चारदलको चुनाव भय र वैद्यहरुको गनगन

Read Time:12 Minute, 47 Second

बलदीप प्रभाश्वर चामलिङ
 संविधानसभाको दोश्रो निर्वाचन सम्पन्न हुने नहुने भन्ने कुरा अपेक्षाको कुरामात्र भएको छ । कसैले ढुक्कको साथ भन्ने अवस्था अझै छैन । संविधानसभाको चुनाव गराउने कुरामा स्वयम ठूला दलहरु नै दत्तचित्त भएर नलागेको अवस्था आफैमा रहेको छ । उता चुनावमा भाग नलिने भनेर कराएर हिड्ने वैद्य माओवादीहरु चाही त्यही ठूला दलहरुको मोहरा भएका छन् । चुनाव हुन नचाहने अमुक शक्तिहरुले आफ्नो प्रतिनिधि एजेन्ट वैद्य माओवादीहरुलाई ठानिरहेका छन् । के अब चुनाव हुने नहुने कुरा वैद्य माओवादीहरुमा नै निर्भर रहने हो त ?
 प्रधानन्यायधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व सुम्पने र उनैको अध्यक्षतामा संविधानसभाको निर्वाचन गराउने भन्ने सहमतिका साथ काग्रेस, एमाले, प्रचण्ड माओवादी र मधेशी मोर्चा लागेका हुन् । तर उनीहरुको यो सहमति बाबुराम भट्टराईको सरकारको बहिरगमन मात्र जस्तो देखिन आएको छ किनकी सरोकारवालाहरु नै सझैसम्म चुनावको लागि तातेको देखिन्न ।  चुनाव आगामी मंसीर महिनभित्र गर्ने भनियो तर मंसीरको कुन मितिमा हुने हो भन्ने कुरा अझै तय भैसकेको छैन । वैद्यमाओवादीहरुलाई सहमतिमा नल्याई चुनाव हुनु हुदैन भन्नेहरुको जमातपनि त्यतिकै छन् ।  यो सरकारले गराउने निर्वाचनमा आफुले कुनैपनि अवस्थामा भाग नलिने भनेर अड्डी लिएका छन् । वैद्यहरुको यो कस्तो अडान हो, त्यो विश्लेषण गर्नु आवस्यक छ । उनीहरुले संविधानसभाको चुनाव नै नचाहेका हुन् वा प्रकृयालाई मात्र विरोध गरेका हुन्, यो कुरा बुझ्न आवस्यक छ ।
 वैद्यहरुले कम्युनिष्ट अवधारणा अनुसारको जनवाद नै चाहेका हुन भने त्यो उनीहरुको आफ्नै आत्मरती हुनसक्छ । तर विश्व प्रचलित प्रजातान्त्रिक मुल्य र मान्यताबाट पनि मुलुक र जनताको प्रगतिशील सेवा गर्न सकिन्छ भन्ने सोच उनीहरुले राख्ने हो भने उनीहरुमा जनताले आशा र अपेक्षा राख्नै पर्नेहुन्छ । उनीहरुलाई पनि यो संविधानसभाको चुनावमा लिएर जानुपर्ने हुन्छ र जनताकै लागि उनीहरुले सोचेको हो भने उनीहरु स्वयम पनि चुनावमा भाग लिनै पर्ने हुन्छ ।
 प्रजातान्त्रिक प्रकृया नै नचाहने हो भने उनीहरुको लागि आगामी बाटो ज्यादै अप्ठेरो हुनसक्छ । त्यो बाटो उनीहरुलाई प्रत्योत्पादक हुन्छ । यो कुरा उनीहरुले बुझेकै हो । वास्तवमा वैद्य माओवादीहरुको अधिकतम् अपेक्षा भनेको कुनै राष्ट्रिय महाविपतीको अवस्थामा राज्यविप्लव गरिहाल्न सकिन्छ की भन्ने हो भने उनीहरुको न्युनतम चाहना भनेको अन्य कम्युनिष्ट धारहरु मध्य आफु क्रान्तिकारी चरित्रको भएर रहने हो । यही व्यवस्थामा रहनु परेता पनि क्रान्तिकारी साख बचाएर रहने उनीहरुको तत्कालिन सोच हो ।

प्रगतिशील र क्रान्तिकारी चरित्रलाई नेतृत्व तहमा कायम गराइरहनु त राम्रो कुरा हो । उनीहरुको बोलाइ र गराई हेर्दा उनीहरुले आचरणगत तहमा त्यस्तो गुण कायम गराउन चाहन्छ । उनीहरु वास्तवमा कुनै सैद्धान्तिक फरकपन देखाएर छुट्टिएका पनि होईनन् । मुल पार्टी प्रचण्डमाओवादीका नेताहरुको लवाईखुवाई, राजसी ठाँट र विलासी जीवनलाई आलोचना गरेर नै छुट्टिनु परेको कुरालाई पुष्टि गर्न खोजेका छन् । प्रचण्डहरुले जनयुद्ध गरेनन् भनेर आफुहरु अलग भएको भनेर वैद्यहरुले भनेकापनि छैनन । यसबाट के देखिन्छ भने उनीहरुपनि यही शान्तिपूर्ण संघर्षबाट नै राजनीति गर्न चाहन्छन् । तर यो चुनावमा भाग नलिने र चुनावलाई विथोल्ने नै भनेर भनिरहेका छन् । तर पक्कैपनि यसमा उनीहरुको आफ्नै राजनीति र रणनीति छ ।
उनीहरुले ठान्ने मुख्य दुश्मनी भनेको अरु हैन, प्रचण्ड माओवादी नै हो । निर्वाचनको परिणाममा प्रचण्डहरुबाट उनीहरु कुनैपनि अवस्थामा सानो तथा लघु देखिन चाहदैनन् । प्रचण्डहरुले क्रान्तिकारी चरित्र त्याग्यो र आफुहरु नै असली कम्युनिष्ट हौ भनेर देखाउनु छ वैद्यहरुलाई । आफुहरु नै साचो कम्युनिष्टपनि भन्ने तर कार्यकर्ता र जनताको समर्थन सानो भयो भने आफ्नो साख गिर्न सक्छ भन्ने भय वैद्यहरुमा नभएको होईन । तत्काल चुनावको परिणामले  आफ्नो अपेक्षा पुरा नहुने विश्वास छ उनीहरुमा । वैद्यहरुले यो पनि बुझेका छन् कि कथित ठूलादलहरुपनि आफ्नो अनुकुलता नभै तत्काल चुनावमा जान चाहदैन । यसरी स्वार्थ सबैको एउटै भएपछि कुनै नीहु चाहिने भयो । यसरी रेग्मीले राजीनामा नदिइ दलहरुको नेतृत्वमा सरकार नभै चुनाव हुन्न भनिरहेका छन् र उता राजनीतिक संयन्त्रमा भएका दलहरुले पनि वैद्यहरुलाई सहमतिमा नल्याई चुनावमा जान सकिन्न भनेका छन् । वास्तवमा यो दुवै पक्षको तत्काल चुनावमा नजाने खेल नै हो ।
वैद्यहरुले आफुलाई पनि राष्ट्रिय शक्तिको पहिचानको रुपमा पहिले स्थापित गराएर मात्र चुनावमा जान चाहन्छ । उच्चस्तरीय राजनीतिक संयन्त्र चार दलको सिण्डिकेट हो भनेर खुलेर विरोध गर्नुको कारणपनि यहि हो । त्यो राजनीतिक संयन्त्र तथा समितिमा आफ्नो दललाई पनि राखोस् भन्ने उनीहरुको चाहना हो ।  गैर राजनीतिक चरित्रको व्यक्ति रेग्मीले सरकारबाट राजिनामा दिनुपर्छ भन्ने उनीहरुले एउटा अत्तो थापेका छन् । यसमा पनि एक निहित स्वार्थ छ उनीहरुको ।
गैर राजनीतिक पृष्ठभूमि बोकेको मान्छेको नेतृत्वमा चुनाव हुनु हुदैन भनेको छन् वैद्यहरुले । यसको मतलब राजनीतिक दलहरुको नेतृत्वबाट हुने चुनावमा भाग लिन सक्छन् उनीहरु । यसरी रेग्मीले राजीनामा दिएपछि सरकार नेतृत्वको राजनीतिक शुन्यता सृजना हुन्छ र त्यही बेला अरु दलहरुबीच सहमति कायम नभइरहदा सरकारको नेतृत्व चिप्लीएर आफ्नो दलमा आउन सक्ने राजनीतिक अपेक्षा वैद्यहरुले राखेका छन् । उनीहरुले रामबहादुर थापालाई सरकारको नेतृत्व दिने हो भने राजनीतिक गतिरोध अन्त हुन्छ भनेर प्रमुख नेताहरुले ठाउप्रशंगमा बोली चुहाउने गरेका छन् । 
