सत्तारुढ गठबन्धनको जन जागरणसभा

Read Time:2 Minute, 42 Second

काठमाण्डौ,माघ १८

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष दलहरूले परिवर्तनको मुद्दा छाडेको आरोप लगाउनुभएको छ । संविधानसभाको चुनावका लागि दबाब दिन भन्दै सत्तारुढ गठबन्धनले राजधानीमा गरेको जन जागरणसभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको मुक्ति र राज्य सत्तामा पहुँच बनाउनकै लागि सत्तामा सहभागी दलहरूको गठबन्धन जन्मिएको बताउनुभयो । परिवर्तनको एजेन्डामा केन्द्रीत भएर राष्ट्रिय एकताको भूमिका निर्वाह गर्न पनि गठबन्धनको स्थापना भएको प्रचण्डले बताउनुभयो । जनतालाई अधिकार सम्पन्न बनाउन र देशलाई नयाँ दिशामा लैजान नयाँ राष्ट्रिय एकता आवश्यकता भएकोले गठबन्धनको अवधारणा आएको उहाँको भनाइ छ । यही गठबन्धनले मुलुकलाई नयाँ निकास दिने प्रचण्डले बताउनुभयो ।

सभामा संबोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले परिवर्तन चाहने र नचाहने शक्तिहरूका बीचमा अहिले वैचारिक द्वन्द्व चलिरहेको बताउँदै अहिलेको सबै राजनीतिक विकृतिको जिम्मा काङ्ग्रेस एमालेहरूले लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले आउने जेठ १५ गतेसम्ममा चुनाव गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले चुनावदेखि तर्सिएर भाग्ने काङ्ग्रेस एमालेलाई जसरी पनि चुनावमा ल्याउने बताउनुभयो ।  यसैगरी मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले काङ्ग्रेस र एमाले सङ्घीयता विरोधी भएकोले संविधान बन्न नसकेको र संविधानसभा पनि विघटन भएको आरोप लगाउनुभयो । सहमति र संविधानसभाको निर्वाचनका लागि प्याकेजमा छलफल र सहमति गर्नुपर्ने उहाँको भनाइ छ । एकीकृत माओवादी र मधेसी मोर्चालाई मात्रै दोषी देखाउने प्रयास गरेर विपक्षी दलहरूले मुक्ति नपाइने उहाँको भनाइ थियो । उहाँले यही सरकारले संविधानसभाको चुनाव गराउने दाबी पनि गर्नुभयो । सभामा गठबन्धनका सबै दलका नेताहरूले संबोधन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %