पोखरा, २७ असार तमु धिं नेपालका अध्यक्ष तथा समाजसेवी कर्म तमुले स्थापना गरेको र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीद्धारा सञ्चालित कर्मकर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७० तिलकप्रसाद पुन पुर्जालाई प्रदान गरिने भएको छ । प्रतिभा छनौटका लागि फोनिजद्धारा गठित पुरस्कार स्थापनाकर्ता कर्म तमु, फोनिजका सल्लाहकारहरु अधिवक्ता सुरेन्द्र थापामगर, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजबहादुर गुरुङ र फोनिज कास्कीका हुमबहादुर गुरुङ रहेको समितिले पुरस्कारका लागि तिलकप्रसाद पुन पुर्जाको नाम सिफारिस गरेको हो । फोनिज कास्कीले असार २९ गते उक्त पुरस्कार पुर्जालाई प्रदान गर्ने छ।
आदिवासी जनजाति पत्रकारहरुलाई आदिवासी जनजातिका विषयवस्तुमा कलम चलाउन प्रोत्साहन गर्ने उद्धेश्यले कर्म तमुले आफ्नो बैवाहिक वर्षगाँठका दिन वितरण गर्ने गरी उक्त पुरस्कार स्थापना गरेकिहुन्। पुरस्कारका लागि छनौट भएका ५० वर्षिय पुर्जा २०५४ सालदेखि आदिवासी जनजातिको विषयमा लेखन एवं पत्रकारिता गर्दै आएकाहुन् । लेखकको जनजाति मञ्च, हिमदुत, कास्की आवाज, पुनहिल, लाङ्घाली, फेवा पोष्ट, कानुङ लाम, तमु संसार, तमु सुँ, रहस्य, लोकलहरी, भञ्ज्याङ, गोर्खा सैनिक आवाज, विमोचन, थोम्र्यो, ङ्योई नाँसा धिं, तमु मञ्च, संघात्मक, पोखराय भिन्तुना लगायतका पत्रपत्रिकाबाट आदिवासी जनजातिका संकार, सँस्कृति, कला, परम्परा, जीवनी, संस्मरण, गीत, कविता, मुक्तक, व्यग्य चित्र, आलेख, रिपोर्टिङ प्रकाशितका साथै आलेखहरुको संग्रह पुस्तक लोकसँस्कृतिका सुसेलीहरु प्रकाशित छ ।
पर्वत जिल्ला सालिजा गाविस ओखरेनीका मनबहादुर पुन र जितिमाया पुनका छोरा हाल पोखरा उपमहानगरपालिका वडा नं. ११ मा बसोवास गर्ने उनी आदिवासी जनजातिका भावनालाई कलमबाटै आमसञ्चारको माध्यमबाट उजागर गर्न सकिन्छ भन्ने सोँचले पत्रकारितातर्फ आकर्षित भएको बताउँछन् । पुर्जाले नगद पाँच हजार एक रुपैया, सम्मान पत्र, दोसल्ला सहित सम्मान प्राप्त गर्नेछन् ।
गतवर्ष पत्रकार रीता गुरुङ उक्त पुरस्कारबाट पुरस्कृत भएकि थिईन। पुरस्कारका साथै उक्त कार्यक्रमको व्यवस्थापनका लागि पुरस्कार स्थापनाकर्ता कर्म तमुबाट फोनिज कास्कीलाई वार्षिक दशहजार रुपैया सहयोग प्राप्त हुदै आएकोछ ।
हुम तमु
