देवदह क्षेत्रका अधिकांश मासुपसलहरु अव्यवस्थित रुपमा संचालन भैरहेका छन् । राजमार्गको ८२ फिट भित्र सामान्य जाली राखेर खुलारुपमा मासु काट्ने र विक्रि वितरण गरिने हुदा धुवा र धुलोका कारण मासु खान लायक नहुने देवदह उपस्वास्थ्य चौकीका प्रमुम जयकिशन अधिकारीले बताउनु हुन्छ । धुवा र धुलोको कारण जिवाणुको संक्रमण भएपछि मासुमा भएको पोषण तत्व नष्ट हुने र महामारी जन्य रोग फैलन सकने अवस्था रहेको अधिकारीको भनाई रहेको छ । देवदह क्षेत्रमा भएका मासु पसलहरुको हाल सम्म अनुगमन नभएको अनुगमनको जिम्मा पाएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. लक्ष्मण ढकालले बताउनु हुन्छ । गाउँ विकास समिति र नगरपालिकाले आफनो गाविस वा नगरपालिका क्षेत्र भित्र विक्रि वितरण गरिने मासु पसलको मासुको मापदण्ड तोक्ने कार्य गर्नु पर्ने र त्यही अनुसार जिल्ला पशु सेवा कार्यालयले अनुगमन गर्नु पर्नेमा देवदह गाविसले कुनै मापदण्ड बनाएको जानकारी नभएकोले अनुगमन गर्न नसकिएको डा. ढकालको भनाई रहेको छ । गाउँ विकास समिति र अन्य सरोकारवालाहरु संग समन्वय गरेर चेतना मुलक कार्यक्रम संचालन गर्न सकिने डा. लक्ष्मण ढकालको भनाई रहेको छ । मासु पसल र मासुको गुणस्तर मापदण्ड गाविसले तोक्ने र अनुगमन गर्ने भएपनि गाविस सचिवले एक्लैले गर्न नसकेको देवदह गाविसका सचिव वव्रुवहान सापकोटाले बताउनु भयो । जनप्रतिनिधि नभएको अवस्थामा गाविसको सम्पूर्ण जिम्मेवारी वहन नसक्ने सचिव सापकोटाले बताउनु भयो । यस विषयमा गाउँ परिषदमा लान नसकिएको उहाले बताउनु भयो । सडकको छेउमा रहेका टंकी, ठेला तथा अन्य पसुलहरु गाविसको पहलमा हटाउन शुरु गरिए पनि सडक विभाग र ट्राफिक कार्यालयले कुनै सहयोग नगरेको कारण अझै पनि मासु पसलहरु सडक देउमा नै रहेको देवदह गाविसका बोर्ड सदस्य समेत रहेका देवदह उपस्वास्थ्य चौकीका प्रमुख अधिकारीको भनाई रहेको छ । सरोकारवालाहरुको वेवास्ताको कारण आफूहरुले अस्वास्थ्य मासु खानु परिरहेको उपभोक्ता विनोद पराजुलीको भनाई रहेको छ । उपभोक्ताले उचित मूल्य तिर्दा समेत स्वच्छ र स्वास्थ्य मासु खान नपाएको पराजुलीको भनाई रहेको छ । व्यापारीहरुले मासुको गुणस्तर कायम गर्नु पर्ने र गुणस्तर कायम नगर्ने व्यापारीलाई सम्वन्धीत निकायले कार्वाही गर्नु पर्ने पराजुलीको भनाई रहेको छ । एकले अर्कोलाई देखाएर उपभोक्ताको स्वास्थ्य माथी खेलावार्ड गर्नु भन्दा सवैले आ–आफनो जिम्मेवारी पुरा गर्नु पर्ने उपभोक्ताहरुको भनाई रहेको छ ।
केही समय यता केही मासु पसलहरु व्यवस्थित हुन शुरु गरेपनि अधिकाश मासु पसलहरु खुला रुपमा नै संचालन भईरहेका कारण देवदह क्षेत्रमा मासुकै कारण महामारी जन्य रोग फैलन सक्ने स्वास्थ्य तथा सरोकारावालाहरुको चेतावनी रहेको छ ।
