श्रीपेचको पुनःउदय ? अवश्य, तर सग्रंहालयका भित्तामा

Read Time:13 Minute, 39 Second

नेपालको यस्तो संक्रमणलाई केहि शक्तिहरुले आ–आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजिरहेकाछन् । ति मध्ये केही शक्तिहरु गणतन्त्रले नेपाललाई फापेन र अव पुनः राजतन्त्र ल्याउनुपर्छ भनेर सल्बलाई रहेको अवस्था छ । तर नेपालमा गणतन्त्रको विकल्प गणतन्त्र नै हो । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । गणतन्त्र प्रजातन्त्रको सर्वोत्कृष्ट परिस्कृत अभ्यास हो जहाँ राज्यप्रमुख पनि जनताकै प्रतिनिधि हुन्छ । सरकार प्रमुख मात्रै होईन, राज्यप्रमुख पनि जननिर्वाचित नै हुनुपर्ने यस्तो राम्रो व्यवस्था विरुद्ध विषमगन गर्दे हिंडिरहेकालाई समाजको गति उल्टो घुमाउने दुस्चेष्टा गरिरहेकाछन् ।
संविधान नलेखिएको निहूँमा  पुनः राजतन्त्र भित्र्याउनुपर्ने औचित्य सिद्ध गर्न खोज्नु राजनीतिक वचपना मात्र हो । जनताका गुनासाहरु छन् । तर ती गुनासाहरुको उपचार राजतन्त्र कायम गर्नु होईन अपितु त्यो भन्दा अग्र ब्यवस्था कायम गरेर समाधान खोजिनु हो ।  तर केहि सामन्तहरु पूर्व राजा ज्ञानेन्द्रलाई पम्प दिई यस्तो सपना देखिरहेकाछन, जसको अवसानको भयानकता कल्पना मात्र गर्न सकिन्छ ।

एक व्यवस्थाबाट अर्को व्यवस्थामा रुपान्तरण हुनुपर्दाको अवस्था केही असहज हुनु स्वभाविकै हो । यस्तो विषमता स्थायीरुपले रहिरहने चिज होईन । समस्याहरुले निकास अवश्य पाँउछ । नयाँ संरचनाको निर्माण र विकासको लागि प्रारम्भमा सकस हुनु कुनै नौलो कुरा होईन । प्रसव पीडा नै हो यो । यस्तो पीडाले नयाँ पुस्ताको जन्म दिइरहेको हुन्छ । ठिक अहिले हामी पनि यस्तै मोडमा छौ । रातारात परिवर्तन हुने होइन । त्यस्तो भयो भन्दैमा हामी अव प्रतिगमन तिर फर्कन सक्दैनौ । जुनसुकै प्रकारको राजतन्त्र अव इतिहास मात्र हो ।
प्रजातन्त्रमा राजतन्त्रको बारेमा जनमत सृजना गर्न छुट हुनुपर्छ भन्ने कुरा पनि नआउने होईन । तर त्यो आफैमा विरोधाभासपूर्ण छ । प्रजातन्त्रमा राजतन्त्र हुनै सक्दैन । जनताको प्रतिनिधिहरु राज्यको संयन्त्रमा हुनुपर्छ भन्ने मान्यता प्रजातन्त्रको हो । शासन शैली जस्तो प्रकारको भएपनि त्यहाँ जनताकै प्रतिनिधि हुनुपर्दछ । जनताले जनतालाई नै चुन्नुपर्दछ । प्रजातन्त्र पनि भन्ने तर जन्मसिद्ध विशेषाधिकारको वंशीय परम्परा कायम गर्ने राजतन्त्रको पनि चाहना राख्ने कुरा आफैमा नमिल्दो हुन्छ । सैद्धान्तिकरुपमै पनि प्रजातन्त्रमा कुनैपनि राजतन्त्रको ठाँउ रहन सक्दैन । विश्वलाई उदाहरण दिएपनि प्रजातन्त्रको मुल अवधारणा माथि त्यहाँ आक्रमण भएकै छ । चाहे बेलायत र जापान जुनसुकै मुलुकमा होस् । नेपालमा राजतन्त्र कायम हुन नसक्ने थुप्रा कारणहरु छन् ।

उर्लदो नागरिक चेतना
मुलुक हिजो जस्तो अव रहेन । जनताको चेतनास्तर बढिरहेको छ । जनता हरेक कुरा तर्कसंगत खोज्छ । स्वतन्त्रता र समानता जनताको अवचेतन मनमा संचार भएको छ । जनता अव दास, रैती र प्रजा रहेनन् । जनता नागरिकीकरणको प्रकयामा छन् । यस्तो अवस्थामा राजतन्त्रले आफ्नो औचित्य कायम गर्न गाहो नै होला । चाहे त्यो जुनसुकै रुपमा किन नहोस् ।
राजतन्त्रमा हुने वंशानुगत राज्य–हैसियत नै अमान्य विषय हो नागरिकको लागि । “सरकार प्रमुख”  नभएपनि “राज्यप्रमुख” त राजालाई नै मान्नु पर्ने हुन्छ राजतन्त्र मानेपछि । त्यो राज्यप्रमुखको हैसियत पनि कसैले जन्मदै लिएर आउन सक्दैन भन्ने तर्क नागरिकले राख्न सक्छ । त्यसकारण सचेत नागरिकको हैसियतमा रहेका जनताहरुले कुनैपनि राजतन्त्र मान्न तयार हुदैन । “गणतन्त्रात्मक प्रजातन्त्र” मा सरकार प्रमुख र राज्यप्रमुख जनताको प्रतिनिधि हुन्छन् । त्यहाँ जनताले चुनेको व्यक्ति हुन्छन् । तर “राजतन्त्रात्मक प्रजातन्त्र” मा सरकार प्रमुख नभएपनि राज्यप्रमुख त राजा नै हुनुपर्ने हुन्छ । त्यो राज्यप्रमुखको हैसियत जन्मदै लिएर आउने तर जनताले चुन्नु नपर्ने हुन्छ । जनसर्वोच्चतालाई सार्वभौम मान्ने जनताको चेतनागत सँस्कृति विकास हुदैगएको समाजमा त्यो राज्यप्रमुखको हैसियत पनि जनप्रतिनिधि नै हुनुपर्छ भन्ने मान्यताले उच्चस्थान प्राप्त गर्दछ । त्यसकारण अव उप्रान्त कुनैपनि प्रकारमा रहने राजतन्त्र अमान्य हुन सक्छ ।
तर हाम्रा भूपू राजा ज्ञानेन्द्र शाहलाई कुनै दल खोलेर राजनीति गर्न  स्वतन्त्रता छ । उनी जनताबाट चुनिएर राष्ट्रपति बन्न सक्छन् । प्रधानमन्त्री बन्न सक्छन् । यो जनतालाई मान्य हुन सक्छ । तर राजतन्त्र व्युताएर फेरि राजा हुने सपना देख्नु चाहि प्रतिगमन हो जुन नेपाली जनताको चेतनास्तरले सपनामै सिमित गराईदिने पक्का छ ।
राजतन्त्र भनेको त्यस्तो राजनैतिक व्यवस्था हो जहाँ सार्वभौम शक्ति एक व्यक्तिमा निहित हुन्छ । त्यो शक्तिको हस्तान्तरण बंशाणु हुन्छ । यसरी शासन शक्तिको श्रोत व्यक्तिमा निहित र शक्तिको वंशीय हस्तान्तरण नै सचेत नागरिकहरुको लागि पाच्य हुने कुरा होईन । त्यसो भएको हुदा एक सचेत नागरिक भएको मुलुकमा राजतन्त्र कति तर्कसंगत हुन सक्छ ? प्रमुख कुरा यहि नै हो ।

धर्म र नेपाली राजतन्त्र
नेपालको राजतन्त्र राजनीतिसंग मात्र जोडिएको छैन । यसलाई विशुद्धरुपमा हिन्दुधर्मसंग गहिरो गरी जोडिएको छ । नेपालका श्री ५ राजा भन्नाले हिन्दुधर्म ग्रहण गरेको हुनैपर्ने र आर्यसम्प्रदायबाट नै आएको ठानिनुपर्ने कुरालाई हिजो संवैधानिक मान्यता दिइएको थियो । आज त्यसैको विमर्शमा स्वयम ज्ञानेन्द्र शाह  आफु हिन्दु राजा भनेर हिंडिरहेको अवस्था छ । उनलाई विभिन्न धार्मिक कार्यक्रमहरुमा डाक्ने र स्वागत गर्नेहरु पनि हिन्दुधर्मावलम्बीहरु नै छन् । ज्ञानेन्द्र विशुद्ध हिन्दुहरुको राजा झै प्रस्तुत भएका छन् । विश्व सम्पदामा पर्ने लुम्बिनी जस्तो बुद्ध धर्मको ऐतिहासिक तीर्थस्यलकै आसपासका हिन्दुमन्दिरसम्म पुग्ने तर त्यसकै आपसमा रहेको बुद्ध जन्मिएको धार्मिक स्थलमा पाईला टेक्दैनन् उनी । यसरी हिन्दुधर्म र राजतन्त्र पर्यायवाची झै भएको भान जनतामा पर्ने हो भने नेपालको राजतन्त्र राष्ट्रिय एकताको प्रतिक कसरी हुनसक्छ ?

