पाल्पा, चैत्र २६,जिल्ला बालकल्याण समिति पाल्पाले बालबालिका सम्बन्धी चार वर्षे रणनीतिक योजनाका सम्बन्धमा राजनीतिक दल, पत्रकार र बालबालिकाको क्षेत्रमा क्रियाशिल गैसससँग आज छलफल तथा सुझाव संकलन गरेको छ । कार्यक्रमका सहभागीहरुले बालकल्याण समितिले निर्माण गरेको बालबालिका सम्बन्धी रणनीतिक योजना बालकल्याणको मात्रनभई सवै पक्षको भएकाले यसलाई कार्यान्वयन गर्न सवै सरोकारवालाहरुको सहयोग र समन्वय हुनु पर्नेमा जोड दिएका थिए ।
सहभागीहरुले जिल्लामा बालबालिकाको क्षेत्रमा गरिने कार्यक्रमहरु र विनियोजित बजेटहरुको प्रभावकारी कार्यान्वयन गर्न सकेमात्र पनि यो रणनीतिमा उल्लेख योजनाहरु धेरै सफल हुन सक्ने बताएका थिए । उनीहरुले योजना बनेर मात्र नहुने र त्यसको कार्यान्वयनमा स्थानीय निकायहरु, सरकारी तथा गैरसरकारी संघ संस्था, राजनीतिक दल, पत्रकार र अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए । कार्यक्रममा बालअधिकार अधिकृत हरि बहादुर सारुले पाल्पाका बालबालिका सम्बन्धी चार वर्षे रणनीतिक योजना निर्माणको आवश्यकता, उद्देश्य एवं महत्व र योजना निर्माणमा हालसम्म सम्पन्न भएका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
पाल्पाका राजनीतिक दल , पत्रकार तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहभागी हुनु भएको कार्यक्रम बालकल्याण अधिकारी तुलसा अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । बालअधिकारकर्मी चन्द्रिका खतिवडाको शहजिकरणमा २०६९ श्रावण महिनामा कार्यशाला सञ्चालन गरी लेखन कार्य शुरु गरेको उक्त रणनीतिक योजनाका सम्बन्धमा सरोकारीत विभिन्न पक्षसँग छलफल एवं सुझाव संकलन गरिएको र मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको बालअधिकार अधिकृत हरि बहादुर सारुले जानकारी गराउनु भयो । सारुका अनुसार जिल्ला बालकल्ण समितिको बैठकबाट अनुमोदन गराई केन्द्रीय बालकल्याण समितिको स्विकृत लिएर यो रणनीति लागु गरिनेछ ।
