दीपा आले/नेपालगन्ज
२०६९जेठ ८ गते जब म माथि सांघातिक हमला भयो त्यो अवस्थामा प्रायः सबैको साथ र सहयोग पाएँ तर निष्पक्ष न्याय पाउन भने सकेको छैन । आवाज विहिनहरुको आवाजलाई उजागर गर्दै आफ्नो गन्तब्यमा पाईला चालिरहेको एउटा श्रमजिवि पत्रकार माथि ज्यान लिने हमला भयो तर आज सम्म पिडकलाई कावाही हुन सकेको छैन । यो भन्दा ठूलो चिन्ताको विपय अरु के हुन सक्छ एउटा श्रमजिवि पत्रकारलाई ? आज म कलम चलाउन बाध्य छु । कलम मात्र होइन मेरो मगजलाई परिचालन गर्दैछु । जसको शब्दबाणले ममाथि ज्यान लिन खोज्ने अपराधिकतत्वको खोल ओडेका पीडकहरु कानुनी कडघरामा आउन सकोस् । त्यो आम जनताको चाहना र सपना हो । अनि मेरो ।
बजारमा एउटा हल्ला सुन्दैछु । दिपाले आफूमाथि हमला गर्ने आन्दोलनकारी संग मिलिसक्यो भनेर । के यो कुरो सांचो हो ? कुन मानिस मुर्ख होला आफू माथि ज्यान मार्ने पीडकसंग मिलेमतो गर्छ अनि पीडकलाई खुलेआम छोड्छ ? अझ त्यसमाथि म त एउटा श्रमजिवि पत्रकार जसले आजसम्म आवाज विहिनहरुको आवाजकोलागि वकालत गर्दै आफ्नो यात्रा अगाडि बढाउदै छु । यस्ता अनावश्यक हल्लाको पछि नदौडपनि आग्रह गर्दछु । बजारमा अरुको चरित्र हत्या गर्ने गरी हल्ला फैलाउने सुलसुले बानी ठिक होइन । अनावश्यक हल्ला फैलाएर बजारिकरण गर्ने सुलसुलेको चर्तिकला दिर्घकालिन हुन्न भन्ने बुझ्न आवश्यक छ । किन कि पाप धुरी बाट कराउंछ । एक दुई दिन पापलाई पखाल्न सकिएला तर सधै भरि पापलाई पखाल्न सकिदैन । किन कि एक दिन त्यही पाप धुरीबाट आफै कराउने छ अनि त्यस्ता अनावश्यक हल्ला फैलाउनेहरुमाथि जाई लाग्नेछ ।
मैले बारबारम्बार भनि राखेको छु । यति मात्र होइन विधिको शासन सम्माल्ने त्यस्ता रक्षकहरुलाईपनि बारम्बार भनि रहेको छु । एउटा श्रमजिवि पत्रकारमाथि आक्रमण गर्ने जुनसुकै दलको भरिया किन नबनोस् त्यस्ता अपराधीकतत्वलाई कानुनी कडघरामा उभ्याउनुपर्छ । तर आज दश महिना पुग्न लागि सक्यो तर “काग कराउंदै गर्छ पिना सुक्दै गर्छ” भन्ने उखान जस्तै भएको छ मेरो बास्तविक घटना । जुन घटनाको कुनै मूल्य र मान्यता नभएको जस्तो भान भईरहेको छ । म त यो घटनाको एउटा पात्र मात्र हो । म जस्ता सयौ श्रमजिवि पत्रकारहरु अहिलेपनि न्याय पाउन नसकेको अवस्था छ । कतिपय श्रमजिवि पत्रकारले आफ्नो अमूल्य ज्यान गुमाई सके । बुढापाकाहरुले त भन्ने गर्थे “नेपालको कानुन दैवले जानुन” हो आज मलाई त्यही महसुस भएको छ । राज्यसत्तामा बस्ने सत्ताधारीहरु आज जनताको सेवा होइन आफ्नो पेट भर्न मेवाको पछाडि तछाड मछाड गरी लागि परेको छ । जसले गर्दा हामी श्रमजिवि पत्रकारले आफ्नो ज्यानको प्रभाव नगरी देश र जनताको सेवामा तलिन हुंदाहुंर्दै ज्यान लिने सांघतिक हमला हुंदा समेत न्याय पाउन कुकुरले एक छाक खान मालिकको घरमा ढोका कुर्नु सरी भएको छ । के यही हो त नेपाली जनताले पाएको नयां नेपालको नयां लोकतान्त्रिक गणतन्त्र ? भन्न पनि लाज लाग्छ । सुनाउन पनि गाह्रो छ । आफूलाई जनताको सेवक भनेर चिनाउने त्यस्ता जनताघातक राज्यसत्तामा बसेर जनतालाई लात हान्ने त्यस्ता लाचार सरकार जसलाई म फेरी पनि बाध्य भएर आफू माथि हमला गरेका पिडकलाई कानुनी कडघरामा उभ्याउनु पर्छ भनेर भनि राखेको छु । किन कि डाडु पन्यू उनीहरुकै हातमा छ । मेरो काम भनेको खबरदारी गर्नु हो । त्यसलाई कानुनी रुपमा लागु गरी एउटा श्रमजिवि पत्रकारलाई न्याय दिनु सत्तामा बस्ने सरकारको हो ।
मैले सोच्ने गर्छु कानुन कसकोलागि बनाएको हो । हामी ठूला भनाउंदाहरु ठूला कुरा गर्छौ । अझ यति मात्र होइन हामी विधिको शासनलाई पालन गर्छौ भनेर आम जन मानसमा भाषणका ओइरो पोख्न पछि पर्दैनौ तर जब जब कुनै नेपाली जनता अन्याय र अत्याचारको शिकार भईरहेको हुन्छ तब तब विधिको शासन पालन गर्नु पर्छ भनेर भाषण गर्ने त्यस्ता कानुनका रक्षकहरु बाटो बिराएर दोबाटोमा रमाउन खोज्छन् । बाटो विराएका मात्र होइन अब त मलाई लाग्न थाल्यो जानी जानी बुच पचाई राखेका छन् । सत्ताधारीहरु पीडित जनतालाई न्याय दिनुको साटो “आफै बोक्सी आफै धामी ”भन्ने चलखेल गर्दछन् ।
२०६९ साल जेठ ७,८,९ गते देशमा नेपाली जनताले आ आफ्नो अधिकार मागी आन्दोलनमा उत्र्रिएका थिए । त्यो अवस्थामा जेठ १४ गते संविधान लेख्ने दिन सबै नेपालीलाई आ-आफ्नो अधिकार सुनिश्चित गर्नु थियो । त्यसैलेगर्दा पनि मुलुकको अवस्था जर्जर मात्र होइन हिंसात्मक गतिविधि फैलाउर्दै श्रमजिवि पत्रकारमाथि आक्रमणको ओइरो बर्षिएको थियो । त्यो अवस्थामा देश भरका अधिंकाश म जस्ता श्रमजिवि पत्रकारहरु घाईते भएका थिए । म त मरेर पनि बाच्न सफल भए । बांचेर आज आफ्नो बास्तविक स्वतन्त्र अभिव्यक्ति दिदैछु । सञ्चारकर्मीका साधान र स्रोतमाथि तोडफोड भएको थियो । आज म त्यो दिन सम्झन बाध्य छु । किन कि शासनसत्तामा बसेर जनतालाई ठेगानमा ल्याउन नसक्ने सरकार, जसले आफै सत्तामा बसेर संविधान बनाउन नसक्ने सरकार, अझ यति मात्र होइन आन्दोलनमा घाईते भएका पत्रकारहरुकोलागि आर्थिक भौतिक रुपमा सहयोग गर्छु भनेर जनमानसमा भाषण गर्ने सरकार, जसले हिजोको दिनमा आफूले के बोलेको छु भन्ने प्रतिबद्धता गरेको समेत भुलेको छ । आज फेरी मैले ति सत्तामा बसेको सरकारलाई न्यायकोलागि भन्न गईरहेको छु । कानमा तेल हालेर नबस । अन्यायमा परेका जनतालाई न्याय देऊ । होइन भने कान कोर्ने डाडुमा पानी तताएर विस्राम लिए हुन्छ ।
