कता गयौ गीत गाउने गाइने दाई
दुःख पिर विरहमा चाहिने दाई
कुनै बेला दुःख पिरका गीत गाउँदै हिड्ने गाइने दाई आजभोली जहाँतही पाउन मुस्किल छ । सायद, त्यसैले होला उनकैबारे यस्ता गीत बन्न थालेका छन् । गीत संगीतमार्फत विभिन्न सन्देश दिँदै हिड्ने गाइनेहरु साँच्चै आजभोली कता हराए कुन्नी ? गाइने दाई सारङ्गी बजाउँदै हिडेको दृश्य देख्नु अहोभाग्य भइसकेको छ । असार २१ र २२ गते पोखरेलीजन भाग्यमानी ठहरिए । शहर, बजार अनि गाउँघरमा समेत गाईने नभेटिएका बेला पोखरेलीले विभिन्न २४ जिल्लाका ५० भन्दा बढी गन्धर्वका गीत–संगीत सुन्न पाए । यस्तो मौका जुराइदिएको थियो नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले । प्रतिष्ठानले पोखरामा दुई दिनसम्म गन्धर्व जातिको पेशालाई बढावा दिने संगीत उत्सव ग¥यो ।

गन्धर्वहरुले विभिन्न गीतसहित सारङ्गीको धुन बजाउँदा दर्शक मन्त्रमुग्ध बने । शुक्रबार छलफल चले पनि शनिबार झण्डै चार घण्टासम्म पोखरामा भेला भएका गन्धर्वले सारङ्गीका अनेकन ताल सुनाए । कसैले युद्धकथा, कसैले कर्खा, कोहीले मंगलगान, मालश्री, निगुण त कोही गन्धर्वले राजगाथा, हिमगाथाका गीतसँगै सारङ्गीको धुन बजाउँदा सबैको ध्यान खिचिएको थियो । ‘पहिले सरकारले यस्तो चासो दिएको थिएन, अहिले यो कार्यक्रम गरेर धेरै राम्रो गरेको छं’ महोत्सवमा लेखनाथ कास्कीका ६५ वर्षिय हरि गन्धर्व भन्छन्,‘कार्यक्रमले नयाँ पुस्ताका गन्धर्वले पनि सारङ्गी बजाउन सिक्नुपर्छ भन्ने माहोल बनाएको छ ।’
प्रतिष्ठानको आयोजना र पोखरेली युवा सास्कृतिक परिवारको स्थानीय संयोजनमा पोखरामा दुई दिन चलेको संगीत उत्सवमा गन्धर्वले मधुर गीत–संगीत मात्रै सुनाएनन् । आफ्नो समुदायले भोग्नु परेको पिडा, सारङ्गी र गन्धर्वको साइनो, सारङ्गी लोप हुनुका कथा पनि सुनाए । गन्धर्व जातिको परम्परा र वर्तमान अवस्थाबारे गम्भीर छलफल गरे । ‘पछिल्लो पुस्ताका गन्धर्वले सारंगी बजाउनै छाडे, सरकारले सहयोग गरेन’ पर्रहवा–२, रुपन्देहीका लालबहादुर गन्धर्व भन्छन्,‘माग्दै नहिडे पनि आफ्नो पेशा हो, सारङ्गी बजाउन सबै गन्धर्वले जान्नुपर्छ ।’ अहिले सारङ्गी बजाउने गन्धर्वलाई टुकि बालेर खोज्नुपर्ने अवस्था आइलागेको छ ।
कुनै समय थियो । न रेडियोको पहँुच थियो । टेलिभिजन त परको कुरा । त्यतिबेला कतै घटना, दुर्घटना भए त्यसलाई बयान गरेर गाइने दाइले गीत गाउँथे । विभिन्न गाउँमा पुगेर देशविदेशमा भएका घटना दुर्घटनाका खबर दिन्थे । लाहुरे दाइले व्यहोरेका दुःख कष्टलाई गाथा बनाएर सुनाउँथे । बाटो हिड्दै गरेको गन्धर्वलाई घरघरमा बोलाएर गीत गाउँन लगाईन्थ्यो । मन खोलेर गन्धर्वलाई दान, दक्षिणा र सिदा दिन्थे । तर, अहिले न गन्धर्व सारङ्गी गाउँधमा भिरेर गाउँगाउँमा पुग्छन् । न युद्धगाथा, कर्खा र घटनाबारे वर्णन गर्छन् । कुनै जमाना गन्धर्व जातिका व्यक्तिलाई गाइने दाई भनेर चिनिन्थ्यो । अहिले समय फेरिएको छ । उनीहरु आफैलाई गाइने भन्न मन पराउँदैनन् । ‘सारङ्गी बजाउन लाज लाग्छरे’ लालबहादुर भन्छन्,‘बुढाहरु सकिए, अहिलेका युवा लाज मान्छन् त्यसैले सारङ्गी बजाउनेहरु घट्दै गएका छन् ।’
नेपालमा झण्डै ७ हजार गन्र्धव रहेको तथ्याङ्क छ । तर, पनि नया पिढिको यो पेशातर्फ विकर्षण बढि छ । आजभोली शहर र राजमार्गमा गुड्ने गाडीमा कहिलेकाँही गाइने भेटिन्छन् । त्यसैले नेपालको लोक परम्परामा महत्वपूर्ण योगदान दिने गन्धर्व जातिको गीत–संगीत, वाद्ययन्त्र, जीवनशैली र सामाजिक अवस्थाबारे सरकारले केही न केही गर्नुपर्ने अध्येताको भनाइ छ । ‘संगीतलाई नै आफ्नो पेशा बनाउदै आएको गन्धर्व जाति हाम्रो सामाजिक सम्पदा हो’ प्रतिष्ठानका सदस्य सचिव तथा उत्सव संयोजक आभास भन्छन्,‘नयाँ पुस्ताले सारङ्गी बजाउनुपर्छ भन्ने मानसिकता बोकोस भनेर कार्यक्रम गरिएको हो, यसबारे राज्यलाई घचघच्याउन मेरोतर्फबाट सकेको गर्छु ।’
मनोज घर्तीमगर
तस्वीर ः छवि मगर
