग चलीरहेको बखत जातिय राजनीतिको फेरो किन समात्नु भएको थियो ?
जातपातको त्यति ठुलो समस्या नभएको युरोप त्यस मध्ये पनि जर्मनी र त्यसपछि रुस जहाँ जातपातको भेद्भाव छैन, त्यस्तै चाइनामा जहाँ एउटा जातिले अर्को जातिलाई छुनै नहुने, एउता जातिले पकाको अर्को जातिले खानै नहुने भन्ने छैन त्यहाँ वर्गीय राजनीति ठिक हुनसक्छ । तर भारत नेपाल जस्तो मुलुक जहाँ मनुस्मृतिले समाजलाई बिभाजन गरेको छ । मान्छेको घरमा कुकुर पस्न हुन्छ तर मान्छे पस्नु हुन्न , यहाँ यस्तो समाज छ जहाँ मान्छेले मरेको मान्छेसँग बिहे गरेर बसेको छ । जस्तो, कुनै आईमाई तरुनी अवस्थामा बिधवा भइन वा वाल बिधवा भईन यस्तो संस्कार बसाल्दिएको छ कि उ लोग्ने मरे पनि मरेको लोग्नेसँग आजीवन विहे गरेर बस्नुपर्छ । एउटा जात अर्को जातसँग बस्नै नहुने, खानै नहुने । यसरी मनुस्मृतिले गर्दा खानपिन सँगै गर्न नहुने हिन्दूबादी समाजले जसलाई दलित अछुत भनिदिएको छ, उसले खाद्यको व्यापार गर्न सक्दैन । राशनपानी ,चियापानको दोकान गर्न सक्दैन । रेस्टुरेन्ट खोल्न सक्दैन। त्यो वर्गको कारणले नसकेको हो कि जातको कारणले नसकेको हो ?
काठ्मान्डुकै कुरा गर्दा धरहराको छेउमा कामी, दमाइ, मगर, सार्की, गुरुङ तमाङ सबैले दिउसो ठेलागाडा तान्छन तर बेलुकी दमाइ दमाइकै ठाँउमा, कामी कामीकै ठाँउमा, मगर मगरकै ठाँउमा जान्छन यदि वर्गको हिसाबले भन्ने हो भने त एकै ठाउमा बस्नुपर्ने हो नी तर तिनीहरूको एक अर्कामा भान्सा पनि चल्दैन । त्यो गरिव गरिवको विचमा बिहेवारी पनि चल्दैन । यदि वर्गको कुरा हो भने त्यस्तो विभेद पक्कै हुन्थेन ।
त्यसकारण यस्तो जातपात र छुवाछुत भएको ठाँउमा मार्क्सवादले काम गर्देन । अर्को कुरा मार्क्सवादले मान्छेलाई अति भौतिकीकरण गरेको छ । जात भनेको स्त्री र पुरुष मात्र हुन्छ भन्यो । यो व्याख्या अनुसार स्त्री र पुरुष मात्र हो भने भाले र पोथीको मात्र कुरा आउछ, त्यो समाजले किन दाजु र बहिनी मान्ने ? आमा छोरा किन मान्ने ? त्यसकारण मार्क्सवादको अति भौतिकबादी व्याख्या गलत छ ।
मनुस्मृतिले खाएको यो हिन्दूवादी नेपाली समाजमा गरिव हुनुमा पनि जातिवादी, धार्मिक, सामाजिक कारण छ । त्यसकारण जुन कारणले गरिवीमा फँसेको छ, जुन सामाजिक रुपमा अपमानित भएर बसेको छ त्यसबाट मुक्ति दिनु पर्यो नि पहिला त ! त्यसो भएको हुनाले नेपालको सन्दर्भमा मार्क्सवाद उचित छैन भनेको हुँ । तर जो समाजमा स्थापित छन जस्तै बाहुन- भाषा, धर्म उसैको लागु छ । उसैको मान्छे शिक्षित छन् । उसैका मान्छेलाई सरकारी सुबिधा छ । उसैको मान्छे हारेपनि जितेपनि सिहदरबार भित्र छिरेका छन । हरेक ठाँउमा सिडिओ बाहुन छन । न्यायाधिस बाहुन छन । मन्दिरमा घन्टी बजाउने बाहुन पनि बन्दुक समाएर आर्मी पुलिसमा हाकिम भएर बसेकाछन । हामी बन्दुक समाउने भनेर बदनाम भएको जनजाति चाँही पेट पाल्न बिदेश लाग्न परेकोछ ।
{youtube}https://www.youtube.com/watch?v=vYaYOLf4efo{/youtube}
यसरी सम्पूर्ण कुरा पुगेकालाई वर्गीय कुरा गर्नु ठीक छ तर त्यो बाहेक जो सामाजिक रुपमा अपमानित भएर बसेकाछन- चाहे त्यो थारु को कुरा गर्नुस चाहे मधेसिको कुरा गर्नुस, चाहे आदिवासी जनजातिको कुरा गर्नुस । यीनलाई राज्यसत्तामा समान अधिकार चाहिएको छ, सामाजिक क्षेत्रमा , धार्मिक क्षेत्रमा हरेक क्षेत्रमा मुक्ति चाहिएको छ ।
मुक्ति नपाँउदा सम्म यो मुद्दा उठिरहन्छ । हो, यदि भोली एक कक्षा देखी स्नाकोत्तर सम्म रार्इ, गुरुङ, मगर सबैको भाषामा पढाई हुने र यस्तो अवस्थामा बाहुन छेत्रीको जस्तो सामाजिक, आर्थिक, साँस्कृतिक, राजनैतिक क्षेत्रमा आदिवासी जनजाति पुगे भने त्यति खेर काग्रेंस कम्युनिष्ट जे बने पनि हुन्छ । तर अहिलेको अवस्थामा हामी काग्रेंस कम्युनिष्ट हुने अवस्थामा पुगेकाछैनौ । अहिले भनेको सामाजिक, आर्थिक, साँस्कृतिक, राजनैतीक रुपमा आफ्नो हैसियत स्थापित गर्नुपर्छ, अधिकार प्राप्त गर्नुपर्छ । त्यसैको लागि मूल संघर्ष भएकोले म कम्युनिष्ट पार्टी छोडेर जनमुक्ति पार्टीमा लागेको हो ।
तपाईहरूले थालेको २३ बर्षको पहिचानको संघर्षको समिक्षा कसरी गर्नु हुन्छ ?
वैचारिक आधारमा हामी सफल भइसकेको छौ । हामीले सुरु देखी उठाएका आदिवासी जनजाति, दलित, मधेसीको मुद्द्दाहरु अहिले राष्ट्रिय मुद्दा भएको छ । सुरुमा संघियता, धर्मनिरपेक्षता, जातिय मुक्तिको लागि जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व जस्ता गहन मुद्दाहरू हामिले उठाएका थियौ । विभिन्न मातृभाषामा पढाई सुरु हुनुपर्छ भन्नेमा हामीले नै आवाज उठाएका थियो जसको फलस्वरुप, अहिले ५ कक्षासम्म पढाई भईरहेको छ ।
२२-२३ बर्ष अघि उठाएको धर्मनिरपेक्षताले अहिले देश धर्म निरपेक्ष भईसकेको छ । समानुपातिक प्रतिनिधित्व हुनु पर्छ भन्नेमा समानुपातिक होइन सामावेसी हुनु पर्छ भन्ने सम्म आइपुगेका छन । त्यस समावेसीको मात्र कुरा उठ्दा संसदमा संघर्ष गर्दा अन्तरिम संबिधानको डाफ्टमा समानुपातिक एवम समावेसी भनेर आएको छ तर समानुपातिकको व्याख्या हुन बाँकी नै छ । के को समानुपातिक-महिला र पुरुषको हो कि ? जनसंख्याको हो कि ? दलित र गैर दलितको हो की ? अझ प्रस्ट हुन जरुरी छ ।
संघीयताको कुरा उठाएकोमा सबै पार्टीहरु सघीयतामा जान वाध्य भएकाछन । अब नामको बिषयमा संघको संख्या हुनु र नामाकरण के हुनु पर्छ भन्नेमा मात्र बिबाद हो । जातीय जनसंख्याको आधारमा जातिय प्रतिनिधित्व नै जातिय मुक्तिको मुल आधार हो भन्ने कुरा उठायौं तर हामीले उठाएको यो मुद्दा ओझेलमा पार्न अन्य पार्टीले भुमीको मुक्तिको कुरा उठाइदिए । यो जातिय मुक्तिलाई काउन्टर गर्न उठाईएको थियो ।
भुमिको मुक्तिको कुरा उठाएपछि हामिले ल भुमिको मुक्ति हो भने जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नमान्ने हो भने प्रमुख जातिहरु जस्तै आदिवासीहरु थारु, मगर, खसजस्ता सबै प्रमुख जातीहरुको एतिहासिक आधारमा तिनको ईतिहासलाई सम्मान गर्दै यिनिहरुको नाममा संघको नाम हुनु पर्छ भन्दा फेरी उनिहरुले यो पनि हुँदैन भने ।
यसरी जातिय जनसंख्याको समानुपातिक प्रतिनिधित्व पनि नमान्ने, एतिहासिक नामाकरण पनि नमान्ने जस्ता कुराहरूले अहिले देश संघियतामा जान रोकी राखिएको छ । त्यो कुनै जाति बिशेषको राज्य नभई त्यस भुमिमा बस्ने प्रमुख जातिहरूको सम्मानको नीम्ति लिम्बुवान, खम्बुवान, मगरात नामाकरण गरिएको हो यो जातिको नाम होइन भुमिको नाम हो जो एतिहासिक कालमा यिनीहरू बसोबास गर्दथे । जस्तै बेलायतमा आइरिशहरूको नाममा आइर्ल्यान्ड, वेल्सहरूको नाममा वेल्स बनेको छ, ईंग्लिशहरुको सम्मानमा इङ्ल्यान्ड बनेको छ । यता फ्रेन्चको नाममा त देशै बनेको छ जर्मनमा जर्मन बनेको छ ।
यस्ता धेरै देशमा जातिहरुको सम्मानमा प्रदेशहरू बनेको छ । हाम्रै छिमेकी मुलुक भारतमा बङगालीको नाममा बङगाल बनेको छ । तामिलको नाममा तामिल,पन्जाबिको नाममा पन्जाब आदि । त्यसकारण नेपालमा यसको बिरोध गर्नुपर्ने केही कारण छैन । यो यहाँका आदिवासी जनजाति खस, रार्इ, मगर, तामाङ् लगायतका बिरुद्धमा मात्र आएको हो ।
अहिले मुलुक जातिय पहिचान सहितको पक्षधर र बिरोधीहरूको बीचको द्वन्दमा छ । अहिलेको अवस्थामा यदि चुनाव भयो भने जातिय संघीयता पक्षधरहरुको बिजय हुन्छ भनेर निर्वाचनको मितीको लागि पनि लामो समय लाग्यो । यो घोषणा गरेकोमा पनि विश्वस्त छैन । नहुनुको कारण के हो भने जातिय पहिचान सहितको सघियता पक्षधरहरुको विजय हुन्छ भनेर अहिलेसम्म पनि आनाकानी गरी रहेका छन । हारेपनि सत्तामा बसी रहने जितेपनि सत्तामा बसिरहने निस्चित जाति समुदायको हाली मुहाली संकटमा पर्ने हुनाले तिनको जालझेलले गर्दा नेपाली जनताले राजनीतिक अस्थिरता भोग्नु परेको छ ।
त्यसो भए अहिले चुनाव हुनेमा विस्वस्त हुनुहुन्न ?
चुनावमा विस्वस्ट हुन सकिन्न किनकी एकातर्फ संघियता पक्षधर उभिएर बसेको छ उ सँग आदिवासी जनजाति, मधेसी दलितहरूको नैतीक समर्थन छ । अर्कोतर्फ माओवादीको एक समुह दर्ता नगरि बाहिर छ, मधेसीहरु पनि त्यत्तिकै छन् । यसरी बहुसंख्यक प्रमुखहरू मुलुकको राजनीतिक क्षेत्रबाट बाहिर बसिरहेका छन । त्यसैले चुनाव हुन कठिन छ ।
खिलराज रेग्मीकै ११ बिघा जमीन बैद्य माओवादीले क्याप्चर गरेर बसेको छ । आफ्नै सम्पत्ति सुरक्षा गर्न नसक्नेले कसरी चुनाव गराउलान भनि स्वाभाविक कुरा उठ्छ नै ।
त्यसैले उनीहरुको मागलाई पनि सम्बोधन गरेर मुलुकलाई चुनावमा लगे चुनाव होला नत्र होइन यिनिहरुलाई पेल्छम पेल्छम भनेर नेका, एमाले र प्रचन्ड पक्षका माओवादीले मात्र चुनाव गरेर सजिलै होला जस्तो लाग्दैन ।
चुनाव भएन भने के होला ?
चुनाव एक दिन त हुन्छ नै, गराउनै पर्दछ तर ढिलो चाँडो मात्र हो । यदि चुनाव भएन भने यस्तै अन्योल भई रह्यो भने राजनैतिक अस्थिरता ल्याउछ जस्तै बेलायतमा ठुलो बिद्रोह हुँदा १६४९ मा बेलायतका राजा चार्लस प्रथमलाई टाउको काटेर राजतन्त्र मासियो र तानाशाही क्रोम्बेल सत्तामा आए ।
त्यस्तै फ्रेन्च क्रान्तिपछि नेपोलियनले सत्ता लियो । त्यसपछि दोश्रो विश्व युद्ध पछाडि नेपाल जस्तै महिना महिनामै सरकार फेरिन्थ्यो र फ्रेन्चमा राजनैतिक अस्थिरता आइसके पछी सैनिक जर्नेल डि गौलले सत्ता हत्यायो । यो ईतिहास छ चाहे प्रजातान्त्रिक मुलुक बेलायतको कुरा गर्नुस वा चाहे फ्रान्सको कुरा । जर्मनमा हिटलर जन्मियो । त्यस्तो नेपालमा जियोपालिटिक्सले गर्दा नहुन पनिसक्छ, नहोस भन्न चाहन्छु तर राजनीतिमा असम्भव भन्ने कुरा हुँदैन । यस्तै किसिमको राजनीतिक अस्थिरता भै रह्यो भने अर्कै अनिस्ट वा राजनीतिक दुर्घट्ना हुन पनि सक्छ ।
चुनाव भयो भने तपाईंको दलले कति सीट जित्ला ?
राजनीतिमा दलले यति सीट जित्छ भनेर गणितय हिसाबले भन्न सकिन्न तर अहिलेको स्थितिमा हिजोको भन्दा राम्रो पोजिसनमा छौ । यसको कारण के भने हामीले उठाएको मुद्दाहरुलाई माओवादी, काग्रेंस, एमालेका आदिवासी जनजाति दलितले पक्रेकाछन् । तिनले आज कि त छुट्टै पार्टी खोले कि त हाम्रो पार्टीमा आएकाछन । आफ्नो हक अधिकार काग्रेंस, एमाले, माओबादी जस्ताले दिदैन भन्ने थाहा पाएर नै पार्टी छाडे । यो हाम्रो पक्षमा छैन भनेर छाडे ।
यसको अर्थ के भने आज भन्दा २३ बर्ष अगाडि जनमुक्तीले जुन मुल उद्देश्य लिएर पार्टी स्थापना गरेको थियो त्यो कुरो साँचो रहेछ भन्ने कुरा उहाँहरुले बुझ्नु भो ।
त्यसकारण अहिले देश बिदेश जताततै जनलहर छाएको छ, समर्थन छ । हिजो समानुपातिक भन्दा आदिवासी जनजाति दलितहरुको मात्र कुरा लाग्थ्यो तर अहिले यो कुरा मधेसीहरुले पनि बुझे । नेपालको राजनीतिक समाधानको बाटो यो भन्दा अर्को छैन भनी बुझेर अहिले बाहुन, छेत्री, ठकुरी , खस, थारु हरेक जातका नेताहरुले कुरा उठाईरहेका छन् ।नेपालको राजनीतिक समाधानको बाटो यही हो भनेर सबै उत्साहित छन ।
यी सबको कारण हामी भएकोले सबैमा हामीमाथि विश्वास पलाएको छ ।
जनजातिहरू मुद्दामा एकजुट नहुने खालका छन । यस्तोमा तपाइहरूले तीनलाई सँगठित बनाउदै जसरी सत्तामा लैजाने सपना देख्नु भो त्यो नै एक खालको मृगतृष्णा होईन र ? जस्तै त्यहि उद्देश्य लिएको यहाँको दल नै आधा दर्जन जति फुट्यो । जनजाति नेतृत्वका सबै दलको हालत त्यस्तै छ । यसको गुढ कारण पहिल्याउनु भाछ की छैन ?
