पोखरा, ४ असार
तमु जातिको साझा संस्था तमु धिं नेपालले २०६९ सालमा एसएलसी उतिर्ण गरेका तमु विद्यार्थीहरुलाई सम्मान एवं उच्च शिक्षा अध्ययनका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ बजारस्थित तमु धिं नेपालको प्रांगणमा भएको एसएलसी उतिर्ण तमु विद्यार्थीहरुलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमु लगायत क्षेत्रीय तमु समाजका अध्यक्षहरुले खादा लगाएर सम्मान गरिएको थियो ।
उच्च शिक्षा अध्ययनका लागि तमु विद्यार्थीलाई उपयुक्त विषय छनौट गर्न सहजता र उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहित गर्न कार्यक्रममा विज्ञान विषयमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक शेरमान तमु, ए लेभलमा कसमस इण्टरनेशनल कलेजका कार्यकारी निर्देशक तेजबहादुरतमु, मेडिकल साइन्स विषयमा गण्डकी मेडिकल कलेजका डा. नारायणसिंह तमु, होटल म्यानेजमेण्टमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजका अध्यक्ष अशोक पालिखे, इञ्जिनियरिंगमा पोखरा इञ्जिनियरिंग कलेजका प्रिन्सिपल ईञ्जिनियर लेखबहादुर तमु र व्यवस्थापन विषयमा मेनेजमेण्ट कलेजका रामजी शर्मा, नर्सिंङ विषयमा फिस्टेल नर्सिङ कलेजकी चन्द्रावती तमु, बनविज्ञान विषयमा ज्ञानसिंह तमु र इन्फरमेशन टेक्नोलोजी विषयमा पोखरा इञ्जिनियरिंग कलेजकी सरिता तमुले प्रशिक्षण दिएकाथिए ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा महासविच देविराज तमु, सहकोषाध्यक्ष सरस्वती तमु, तमु विद्यार्थी समिति नेपालका संयोजक आस तमुले एसएलसी उतिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै
शिक्षाको महत्वका बारेमा मन्तव्य दिएकाथिए ।
कार्यक्रममा तमु विद्यार्थी समितिका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए ।
तमु धिं नेपालले विगत पन्ध्र वर्ष देखि एसएलसी उतिर्ण तमु विद्यार्थीहरुलार्य वर्षेनी प्रशिक्षण एवं बधाई कार्यक्रम गर्दै आएको छ । यस वर्षको कार्यक्रमका लागि छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजले प्रायोजन गरेको तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिईन ।
हुम तमु
एसएलसी कटाएका तमु विद्यार्थीलाई सम्मान र प्रशिक्षण
Read Time:3 Minute, 3 Second
