पोखरा, ९ असार
पूर्व सभासद दुर्गा विकले दलितले दलितलाई मत दिए दलित मुक्ति हुने अन्यथा मुक्ति मृगतृष्णा मात्र हुने बताईन् ।कास्कीको ल्वाङघलेल गाविसमा दलित उत्थान समन्वय समितिले जातीय छुवाछुत तथा भेदभाव अन्त्य सम्बन्धी एक दिने सचेतना कार्यक्रममा प्रशिक्षण दिदै उनले त्यस्तो बताएकिहुन् । प्रमुख अतिथि विकले दलितहरु एकजुट नहुदासम्म मुक्ति संभव नरहेको बताईन् । उनले ‘संविधानसभा विघटन भएर सबैभन्दा बढी घाटा दलित र महिलालाई भएकोले आगामी हुने दलित उम्मेदवारहरुलाई जिताउन अनुरोध गरिन ।
कार्यक्रममा अधिवक्ता शिव सुनारले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८) पर्याप्त नरहेको बताए । सुनारले जातीय भेदभावका घटनामा अपराधीहरु पूर्णरुपमा दण्डित हुने न्यायको व्यवस्था अझै नभएको बताए । ‘०६८ को ऐन प्राविधिक रुपमा कमजोर भएकोले अपराधीले सजाय पाउने अवस्था छैन’ उनले बताए । सुनारले जातीय भेदभाव गर्नेलाई अधिकतम पाँचवर्षसम्म कैदसजाय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उत्पिडित जातीय मुक्ति समाज, कास्कीका पुर्वअध्यक्ष लालबहादुर परियारले दलितहरुमाथि दमन भइरहे फेरि बन्दुक उठाउनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए । परियारले विभिन्न राजनीतिक दलहरुले दलित अधिकार भाषणमा मात्र नभै व्यवहारमै लागु गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिमबहादुर विकले संविधानसभाको निर्वाचनमा दलित सहभागिता सुनिश्चित गर्न निश्चित क्षेत्रमा दलितहरुलाई मात्रै चुनाव लडाउने व्यवस्था गर्नुपर्ने बताए । विकले दलितहरु अगाडि बढ्न समाजका विभिन्न तहमा नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाविस सचिव कमलापति अधिकारीले सरकारको निर्देशिका अनुसार उत्पीडित दलित वर्गले पाउनुपर्ने राहतका बारेमा जानकारी दिएकाथिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका क्षेत्रीय अध्यक्ष कर्णबहादुर नेपाली, एकीकृत माओवादीका गाविस अध्यक्ष राजेन्द्र गुरुङ, नेपाली काँग्रेसका गाविस सभापति समबहादुर गुरुङ, नेकपा एमालेका गाविस अध्यक्ष गौरीप्रसाद दाहाल, उपस्वास्थ्य चौकीका इञ्चार्ज लक्ष्मण दाहाल, महिला प्रतिनिधी डम्मरकुमारी गुरुङ, फुलमाया विक, समन्वय समितिका पुर्व अध्यक्ष पदमबहादुर विक, पत्रकार दीपक परियारलगायतले बोलेकाथिए । कार्यक्रम समन्वय समितिका अध्यक्ष चन्द्रबहादुर विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