हामी कहाँ नेपालमा दलिय व्यवस्थाको अभ्यास कम छ । २००७ सलामा राणालाई फालेपछि दलिय व्यवस्था आयो । २०११ साल देखी २०१४ साल सम्म नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाईयो । त्यसपछि २०१५ सालमा चुनाव भयो । करीव ३० बर्षसम्म राजाको प्रतिबन्ध थियो ।
२०४६ सालपछि दलिय ब्यवस्थामा अभ्यास गर्न थालियो । दक्षिण पुर्व एसियामा दोश्रो विश्वयुद्ध पछाडि दलिय व्यवस्था जसरी भारत लगायत अरु मुलुकमा चल्यो । पाकिस्तान जस्तो मुलुकमा, नेपालमा, श्रीलंकामा, माल्दिव्समा- दलिय व्यवस्था चल्न सकेन । चीनमा त हुँदै भएन । त्यसैले गर्दा दलिय व्यवस्थाको त्यति विरोध आएन ।
२०४६ सालयता चलेको दलिय ब्यवस्थामा आदिवासी जनजाति, दलित, मधेसी लगायतकाले आ आफ्नो बिचारधारा र मागहरु राख्न थाले । तिनले मुक्ति पाउनुपर्छ भन्नेमा विवाद देखिएन ।
तर त्यो मुक्तिको बाटो के हो भन्नेमा भने मतैक्यता हुन सकेन । तरिकामा विभिन्नता देखियो । फरक धार आए । त्यो किन भो भने हामीले दलीय ब्यवस्थाको अभ्यास नै कम गर्यौं । त्यसमाथि जनजातिहरुले त झन थोरै गरे । उनीहरुको अनुभव कम छ ।
आदिवासी जनजातिहरु राजनीतिमा लागेको २०४६ साल पछि मात्र हो । अहिले २८ बर्ष न भयो । त्यो अघि राजाले ३० बर्ष पन्चायत चलाए । राजाको शासन जति पनि हामीले अभ्यास गरेको पुगेको छैन । तर एउटा बिन्दुमा पुगेपछि सबैले मिल्नुपर्छ, आवाज एउटै हुनुपर्छ भन्ने बुझ्छन् । किन अलग हुने भन्ने कुरा महसुस गरिन्छ । जनता र नेताले बुझेपछि त्यतिबेला पनि हामी संगै बसेनौं भने हामीलाई जनताले फालिदिन्छन । यो कुरा जनता र नेता दुबैले बुझिरहेका छन् ।
म तपाईलाई मैले बारम्बार दिने उदाहरण दिन्छु , पशुपतिशमशेर धनी र सम्पन्न ब्यक्ति हुन् । तर उनले सधैं सिन्धुपाल्चोकका तामाङलाई हातमा लिएर राजनीति गरे । चुनाव जितिरहे ।
तिनले आफ्नो दरबार भित्र ति तामाङहरुलाई आँउदा राख्ने पकाउने, खाने र सुत्ने छुट्टै ब्यवस्था गरिदिएको थिए । सिन्धुपाल्चोकबाट आउने तामाङहरु त्यसमै बसेर फर्किने र गाँउ फिर्दा कापी, कलम पनि र दुईचार पैसा पनि पाउने । तर ति गरिब र अशिक्षित तामाङहरुले जथाभावी दिशापिसाब गरिदिने, फोहरमैला गरिदिने गर्दा रहेछन् । त्योबाट आजित पशुपतिशमशेरका रानीले हैन यस्ता असभ्यहरुलाई पनि किन राखिस्यो होला भनि ठुस्किदा राणाले यसो भन्दै तिनलाई सम्झाँउथे रे- हेर रानी जुन दिन यी तामाङ तिम्ले भने जस्तो बाठो हुन्छन्, हग्न मुत्न जान्नेछन् त्यतिबेला न म मन्त्री हुनेछु न तिमी मन्त्राणी ।
यो कुरा सबै आदिवासी जनजाति माथि लागु हुन्छ । जुन बेला यहाँका जनजातिमा राजनैतिक चेतना जागृत हुन्छ त्यतिबेला सत्ता उनीहरुको हातमा पुग्छ । यो नहोला भन्न सकिदैन । हिंजो माओवादीलाई २० सीट लल्याउँछ भनिएकै हो ।
मिलनविन्दुको आधार के हो त ?
केहिले संघियताले जनजाति मुक्ति गर्छ भनिरहेका छन तर यो पुर्ण सत्य होईन । मुल कुरा मुक्तिको आधार के त ? के संघियता मात्र हो त ? के संघियताले यहाँका आदिवासी दलित, थारु आदिको मुक्ति दिन्छ ? त्यसको आधार के ? संघियता पाउदैमा हुन्छ त ? हुदैन ।
किनकी संघियता भनेको त एउटा प्रशासनिक इकाई मात्र हो। त्यो प्रशासनिक इकाई भित्रको जनताको प्रतिनिधित्वको प्रश्न मुल कुरा हो । हामी त्यहि कुरा उठाईरहेका छौं । संघ या केन्द्र सरकारमा जातीय जनसंख्याको आधारमा हरेक निकायमा प्रतिनीधित्व भएमात्र जनजाति मुक्ति हुन्छ भन्ने कुरा हामीले उठाउदैं आईरहेकाछौं । यसमा भोलि गएर एकमत हुन सकिने ठाँउ छ ।
तपाईले भने अनुरुप त माओवादी र जनजाति महासंघले उठाएको जस्तो जातिय संघियताको बिरोधी कुरा भएन र यो त ?
मानौ थारुकै राज्य भयो ,तमाङकै राज्य बन्यो रे वा गुरुङ्कै राज्य बन्यो रे तर त्यो संघिय राज्य भित्र बसोबास गर्ने बिबिध जातजातिहरुले राजनीतिक अधिकार पाएनन भने त्यो राज्यको के अर्थ रहयो ? त्यो खसान राज्यको के अर्थ रह्यो ? अथवा त्यो गुरुङ राज्यको के अर्थ रह्यो ? त्यहाँ पनि त्यहि अहिले चलेको प्रक्रिया चल्छ, जस्ले जित्छ उ मात्र जाने टाठाबाठाहरुको तिगडम । जस्तै कम्युनिस्टले आरोप लगाए जस्तो मगर भित्र पनि मगरलाई शोषन गर्ने मगर छन नि, थारु भित्र पनि थारुलाई शोषन गर्ने थारु छन त्यस्तै अरुमा पनि छन त्यही चिज हुन्छ ति राज्यमा पनि ।
लिम्बुवान भनेको त एउटा प्रदेश हो, थरुहत भनेको एउटा भूमी हो । त्यो भूमी भित्र रहने जे जति जातिहरु छन तिनलाई विभिन्न निकायमा प्रतिनिधित्व गर्ने वा ठाउँ पाँउने माध्यम के हो त भन्दा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व ।
यदि यो चिजलाई इन्कार गरेमा त्यो संघिय इकाई नै हुँदैन । भूमीको मुक्ति हुँदैमा जातिय मुक्ति हुँदैन भन्ने मेरो भनाइ हो ।
मूलभुत कुरा के हो भने त्यो संघिय व्यवस्था भित्रको जुन प्रतिनिधित्वको आधार के हो त ? माथिको तलामा पुग्ने भर्र्याङ् के हो त? सत्ताको भर्र्याङबाट माथि पुग्ने सिस्टम बलियो मात्र पुग्ने, जस्ले जित्छ उ मात्र माथि पुग्ने व्यवस्था हो भने म त्यो मान्दिन । मलाई त्यसको बिरोधी भने हुन्छ । तर सत्ताको भर्र्याङ्बाट कमजोर लुला लङगडा अर्थात पछाडि पारिएका जातजाति पनि आफ्नो जनसंख्याको आधारमा सत्तारुपी भर्र्याङ्बाट माथि पुर्याउने व्यवस्था बन्छ भने त्यस्मा त मेरो असहमती हुने कुरै भएन । राष्ट्रिय जनमुक्ती पार्टीले सत्तामा पुग्ने भर्र्याङ् एउटा जाति बिशेषको लागि मात्र हुनु हुँदैन भनेको त्यसै कारण हो । अब बन्ने संघिय इकाई भित्र बस्ने हरेकले आ- आफ्नो जातिय जनसंख्याको आधारमा भागबन्डा पाउनुपर्छ तब मात्र त्यहाँ जातिय मुक्ति हुन्छ अन्यथा संघियता पाउदैमा जातिय मुक्ति हुँदैन ।
एउटा अध्ययनले के देखाएको छ भने ‘जहाँ जातिय दल हुन्छन् त्यहाँ कम्न्युस्टहरु माथि जान सक्दैनन । जहाँ कम्न्युस्टहरु बलिया हुन्छन त्यहाँ जातिय दल सफल हुन सक्दैनन । नेपालमा त्यो देखियो पनि तर तपाईंहरु भने माओवादीसँग घाँटी जोडेर हिडिरहनु भएको छ । यसले दललाई नोक्सान पुर्याउदैन र ?
हामीलाई एउटा कुरा के थाहा छ भने कम्न्युनिस्टहरु सामान्यत: प्रजातान्त्रिक हुँदैनन । उनीहरुको डेमोक्रेसी भनेको सेन्ट्रलाइज डेमोक्रेसी हो । त्यसको अर्थ केन्द्रको नेताले सबै चलाऊछ, त्यो हामीले बुझेका छौ । तर एउटा कुरा कति हदसम्म कसले साथ दिन्छ भन्ने कुरा हो । जस्तै माओवादीले संघियता भन्यो । यद्यपि हामी उ प्रति पूर्णत सहमत छैनौ किनभने उसले जातिय जनसंख्याको आधारमा समानुपातिक सिद्दान्तलाई स्विकार गर्दैन । अर्को कुरा जातीय पहिचान सहितको संघियतालाई स्विकार गर्दैन । जम्मा उल्ले संघियता भन्यो ।
तर हाम्रा प्रतिपक्षहरु त त्यति पनि स्विकार्देनन् । हामी एक्लै लड्न सक्ने अवस्थामा छैनौं । कम्तिमा छलछाम गर्न भएपनी माओवादीले कमसे कम संघियता त भनेको छ । उसले आदिवासी जनजातिलाई समाहित गर्न यस्तो भनिरहेको अवस्था हो तर नेका र एमाले जस्ता यथास्थतिबादी दल भन्दा यो पनि हामीसंग मिल्ने हुनाले कार्यगत एकता गरेका हौं । कम्तिमा माओवादी यी यथास्थितिबादी दलसंग संघीयताको नाममा भिडी त रहेकोछ हामी त्यो मौकाको उपयोग गर्न चाहन्छौं । राजनीतिमा उपेक्षा र हेलचेक्रयाई गरिनुलाई दुरदर्शीता ठानिदैन ।
सबै बन्दुकको राजनीतिले मात्र सत्तामा पुगेको देखिन्छ, तपाईंहरु चाँही शान्तीपूर्ण रुपमा आन्दोलन गरी रहनु भएको छ, के भन्नु हुन्छ यस्बारे ?
साँचो कुरा बोनुपर्दा नेपालमा सशस्त्र संघर्ष या बन्दुक आफ्नो हैसियतले बोकेको पाईदैन । २००७ सालमा क्रान्ति हुँदा इन्डियन ब्यारेकका गोर्खाहरूलाई उचालेर पैसा, गोली दिएर नेपाली काङ्ग्रेस लडेको हो, त्यो ईतिहास साक्षी छ । २०१९ सालमा बिपिले सात सालको जस्तो हतियार देऊ राजा महेन्द्रले प्रजातन्त्र खायो म राजा फाल्छु भन्दा इन्दिरा गान्धिले के जवाफ दिईन रे भने ‘मेरो ब्यारेकमा रहेका गोर्खाहरु २००७ सालको जस्तो चिन्तनमा छैनन । हिजो सात सालमा बिद्रोह गर्यो राणालाई फाल्यौ , हतियार बुझाए ,तिमीहरुलाई सत्तामा राखे दुई चार रुपैयाँ ज्याला पाएर उनिहरु घर फर्किए । तर अब चाँही उनीहरुले तिमलाई संघर्षपछि सात सालमा जस्तो सत्ता दिएनन भने के गर्छौ ? भनेर सोधेका छन ।’ भनेका थिए भनिन्छ ।
त्यतिबेला (२०१९ सालमा) चीनका कारण अप्ठेरो परेको भनि विपीलाई इन्दिरा गान्धीले इजराइलको माध्यमबाट हतियार दिलाए । तर त्यतीखेर २००७ सात सालमा जस्तो गोर्खाहरू नेपाली काङ्ग्रेसमा लागेर लड्न गएनन । केही जनजातिहरु थिए तिनलाई समातेर जेल हाले कतिलाई गोली ठोकी मारियो । नेकाको क्रान्तिबारे जतिसुकै जे लेखेको भएपनी त्यो भारतको आड भरोसामा चलेको हो । माओवादिको त कुरै नगरौं ।
तपाईं एउटा कुरा सम्झिनुहोस् धेरैलाई होइन १०,००० हजार कार्यकर्तालाई मात्र दैनिक साधारण खाना खुँवाउदा कति पर्छ रुमामुली एक जनालाई दिनमा १५० को दरले मामुली दालभात खुवाउदा एक दिनमा डेढ लाख खर्च हुन्छ । एक महिनामा कति खर्छ हुन्छ हिसाब गर्नुस, अब तिनलाई चिया पनि खुवाउनु पर्यो , लत्ता कपडा चाहियो, बाटो खर्च पनि चाहियो होला । यसरी महिनाको करोडौको खर्च के एक दुई जना जमिनदारलाई लुटेर, एक दुई जना व्यापारीलाई कुटेर, दुइ चार वोटा व्यांकबाट ८, १० लाख झिकेर मात्र सम्भव होला ? अब आँफै बुझ्नुस् न के कसरी कस्ले चलाई रहेको छ भन्ने कुरा ।
तपाईले बेलायतको धेरै कार्यक्रमहरुमा उपस्थिती जनाउनु भयो । बेलायतमा रहेका नेपालीहरूको के कस्ता गुनासो वा समस्या र नेपाल प्रतिको कस्तो चिन्तन रहेको पाउनुभयो ?
उहाँहरूको नेपाल प्रतिको चिन्तन त छदै छ, विषेश गरि बेलायतमा रहेका गोर्खालीहरूको नेपाली नागरिकताको बिषयमा चिन्ता गरेको पाइयो । स्वभावैले यो आफ्नो नागरिक अधिकार गुम्ने डर हुने नै भो तर उहाँहरू बेलायत ,नेपाल र भारतसँगको त्रिपक्षीय सन्धी अन्तर्गत यहाँ रहेकोले यो मुद्दाको प्रकृति भिन्न छ ।
नेपालका सरकारी कर्मचारी जसरी बेलायतमा आएर ढुक्कसाथ बस्छन त्यही नियती नै गोर्खालीहरूको हकमा पनि लागु हुन्छ । उहाँहरूको नागरिकता कसैले पनि छिनेको वा खोस्ने नियम अहिले सम्म बनेको छैन् नेपालमा । गोर्खा र तिनका सन्तानको बंशजको आधारमा पहिलो दर्जाको नेपाली नागरिकता कायम हुन्छ ।
यस मामिलामा उहाँहरूको एनआरएनसँग कुनै सम्बन्ध छैन । किनभने उहाँहरू, भुटान, भारतको दार्जिलिङ र सिक्कम, पाकिस्तान, बर्मा वा नेपालबाटै ज्यान जोगाउन सम्पुर्ण कागजात त्यागेर आएका होईनन । जो भारतमा रहेका नेपाली मुलका भारतीय, नेपाली मुलका बर्मेली, भुटानी आदिहरुकोमा लागु हुन्छ । तर गोर्खालीहरु त्यसरी लुकेर वा ज्यान जोगाउन नआई बाकायदा कागजातका साथ आएका कारण उहाँहरु बंशजको आधारमा नेपाली नागरिक हुन । यदि संबिधानमै हेरफेर, बदल गरे अन्यथा हुन सक्ला वा मैले नेपाली नागरिकता त्यागेको छू भनि प्रमाणपेश गरे अर्के कुरा होला अन्यथा नेपाली हुनुको अधिकार कसैले हनन गर्न सक्दैन ।