यो हिंजो पनि भएन र आज पनि हुने संभावना छैन । विविध धार्मिक आस्था र सम्प्रदायहरु रहेको मुलुकमा एक धर्म र सम्प्रदायको पारखी–व्यक्ति राष्ट्रिय एकताको प्रतिक बन्नै सक्दैन । यसले राष्ट्रिय एकतालाई एकीकृत गर्न सक्दैन ।
प्रजातन्त्र शासन व्यवस्थाको अन्तिम विकल्प हो । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अवगुणको हिसावले भन्नु पर्दा यो अरु धेरै कमजोरी भएको व्यवस्थाभन्दा सबभन्दा कम कमजोरी भएको व्यवस्था हो । त्यसकारण जनता प्रजातन्त्रभन्दा पनि बढि अवगुण भएको राजतन्त्र जस्ता व्यवस्थाप्रति उन्मुख हुनै सक्दैन । नेपाली जनताले “गणतन्त्रात्मक प्रजातन्त्र” भित्रै समाधान खोज्ने हो । “राजतन्त्रात्क प्रजातन्त्र” को अभ्यास भैसक्यो । यसले नेपालीलाई नफाप्ने कुरा इतिहासले देखाइसकेको छ । अहिले हामी गणतन्त्रात्मक प्रजातन्त्रको अभ्यासमा लागेका छौ । यो प्रजातन्त्रको अन्तिम चरण हो । यो व्यवस्थामा “राजतन्त्र” भन्ने शब्द प्रजातन्त्रको विशेषण हुदैन  ।
 गतणतान्त्रिक प्रजातन्त्र यस मानेमा पनि अपरिहार्य छ कि यहाँ शासकको छनौट हुन्छ । यो भएरपनि यो व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ । आफुले नै छानेकाले गल्ती र पीडा दिएपनि त्यसमा सम्झौता हुन्छ । त्यसमा सुधारको अपेक्षा हुन्छ । स्वयमले गल्ती गरे स्वयमलाई सजाय दिन सकिदैन । यसमा प्रायश्चितताको अनुभूति मात्र गर्ने हो । प्रजातन्त्रमा आफ्नो प्रतिनिधिले गरेको काम आफुले नै गरेको मान्यता हुन्छ । गल्ती भए प्रजातान्त्रिक व्यवस्थाको होईन, शासकको विकल्प खोजिन्छ । यो प्रजातन्त्रको सौदर्यता हो । शासक छनौटको फाईदा हो ।
यहाँ मुलुकलाई सम्पन्न र समद्धशाली बनाउने कुरामा भन्दापनि राजतन्त्र फिर्ता गराउने कुरामा समय खर्चनेहरु पनि छन् । केही राजनीतिक पार्टीहरु राजतन्त्रको पुर्नस्थापनामा नीतिगत रुपले लागेका छन् । राजतन्त्र भएमात्र यो मुलुकमा स्थायित्व रहने कुरालाई जोड दिएका छन् । तर वास्तवमा राजतन्त्रले होईन राष्ट्रिय एकता कायम गराउने त्यो  त त्यस्तो किसिमको राजनीतिक व्यवस्थामा मात्र संभव छ, जहाँ सबै जनताको आकांक्षा प्रतिविम्बित हुनुपर्दछ । अहिले हामी त्यहि अभ्यास गरिरहेकाछौं ।
नेपालमा राजनीतिक अस्थिरता कायम भो अव राजतन्त्र आउने भने भनेर ज्ञानेन्द्र शाह फुरुगं हुन खोजेको होकी जस्तो देखिएको छ । यसमा हिंजोका केहि पञ्चेहरु पनि लागेका छन् । शाह पनि हिंजोकै राजसी ठाँटबाट सहित देशदौडाहामा निस्कने गरेकाछन् । अभिव्यक्तिहरु पनि राजनीतिक पाराले दिने गरेकाछन् । भ्रममा पर्नु हुदैंन । राजा विष्णुको अवतार  हो भन्ने बालमानोविज्ञानबाट  हुर्केका शाहले यो परिवर्तित अवस्थामा समय अनुसार सोच्नु पर्दछ । हो, उलने यो प्रजातन्त्रमा नागरिक सरह राजनीति गर्न सक्छन् । पार्टी खोल्न सक्छन् । आवधिक निर्वाचनमा निर्वाचित भएर शासनको बाग डोर सम्हाल्न सक्छन् । तर राजाको रुपमा होईन । वंशीय शासनको लागि होईन ।
हो, अहिले मुलुकमा अस्थिरता छ । तर यो भयो भन्दैमा जनताले उही राजतन्त्र ल्याउनुपर्छ भन्ने चाहना राखेको हैन । जनताको अहिलेको गुनाासाहरुको अभिव्यक्ति राजतन्त्र कायम गर्नु कदापि होईन । जनतामा एक किसिमको गुनासो छ तर राजतन्त्र नै हुनुपर्छ भन्ने होईन । धमिलो पानीमा माछा मार्छु भनि कसैले नचिताए हुन्छ ।

 

बलदीप प्रभाश्वर चामलिङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %