सोमबार विहानदेखि आएको राप्ती बाढीले खतराको सम्पूर्ण चिन्ह पार गरेर बस्तीमा पसेपछि होलिया गाविस टेपरी गाँउ उच्च जोखिममा परेको छ । स्थानीयबासीहरु त्रसित छन् । विहानदेखि बढ्दै गएको बाढी दिउंसो झनै खतरनाक ढंगले तटीय क्षेत्रका केही बस्तीमा पसेको हो । बांकेमा राप्ती नदिको उच्च जोखिममा रहेको होलिया गाविसका टेपरी र सिम्रहाना गाँउ पूर्ण रुपमा जोखिममा परेकाछन् । १ सय १२ घरधुरी रहेको टेपेरी गाँउमा राप्ती नदी बढेपछि चारैतिर पानी नै पानीले भरिएको छ । त्यति मात्र नभई टेपरी गाउं जाने बाटो समेत राप्ती नदिको भेलले गर्दा सबै बगाएर लगेको छ । अहिले टेपरी गाँउमा जाने बाटो समेत छैन चारैतिर पानीको भेल बगेको छ । 
टेपरी गाँउ पानीको बिचमा रहेको छ । नदीले धार परिवर्तन गरेकोले घाटी घाटी सम्म पानी आउंदा यहांका बासिन्दालाई आवतजावत गर्न समेत गाह्रो भएको स्थानीय बासिन्दा रामकुमारले बताए । उनका अनुसार टेपरी गाँउका बासिन्दाहरु आफूहरुलाई राज्यले सुरक्षित ठाउंमा नराखेसम्म त्यही बस्ने र मर्न परेपनि त्यही आफू बसेको ठाउंमा मर्ने बताएको स्थानीय रामकुमारले बताए । नेपालगन्जमा राप्ती नजिकका बासिन्दालाई उद्धारकालागि गएका छन् । उनीहरु टेपरी गाउंका बासिन्दालाई उच्च जोखिममा परेको भन्दै धेरै पटक रबर बोर्ट लिएर उद्धार गर्न जांदा समेत उनीहरु आफ्नै ठाउंमा बसेको र अर्को ठाउंमा जान नमानेको बताएका छन् ।
यो वर्षको सबै भन्दा ठूलो बाढी हो । विहान साढे ८ बजे ५ दशमलब ९० सेन्टिमिटर पुगेको पानीको सतह क्रमश बढ्दै गएर दिउसो २ बजे सम्म ७ दशमलब ३२ मिटर पुगेको र त्यसपछि ७ दशमलब ४८ सम्म पुगेको बाढी मापन केन्द्र कुसुमले जनाएको छ । पानीको सतह खतराको चिन्ह भन्दा माथि बढ्दै गएपछि खतरापछि खतराको साईरन बजाईएका छन् । सतह ५ दशमलब ४० सेन्टिमिटर भन्दा माथि भए नदी आसपासका ७ गाविसमा बाढी पस्ने सम्भावना रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दिउंसोदेखि गंगापुर, मेटहिया र होलिया मा बाढी पस्न थालेको छ ।
राप्ती नदि बढेर गाउं नै उच्च जोखिममा पुगेपछि प्रमुख जिल्ला अधिकार जिवनप्रसाद वली राप्ती नदिमा पुगेकाथिए । उनले त्यस क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा जान आग्रह समेत गरे । ढुंगा सहितको उद्धार टोलि होलिया टेपरीमा ल्याएको बताए । उद्धारकालागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तैनाथ गरिएको जानकारी दिए । १५० जनाको सुरक्षाकर्मीहरु टेपरी गाउंका बासिन्दालाई सुरक्षा गर्न हिंजो रातभरि तैनाथ रहे ।
नदीले बस्ती कटान समेत तिब्र पारेको छ । होलिया स्थित टेपरी गाँउ पुग्ने बाटो नै नदिले कटान गरेको छ खेती योग्य खेतपनि कटान भएको छ । मटेहिया गाविसका वडा नम्बर १, २,३ का ३० घर परिवार सुरक्षित स्थानमा सरेका छन् । तर टेपरी गाउं भने सरेको छैन । रातभरीमा नदि बढेपछि सर्ने सम्भावना छ ।
गत वर्ष साउनमा ७ दशमलब ६० मिटर बाढी आएको थियो । यस वर्ष त्यसै हुने अवस्था देखिएको छ । सुरक्षाकर्मी तैनाथ गरिएकोले अहिलेसम्म कुनै पनि मानवीय क्षति भने भएको छैन । तर भोट माग्न आउने नेता भने अहिले सम्म टेपरी गाँउका जनताको अवस्थाका बारेमा बुझ्न आएका छैनन् ।
दीपा आले नेपालगन्ज
