कास्कीको लेखनाथ नगरपालिकाबाट उत्तरपुर्वी गाविसहरुलाई जोड्ने राखी–मिजुरे सडक खण्ड अत्यन्त जीर्ण अवस्थामा रहेको छ । सडक खण्डका बारेमा बारम्बार जिल्ला विकास समिति लगायत सम्बन्धित निकायहरुमा उपभोक्ताहरुले जानकारी गराउँदै आएका छन् । स्थानीयवासीले गत असार २१ गते नै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र पृथ्वी राजमार्ग बस व्यवसायी समितिलाई बाटोको मर्मत गर्न मागपत्र बुझाइसकेका छन् । सडकको अवस्थाका बारेमा अवगत गराउँदा पनि वेवास्ता गरेको भन्दै सो क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । उक्त सडकबाट लेखनाथ नगरपालिकाका वडाहरु ४ र ५, कालिका, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पसगाउँका बासिन्दाहरु लाभान्वित हुन्छन् ।
सडकको अवस्थामा जानकारी गराउँदा गराउँदै पनि प्रशासनले जनताको जिउँधन प्रति लापर्वाही गरेको स्थानीय लालमोहन तिवारीले बताए । उक्त सडक खण्डको जीर्ण अवस्थाले गर्दा कुनै पनि समयमा दुर्घटना हुन सक्ने तिवारीले जनाए ।