यसरी सबै दलहरु दलीय स्वार्थमा चुल्र्लुम्म डुविरहदा वैद्य माओवादीहरु पनि यसको अपवाद रहन सक्दैन । उनीहरुपनि आफ्नो दलीय स्वार्थलाई सुनिश्चित गराउन विभिन्न दाउपेचहरु खेलेकै छन् । उनीहरुले वर्तमान सरकारको वहिरगमन गराएर त्यो बेला सृजना हुने परिश्थितिमा आफ्नो पनि भाग सुनिश्चित गराउने ध्ययमा लागेको छ ।  आफुहरुलाई नसमेटी चारदलले चुनाव गराउन सक्दैन भन्ने आत्मविश्वासपनि उनीहरुमा छ । चुनावमा गइहाल्ने  चारदलको आन्तरिक आसय नभएको हुदा उनीहरुलाई कुनै नीहु चाहिएको छ र त्यो नीहु आफुहरु नै हुने ठम्याई रहेको छ वैद्यहरुलाई । हिजोका असन्तुष्ट लाडाकुहरु पनि आफुसंगै रहेको छ भन्ने सन्देश दलहरुमा भएको हुदा आफ्नो सहमति विना चार दल र यो सरकारले चुनाव गराउने हिम्मत राख्न सक्दैन भन्ने मनोविज्ञानपनि उनीहरुमा छ । यसले गर्दा चार दल कुनैपनि हातलमा झुक्ने उनीहरुलाई विश्वास छ । त्यही भएर नै उनीहरुले ढुक्कका साथ चुनाव कुनैपनि हालतमा हुन नसक्ने र नहुने चुनाव यो सरकारले गरिरहेको छ भनेर भनिरहेको अवस्था छ । अहिलेसम्म निर्वाचन प्रयोजनको दल दर्तापनि उनीहरुले गरेका छैनन् ।
मुलुक प्रतिगमनतिर गैसकेको आरोप वैद्यहरुले लागाएका छन् । उनीहरुको यो राजनीतिक आरोपसंग सहमत हुदै केही नागरिक समाजले पनि प्राज्ञिककरण गरिरहेका छन् । किस्ताकिस्तामा दलहरुले जनताको अधिकारलाई छिनिरहेको भन्ने कुरालाई भनिदैछ । यसरी रेग्मी सरकारलाई मान्यता नदिने नागरिक समाज पनि भएको हुदा आफ्नो राजनीतिक अडान ठीक रकेको भान वैद्यहरुमा छ ।
अतः निर्वाचन प्रयोजनको लागि भनेर गठन गरिएको यो सरकार निर्वाचन नै नगरी विघटन गरिदा चारदलका शीर्षस्त नेताहरु कति गैर जिम्मवेवार र मूर्खतापूर्ण निर्णय गर्दा रहेछन् भन्ने अवस्था आउन सक्छ । यस्तो त्रिकालदर्शीता नभएको नेताहरुले नै मुलुकको भविष्य बर्बाद बनाएको निष्कर्ष नेपालीले निकाल्नु पर्ने हुन्छ । यस्ता कुनै भिजन नै नभएको नेताहरुलाई काध थाप्ने हामी जनता कस्ता रहेछौ भनेर आत्मसमिक्षा पनि गर्नु पर्ने हुन्छ । उता वैद्यहरुले पनि यो सरकारलाई चुनाव गराउन नदिएर मुलुकलाई झन अन्योलता तिर धकेल्ने काम गरिरहेका छन् । चुनाव नै नगराई यो सरकारलाई हटाउने हो भने त्यसपछि राजनीतिक सहमति हुन्छ नै भनेर भन्न सकिने के आधार छ ? नाथे मिति तोक्न त झेल गर्ने दलहरु भोलीको सरकार नेतृत्वमा सहमति गर्लान त ? आखिर राजनीतिक सहमति नभएर नै त हो रेग्मी आउनु परेको ?
अहिले दलहरु आपसी झगडा गरेर समय बर्बाद गराउने होईन । यो सरकार दलहरुको नियन्त्रणमा रहनु पर्दछ । दलहरुमा आपसी विश्वास र सहयोग हुनु आवस्यक छ । यदि यो भएन भने सरकार राजनीतिक दलहरुको नियन्त्रणमा रहन सक्दैन । दलहरुले सरकारमा राजनीतिक नियन्त्रण गुमाउनु भनेको अनिष्ठ निम्त्याउनु हो । आखिर वैद्यहरुपनि उही एउटै ढुङ्गामा चडेका यात्रु नै हुन । अरु डुब्दा उ चाही सुरक्षीत रहने कुरै हुदैन । समय घर्की सकेको छ । यसमा वैद्यजीहरुले पुनरविचार गर्नैपर्ने हुन्छ ।

जेठ २६,काठमान्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %