अन्तिम कम्युनिष्ट संस्थापक नेताको शव परिक्रमा

Read Time:4 Minute, 14 Second

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ९० वर्षको उमेरमा आज बिहान निधन भएको छ । जण्डिस रोगबाट थलिएका कर्माचार्यको काठमाडौं बागबजारस्थित मोडल अस्पतालमा उपचारका क्रममा बिहान ५ बजेर ६ मिनेटमा निधन भएको हो । कर्माचार्यलाई गत असार २४ गते अस्पताल भर्ना गरिएको थियो । एकीकृत माओवादीका संरक्षकसमेत रहेका कर्माचार्य कम्युनिष्ट पार्टीका एकमात्र जिवित संस्थापक थिए ।

कर्माचार्यको जन्म पिता चन्द्रंबहादुर र माता श्रीकुमारीको कोखबाट विक्रम संवत् १९८१ साल कात्तिक १४ गते ललितपुरको पाटनमा भएको थियो । सम्पूर्ण जीवन कम्युनिष्ट आन्दोलनमा समर्पित गरेका कर्माचार्य अविवाहित थिए । २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा कर्माचार्यसहित चार जना मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
२००४ साल वैशाख १७ गते काठमाडौमा आफ्नै नेतृत्वमा भएको प्रदर्शनका क्रममा कर्माचार्य पक्राउ परेकाथिए । निधनको खबर पाएलगत्तै एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटीलगायत ठूलो संख्यामा माओवादी नेता कार्यकर्ता अस्पताल पुगेका थिए । कर्माचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान केहीबेर एकीकृत माओवादी कार्यालय कोटेश्वर पेरिसडा डामा राखिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले कर्माचार्यको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
 काग्रें सभापति सुशील कोइराला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता पनि कर्माचार्यप्रति श्रद्धाञ्जली दिन पेरिसडा.डा पुगे । श्रद्धाञ्जलीलगत्तै पेरिसडाडाबाट सुरु भएको शव यात्रा कोटेश्वर, बालकुमारी, सातदोबाटो, मंगलबजार हुदै खुलामञ्चतर्फ आउदैछ ।  खुलामञ्चमा कर्माचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम छ ।

कर्माचार्यको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गर्ने तयारी भएको पारिवारिक स्रोतले बताएको छ । एकीकृत माओवादीले नेकपाका संस्थापक तथा आफ्ना संरक्षक कर्माचार्यको निधनले पार्टी मर्माहत भएको जनाएको छ । प्रवक्ता अग्नि सापकोटाले शोक विज्ञप्ति जारी गर्दै कर्माचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेकाछन् । वक्तव्यमा शोक सन्तप्त आफन्तजनमा समवेदना प्रकट गरिएको छ ।
यसैबीच सरकारले कर्माचार्यको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कर्माचार्यको अन्तिम संस्कारका लागि ८ जना प्रहरी खटाउने निर्णय गरेको छ । नेपाल प्रहरीले एउटा टुकडीले कर्माचार्यप्रति सम्मान गारद अर्पण गर्ने निर्णय गरिएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता माधव पौडेलले जानकारी दिए ।
आनन्द श्रेष्ठ, काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %