पोखरा, साउन १२
आफ्नो प्रेमीसँग खटपट भएपछि एक युवतिले अनाहकमा ज्यान गुमाउन पुगेकी छिन् । दुलेगौडा –२ तनहुँकी १९ वर्षिय रुपा मगरले स्याङजा विचारीचौतारा– ५ का २० वर्षि त्रिलोचन शर्मासँग खटपट भएपछि ज्यान गुमाएकीहुन् ।

पोखराको ड्यामसाईडस्थित अशोक गेष्टहाउसको कोठाको पंखामा रुपाले सलको पासो लगाइ झुण्डिएको अवस्थामा उनी फेला परेकीछिन् । त्रिलोचनले आफूलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि रुपाले आत्महत्या गरेको दावी गरेकाछन् । रुपाले आत्महत्या गरेको उनका प्रेमी त्रिलोचनले बताएपनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
शर्माले प्रहरीलाई दिएको विवरण अनुसार पनि घटना रहस्यमय छ । उनका अनुसार रुपासँग २० दिनअघि सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर मोवाइल नम्बर आदान प्रदान भएको थियो । मोवाइलमा कुराकानी बढ्दै गएपछि शर्मालाई भेट्न ११ साउनमा रुपा दुलेगौंडाबाट पोखरा आएकी थिइन् ।
शर्माका अनुसार पोखराको पृथ्वीचोकमा भेटेर ड्यामसाईडस्थित अशोक गेष्टहाउस पुगेका उनीहरु केही बेर बाहिर बसेपछि ‘यहा“ सबैले देख्छन्’ भनेर कोठामा छिरेका थिए । कोठामा पुगेपछि रुपाले ‘तिमीले नसोचेको उपहार ल्याएकी छु, आँखा चिम्ल गर त भन्दै’ आँखामा रुमाल बाँधी खुकुरीले टाउकोमा प्रहार गरेको बताएका छन् ।
‘पहिलो भेटमा नै एक्कासी खुकुरी प्रहार गर्नुपर्ने कारण्न के पर्छ र ? एक प्रहरी अधिकृतले भने, ‘पहिले नै भेटघाट भएको र भेटघाट जारी रहेपनि केही कुरामा खटपट भएको हुनसक्छ ।’
पोखराको जनप्रिय क्याम्पसमा स्नातक तहमा अध्ययनरत शर्माले पहिलो भेटमा नै रुपाले आफूमाथि खुकुरी हानेको बताएपनि, प्रहरीले भने उनीहरुबीच यसअघि पनि भेटघाट भएको अनुमान गरेको छ । प्रहरीले २० दिनकै चिनजानले यस्तो घटना हुन नसक्ने भन्दै घटनाको बारेमा अनुसन्धान थालेको छ ।
कोठाबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ । प्रहरीका अनुसार रगताम्य हँदै ढोकाको चुक्कुल खोलेर शर्माले होटलको रिसेप्सनमा जानकारी गराएपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
‘शर्माको चोट हेर्दा रुपाले हानेजस्तो देखिदैन, आफू बच्न उनले चलाएको प्रोपोगान्डा हो’ एक प्रहरी अधिकारी भन्छन्,‘एकपटक टाउकोमा हानेको भए पनि त्रिलोचनले प्रतिवाद गर्न सक्थे । नसकेर भागे पनि चुकुल खोल्दै गर्दा पछाडीबाट चोट लाग्नुपर्ने हो ।’
प्रहरीले अशोक गेष्ट हाउसका संचालक धर्मराज तिवारीलाई पनि नियन्त्रणमा लिएको छ । गेष्ट हाउसका संचालक तिवारीले दुई महिना अघि पनि शर्मा होटलमा आएको प्रहरीलाई बताएका छन् । उनले त्यसबेला शर्मासँग आएकी युवती रुपा नै थिइन् वा अरु कोही थियो भन्ने ठम्याउन नसकेको बताएकाछन् । त्रिलोचन आफैले मारेर आफू फस्ने डरले अनेकन प्रोपोगाण्डा मच्चाएको आशंका गरिएको छ । उनैले रुपालाई सलको पासो लगाइदिएर पंखामा झुण्ड्याइदिएको पनि हुन सक्ने प्रहरी अनुमान छ । त्यसैले प्रहरीले होटल मालिक र उनलाई निगरानीमा राखेको छ ।
खुकुरी प्रहारबाट घाइते बनेका शर्माको मणिपाल शिक्ष्ण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शर्माको टाउकोमा चोट लागेको छ । रुपाको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
फेसबुक मार्फत यसरी चिनजान हुदैं अपहरण, हत्या, सेक्स सम्बन्ध राखिने पछिल्लो प्रवृतिले विश्वभर नै अपराध बढाईरहेकोछ ।
सविता मगर,पोखरा
