बुद्ध मावलीमा फोहोरको डुगुंर

Read Time:4 Minute, 55 Second

बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन हुन नसक्दा ऐतिहासिक क्षेत्र दुर्गन्धित बन्दै गएकोछ । बुद्ध मावली देवदहको बजार क्षेत्र फोहोर बन्दै गएकोमा सरोकारवालाहरु चिन्तित देखिन्छन् तर त्यसको उपाय अवलम्बन भने अझै गरिएकोछैन । बजारबाट दैनिक रुपमा निस्कने फोहोर सडकको किनारा र खोलामा फाल्दा बातावरणमा समेत नकारात्मक असर परेको छ । बजारबाट निस्कने फोहोर मध्ये सिसाको बोतल, प्लाष्टिकको बोतल, मेडिकलमा प्रयोग गरिने सुई र पोलिथिन व्याग यत्रतत्र फालिन्छ ।


यसले वातावरण मात्र हैन खेतीयोग्य जमिन समेत विग्रिरहेको कृषकहरुको भनाई  छ । बजारबाट निस्कने फोहोरहरु खोला र कुलामा फाल्दा खेतभरी बोतल, सुई र प्लाष्टिकले भरिएको कारण खेती गर्न समस्या भएको केरवानी ६ टटेरा निवासी कृषक पारिश्वर न्यौपाने बताउछन् । उता स्थानीय निकाय गाविसले फोहोर व्यवस्थापनको लागि कुनै पहल नगर्दा आफुहरुले वाध्य भएर खाली ठाउँमा फोहोर फाल्नु परेको स्थानीय व्यापारीहरुको भनाई रहेको छ ।
गाविसले फोहोर व्यवस्थापन गर्ने स्थान तोकि दिएमा आफुहरुले जथाभावी फोहोर नफाल्ने व्यवसायीहरुको दावी छ । स्थानीय निकायलाई धेरै पटक फोहोर व्यवस्थापनको लागि अनुरोध गरेपनि बेवास्ता गर्दै आएको देवदह बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ठड्राईले बताए । व्यापारीहरुले फोहोर व्यवस्थापनका लागि आर्थिक लगानी गछौं भनेर प्रतिवद्धता जनाउदा समेत देवदह गाविसले कार्यान्वयन गर्ने तर्फ चासो नदेखाएको अध्यक्षको आरोप छ ।
 तर फोहोर व्यवस्थापन गर्न अस्थाई डम्पिङ्ग साईडको निर्माण गर्न देवदह गाविसले बजेट समेत विनियोजन गरेको गाविस सचिव बब्रुवहान सापकोटा बताउछन् । व्यापारीहरुमा ईच्छा शक्ति र ईमान्दारीता हुने हो भने फोहोरको कारण वातावरण प्रदुषित हुने अवस्था न्यूनिकरण गर्न सकिने सचिव सापकोटाको भनाई रहेको छ । व्यापारीहरुले मुनाफा सामाग्री विक्रि गर्ने भएको कारण गाविसलाई देखाएर फोहोर व्यवस्थापनमा लार्वाही गरी वातावरण प्रदुषण गराउन नपाईने देवदह–५, शितलनगर निवासी नारायण दुवेको भनाई रहेको छ । नाफा कमाउने उद्देश्यले फोहोर निकालेर जथाभावी फाली अरुलाई असर पार्ने काम गरेकोले फोहोर व्यवस्थापनमा व्यापारीहरु सचेत हुनुपर्ने दुवेको भनाई रहेको छ ।
फोहोर व्यवस्थापन गर्न नसक्ने व्यापारीहरुलाई सम्वन्धीत निकायले कार्वाही गर्नु पर्ने स्थानीयवासीको जोड छ । राजनैतिक दलहरुको पनि फोहोर व्यवस्थापनमा खासै ध्यान पुग्न सकेको छैन । ऐतिहासिक स्थल देवदह दिनप्रदिन बढ्दो शहरीकरण, जनसंख्यामा बृद्धि जस्ता कारणले प्रदुषित र फोहोर बन्दै गएकोमा सर्वसाधारणहरु चिन्तित देखिन्छन् । दलहरुले दलिय स्वार्थ भन्दा माथि उठेर सामाजिक हितका निम्ति काम गर्ने हो भने बर्तमान अवस्थामा देखिएको समस्या न्यूनिकरण भएर जान सक्नेछ । सञ्ञ्चार क्षेत्रबाट पटक–पटक फोहोर व्यवस्थापनको सम्वन्धमा आवाज उठिरहदा त्यस प्रति सरोकारवालाको ध्यान नपुग्नु निश्चय पनि दुर्भाग्य पुर्ण विषय हो । सरोकारवाला स्थानीय निकाय, राजनैतिक दल लगायत स्थानीय अगुवाहरुलाई दवाव दिन अव नागरिक अभियान थाल्नु पर्ने देखिन्छ ।
गोविन्द घर्ति देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %