काठमाण्डु
पुर्व श्रम तथा यातायात ब्यवस्था मन्त्री एवं राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एम एस थापाले कांग्रेस र एमालेले चुनाव जितेमा सवैभन्दा ठुलो दुर्भाग्य हुने बताएकाछन् । राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीको पांचौ जिल्ला अधिवेशनको घोषणा सभालाई सम्बोधन गर्दै उनले सो बिचार ब्यक्त गरेकाहुन् ।
‘एमाले र कांग्रेस आदिवासी जनजाति र सीमान्तकृत समुदायको प्रमुख शत्रु हुन् , यदि यिनीहरुले चुनाव जितेमा ती समुदायको लागि दुर्भाग्य हुनेछ ।’ उनले भने । ‘संविधान सभा मार्फत जातिय पहिचानमा आधारित संघीयता सहितको संबिधान बन्ने निश्चित भएपछि कांग्रेस र एमालेले जालझेल गरी संबिधानसभा नै भंग गराएकाले उनीहरु जनबिरोधी रहेको उनको भनाई थियो । ठुला दलहरु जनताको नजरबाट पखालिइसकेकाले चुनावमा जान डराईरहेका तर लाज पचाउनका लागि उनीहरुले ‘चुनाव’ शब्द उच्चारण गरिरहेको उनको आरोप थियो ।
एक अर्को प्रसंगमा उनले नेपालको बिकासका लागि जनमुक्ति पार्टीले सवैभन्दा पहिला संघीयता र धर्म निरपेक्षताको मुद्दा उठान गरेको र हिन्दु धर्मको बिगबिगी र राजाको प्रत्यक्ष शासनकालमा ती मुुद्दाको उठान गर्नु एउटा साहसिक काम भएको उल्लेख गरे ।
फाल्गुण २ गते शुरु भएको अबिधेशनको बन्दसत्रबाट ५ जना सदस्यहरु पछि मनोनयन गर्ने गरी कन्हैया प्रसाद चौधरीको अध्यक्षतामा ३५ सदसीय जिल्ला कार्य समिति चयन गरिएको जिल्ला सचिव तिल बहादुर झेंडीले जानकारी दिए । नव निर्वाचित पदाधिकारीहरुलाई गत शुक्रबार सम्पन्न घोषणा सभाको प्रमुख अतिथि समेत रहेका थापाले खादा ओढाइ स्वागत गरेकाथिए ।
घोषणा सभामा उनले कांग्रेस , एमाले र माओवादी पार्टी त्याग गरी जनमुक्तिमा प्रवेश गरेका सय भन्दा बढी युवाहरुलाई सदस्यता प्रदान गरेकाथिए । राजकुमार महतोको नेतृत्वमा ती युवाहरुले पार्टी प्रवेश गरेका थिए । महतो गत बैशाखको बहुचर्चित थारु आन्दोलनका अगुवा हुन् ।
नवलपरासीबाट प्रेमध्वज गाहा