मेरो घटनाको मुद्धाकोलागि म आफ्नो जिल्ला देखि केन्द्रसम्म नपुगेको होइन । यदि कमजोर मुटु भईदिएको भए घटनास्थलमै मेरो सास रोकिने थियो । तर मेरो मुटु कमजोर छैन भन्ने कुरा प्रमाणित गरेर देखाए । न्यायको पहलकोलागि म सिंहदरबार सम्म पुगे । तर हिजोको दिनमा आश्वासन दिएका सत्ताधारीहरुले आजसम्म केही गर्न सकेन । के यही हो त एउटा नेपाली नागरिकले पाउने निश्पक्ष न्याय ? के यही हो त विधिको शासन ? धेरैले सुनाए । सुनाउनेलेपनि धेरै सुनायो । जसलाई पर्छ उसलाई मात्र थाहा हुन्छ रे । यो देशमा कसैले न्याय पाउंदैन रे भन्ने भिडको पछाडि दौडिरहन म चाहन्न । तर मैले न्याय पाउनुपर्छ त्यो मेरो अधिकार हो । यदि राज्यसत्तामा बसेका जुनसुकै दलका प्रतिनिधिका रुपमा सरकारमा पुगेका भएपनि मैले लेखेको बास्तविक पीडालाई अध्ययन गरी म माथि आक्रमण गर्ने पीडकलाई कानुनी दायरामा ल्याउन सकोस् । अनि मात्र म विश्वास गर्नेछु यो देशमा जिउंदो सरकार छ भनेर नत्र भने जिउंदो सरकारको नाउमा मुर्दा सरकार रहेछ भन्ने बुझ्नेछु । जब जब मानिसलाई गम्भिर चोट पर्छ तब तब उसले बाध्य भएर कडा र कठोर शब्द बोल्नु पर्ने हुन्छ हो मैले आज त्यही गरेको छु । यसलाई बुझ्ने र मुल्यांकन गर्ने स्यम सरकार जवाफदेहिता हुनुपर्दछ ।
म त्यतिकै पागल भएर मेरो विचार अभिव्यक्ति गरेको छैन हो म श्रमजिवि पत्रकार मलाई स्वत्रतन्त्र अभिव्यक्ति दिन कसैले रोक्न र छेक्न सक्दैन । किन कि प्रत्येक व्यक्तिले मानवअधिकारको प्रत्याभूति गर्न पाउनु पर्छ त्यो उसको नैसर्गिक अधिकार हो । मान्छे त्यसै बौलाउदैन जब उसलाई अन्तरआत्मादेखि पीडा हुन्छ तब ऊ बौलाउन सुरु गर्छ हो आज म पनि बौलाउन बाध्य भएको छु तर ममा होस् छ । यसलाई आमजनता र राज्यले कुन रुपमा बुझ्नु हुन्छ त्यो आफू मातहत रहने कुरो हो भन्ने गर्छु ।
नयां नेपालको परिकल्पना गर्दै लोकतन्त्रको प्रत्याभूतिलाई प्रत्येक नागरिकले उपभोग गर्न पाउनु पर्छ भन्ने सन्देश दिर्दै आफ्ना पाईलाहरु अगाडि बढाईरहेको बेला ढुकुवा कुरेर सांघातिक हमला गर्ने अपराधिकतत्व अहिले पनि खुलेआम हिडीरहेको छ त्यसलाई तत्काल कारवाही होस् यदि त्यस्ता हिंसात्मक गतिविधि फैलाउने र निर्दोष जनतामाथि सांघातिक हमला गर्ने पिडकलाई कानुनी दायरामा ल्याउन खोजिएन भने धिकार छ त्यो सरकारलाई । त्यति मात्र मात्र होइन मेरो घाईते आंखामाथि ५५ वटा टांका लगाएर अपरेशन गरेको आंखाले पनि धिकार्नेछ । त्यसकारण जसरी सुरुमा सबैले मेरो मुद्धामा साथ र सहयोग गरे उहांहरुप्रति धन्यवाद दिन चाहन्छु र फेरी पनि म आग्रह गर्छु न्यायकोलागि यहांहरु सबैको साथ र सहयोग मेरो लागि अत्यन्त महत्वपूर्ण छ । “थोपा थोपा पानीले समुन्द्र बने झै” सबैको साथ र सहयोग भयो भने अवस्य पनि राज्य ममाथि भएको घटनाको पिडकलाई कारवाही गरी कानुनी दायरामा ल्याउन बाध्य हुनेछ त्यसकोलागि सबै तह र तप्कामा रहनु हुने आम नेपाली नागरिकलाई खुला अभिव्यक्तिबाट हार्दिक अपिल गर्दछु जससम्म मैले न्याय पाउंदै तब सम्म तपाईहरुको साथ र सहयोग होस् । आज ममाथि सांघातिक हमला भएको छ भने भोलि जोकोहीलाई हुन सक्छ त्यसकारण एकता हुन जरुरी छ । एकता नै जीत हो, एकता नै सफलता हो, एकता नै प्रत्येक मानिसको जीउने आधार हो ।
समाप्त