चुनाव विथोल्नेलाई ‘ठोक्न’ प्रचण्डको आदेश

Read Time:4 Minute, 32 Second

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बैद्य माओवादीप्रति लक्षित गर्दे निर्वाचन भाँड्न आउनेलाई  ठिक पार्न निर्देशन दिएकाछन् । शनिबार काभ्रेको बनेपामा वाइसिएल काभ्रेको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले राजा–महाराजाहरु निर्वाचन भाँड्न ब्वासो र स्याल बनेर गाउँ गाउँ प्रवेश गरेकाले त्यस्ताहरुलाई लखेट्न युवाहरुलाई निर्देशन दिएकाथिए । प्रचण्डले संविधानसभाबाट संविधान लेख्नकै लागि हजारौले बलिदान दिएको भन्दै त्यसविरुद्ध लाग्नेलाई छुट नदिइने बताए ।

उनले नेकपा–माओवादीले रत्नपार्कमा नमुना मतपेटिकामा बन्चरो हानेर सहिदको अपमान गरेको बताए । अध्यक्ष प्रचण्डले माओवादी भन्नेहरूले संविधानसभाको विरोध गर्दै राजावादीसँग सहकार्य हुन्छ भनेर सहिदको उपहास गरेको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले निर्वाचन भाँडने काम राजामहाराजाहरुले मात्र गर्ने भन्दै माओवादी जनताको पक्षमा रहेकोले निर्वाचन गराएरै छाड्ने बताए । उनले एक महिनाभित्र एकीकृत माओवादी जनताको घरघरमा पुग्ने बताए ।
परिवर्तनको पक्षमा लागेका साथीहरूले संविधानसभाको निर्वाचनलाई गलत भन्दा आफूलाई दुःख लागेको उनको भनाई थियो । गलत बाटोमा जानेहरुलाई रामराम मात्र भन्न सकिने भन्दै अध्यक्ष प्रचण्डल काँधै भने थाम्न नसकिने बताएकाथिए ।
असन्तुष्ट समूहरुलाई निर्वाचन सहभागी गराउने प्रयास जारी रहेको भन्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव नेतृत्वको मोर्चा र वैद्य नेतृत्वको माओवादीसँग अनौपचारिक र औपचारिक छलफल चलिरहेको बताए । उनले वैद्य समूहले भने जस्तै उच्चस्तरीय समितिको पुनःगठन, अघिल्लो निर्वाचनमा जस्तै समानुपातिक सङ्ख्या र सरकार विस्तार हुनसक्ने बोलेकाथिए ।
वाइसीएलको तेस्रो काभ्रे जिल्ला सम्मेलने नयॉ नेतृत्व चयन गर्दै निर्वाचन अभियान सञ्चालनको निर्णय गर्दै आज सकिने कार्यक्रम छ ।
तर त्यसैदिन भएको एक अर्को कार्यक्रममा संघिय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले वर्तमान अवस्थामा मंसिर ४ गतेको संविधान सभाको निर्वाचन नहुने ठोकुवा गरेकाछन् । काठमाण्डुको बौद्धमा आज भएको शेर्पा संघको घोषणा सभामा अध्यक्ष राईले उत्पीडनमा परेका आदिवासी जनजाति, मधेशी, महिला, दलित तथा मुसलमानको माग सम्बोधन गर्न व्यवस्थापिका–संसद पुनस्र्थापना हुनुपर्ने धारणा राख्नुभयो । संसद पुनस्र्थापना नभएसम्म संघीय समाजवादी पार्टीले संविधानसभाको निर्वाचनमा भाग नलिने र चुनाव विथोल्ने घोषणा गरे ।
चार दलले देशलाई खाल्डोमा धकेलेको आरोप लगाउँदै उनले उच्चस्तरीय राजनीतिक समितिको खारेजीको मागसमेत गरे । घोषणा सभामा संघीय समाजवादी पार्टी नेपालको भातृ संघ, संघीय समाजवादी शेर्पा संघको औपचारिक केन्द्रीय समितिको घोषणा गरिएको थियो ।
यो लगायत ३३ दलले चुनाव विथोल्ने धमकी दिदै आएकोछ र निर्वाचन आयोगमा नाम पनि दर्ता गराएको छैन । यसले आगामी चुनाव शान्तिपूर्ण नहुने टिकाटिप्पणी हुन थालेको छ ।

आनन्द गुरुङ, काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %