बेनी बैषाख २९
आज बेनीमा ओम कुमारी पुन (शान्ति) सहयोग समितिको कार्यक्रममा सहभागी भएर पोखरा फर्के। राज्यले आम नेपालीहरुको लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा राम्रो नीति बनाएको भए ओम कुमारी पुन जस्ता हजारौं नेपालीहरुले यसरी सहयोग माग्नु पर्ने थिएन तर विडम्बना राज्यले यस क्षेत्रमा केही नीति ल्याउनै सकेको छैन । नेताहरु कुर्सीको लडाईमा तछाडमछाड गर्दै कहिले भारत कहिले चीन जान्छन् । विदेशको राम्रो नीति नेपालमा ल्याउने होइन आफ्नै सन्तानलाई पुग्ने सम्मको सम्पत्ति कमाउनै व्यस्त छन् ।
निशुल्क रुपमा उच्च शिक्षा सम्म पढ्न पाउनु पर्ने हो तर सरकारको नीति नभएकै कारण नीजि विद्यालयहरुले मनखुशी रुपमा शुल्क असुल्छन् । पढ्छु भन्नेहरुले माथिल्लो तह सम्म पढ्न अब गाह्रो छ । यस्तै यस्तै छ नेपाल । तर पनि नेपालीलाई पर्दा आपसी रुपमा सहयोग गर्ने भावना अरु विदेशीहरु भन्दा धेरै छ नेपालीमा । अझ भनु म्याग्देलीहरु अरु भन्दा अगाडि छन् । यसैको परिणाम हो म्याग्दीमा म्याग्दी प्रवासी नेपाली संघ युकेले तीन वटा एम्बुलेन्स, म्याग्दी प्रवासी नेपाली संघ हङकङले एसएलसीमा सामुदायिक विद्यालयबाट छात्र र छात्राबाट उच्च नम्बर ल्याउने विद्यार्थीलाई सम्मान ।
यस्तै गरि आ-आफ्नो गाउँको बाटो, स्कुल, स्कुलमा कम्प्युटर, कक्षा कोठा निर्माण गर्ने कार्यमा अरु भन्दा अगाडि छन् । अहिले ओम कुमारी पुन शान्ति सहयोग समिति गठन गरेको समय करिब १ महिना ४ दिन भएछ तर पनि यस समितिले ओम कुमारीको लागि लगभग १८ लाख सहयोग संकलन गरेको रहेछ । अझ ६/७ लाख अपुग रहेछ । यसको लागि पनि उनीहरु उत्साहका साथ संकलन गर्न लागिरहेका छन् ।
ओम कुमारी पुन शान्ति सहयोग समितिको अध्यक्ष चन्द्र कुमार केसीको सभापतित्वमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्की, अतिथि प्रमोद कुमार श्रेष्ठ, अतिथि दिलमाया गुरुङ रहेको थिए भने कार्यक्रममा दिपप्रसाद रोकाले ईराकमा संकलित रकम ७९,४४२.६०, अर्जुन बरालले कोरियामा संकलित रकम १५ हजार र युकेमा योगकुमार फगामीको संयोजकत्वमा संकलित रकम ४ लाख १६ हजार ८ सय २० रुपैयाँ प्रमुख जिल्ला अधिकारीको हातमा हस्तान्तरण गरि वहाँको हातबाट सहयोग समितिका अध्यक्ष चन्द्र कुमार केसीको हातमा हस्तान्तरण गरिएको थियो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका पूर्व अध्यक्ष तथा युकेमा ओम कुमारी पुन सहयोग समितिका संयोजक योगकुमार फगामी दाईले त्यहाँ संकलन भएको पैसा बेनी गएर हस्तान्तरण कार्यक्रम अगाडि सिडिओ साहबलाई दिनु पर्छ भन्नु भयो । युकेमा आफ्नो खर्च कटाएर संकलन गरेको पैसालाई बेनी पुर्याउने जिम्मा दिंदा पनि म किन पछाडि पर्ने— यही सोचेर सहस्र हुन्छ भने ।
त्यहाँ पुगेर कार्यक्रमको केही क्षणले मानसपटल खल्बलाई दिएको छ । सोचेको थिए त्यहाँ पुगेर सिडिओ साहबलाई पैसा दिने त हो भन्ने लागेको थियो तर बेनी अन लाईन डट कमले छोटो कार्यक्रम राखेको रहेछ । युके को प्रतिनिधिको रुपमा मञ्चमा नै बसाउनु भयो । सहयोग समितिका अध्यक्षज्यूको ओम कुमारी पुनको स्वास्थ्य स्थिति बारे शुरु देखिको बिस्तृत कुरा सुनाउनु भयो । ४ वर्ष अगाडि रोगको बारेमा थाहा पाउँदा उनलाई अब म मर्छु भन्ने लागेको थियो नै अब ओम कुमारी पुनलाई निश्चित पनि म बाँच्छु भन्ने आशा लागेको होला ।
उपचारको क्रममा रहेछन् यसर्थ उनलाई भेट् गर्न त पाएन तर सहयोग समितिले धेरै राम्रो काम गरेको महसुुस गरेर पर्केको छु । र, मोना युकेका सम्पूर्ण महानुभावहरुले संकलन गर्नु भएको रकम हस्तान्तरण गर्न म सेतुको भुमिका मात्र निर्वाह गरेको हुँ । यस्तो मौका दिनु भएकोमा म, योग कुमार फगामी दाजु र वहाँका कमर्ठ योद्धाहरुलाई धेरै धेरै धन्यवाद । तपाईहरुको पहलकै कारण म आज मानवीय कार्यमा प्रतिनिधि पात्र बने । तपाईहरुको त्यो सेवाको भावनाहरु सधैं यसै गरि रहिरहोस् । सहयोग समितिका साथीहरुको कारण म मर्छु भन्ने ओम कुमारी पुनले अब बाँच्छु भन्ने सोच्न सक्ने भएका छन् । अझ यस क्षेत्रमा तपाईहरुको पाईला चलिरहोस् ।
मेजन पुन मगर
