गोविन्द घर्ति
रुपन्देही असार २० , राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकलाई सम्वोधन गर्दै पार्टीका संघीय परिषद सदस्य दल बहादुर विरकट्टाले सर्वदलिय राष्ट्रिय सहमति नहुदा सम्म यथास्थितीमा दोश्रो संविधान सभाको निर्वाचन हुन नसक्ने बताए । उनले पहिलो संविधान सभाबाट प्राप्त उपलव्धीहरुलाई संस्थागत गरेर मात्र दोश्रो संविधान सभाको निर्वाचन गर्नु पर्ने बताए । नेता विरकट्टाले यथास्थितीमा भएको संविधान सभा निर्वाचनले आदिवासी जनजाति, दलित, महिला, र पिछडा वर्गको हक र अधिकार स्थापित गर्न नसक्ने ठोकुवा गरे । पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा बसेको बैठकमा संघीय परिषद सदस्य सूर्यकुमार सारु, डा.मोहम्द हसन, होमाया गुरुङ्ग, अशोक पुन लगायतले बोलेका थिए । जिल्ला सचिव भैरव थापाको संचालनमा बैठक सम्पन्न भएको थियो ।
