रुपन्देही माघ १३,विद्यार्थी संख्याको आधारमा विद्यालयहरु समायोजन गर्नु पर्ने आवश्यकता रहेको शिक्षा मन्त्रालयका प्रवक्ता माहाश्रम शर्माले बताउनु भएको छ । उहाँले व्यवसायीक शिक्षामा जोड दिदै राज्यले कक्षा ९ पछि साधारण शिक्षा र व्यवसायीक शिक्षा लागु गर्ने तयारीमा रहेको समेत जानकारी गराउनु भयो । देवदह–३ मा रहेको युग ज्योति माविको २७ औं वार्षिकोत्सव एवं अधिभावक भेला कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । प्रवक्ता शर्माले अहिले ९५ प्रतिशत वालवालिका विद्यालयमा भर्ना भएपनि निरन्तरता नभएको हुदाँ निरन्तरताको लागि शिक्षक, अभिभावक, शिक्षाप्रेमीहरु सवै एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले गरिवीको कारण अझैपनि ५ प्रतिशत वालवालिका भने विद्यालयको पहुँच भन्दा बाहिर रहेको बताउनु भयो । शिक्षक, अभिभावकहरु विद्यार्थी प्रति उत्तरदायि हुने हो भने वालमैत्री विद्यालय निर्माण गर्न सकिनेमा जोड दिदै एउटै विद्यालयमा नेपाली र अग्रेजी माध्यममा पठन पाठन नगर्न समेत निर्देशन दिनु भयो । विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मावली स्थल रुपन्देहीको देवदह क्षेत्र शैक्षिक केन्द्रको रुपमा पनि विकास हुदै गएको प्रवक्ता शर्माले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव रिमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय नवलपरासीका प्रमुख टेक बहादुर थापा, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव टिकाराम अर्याल, नेपाली काग्रेस रुपन्देहीका सचिव हिरा बहादुर खत्री, जीवलाल पराजुली, नेकपा माओवादीका नमराज पुरी, नेकपा एमालेका धुव्रप्रसाद खरेल, देवदह आर्दश बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने, राप्रपाका मित्रलाल खरेल, श्रोत व्यक्ति दुर्गादत्त शर्मा, संस्थापक अध्यक्ष एवं विद्यालयका संरक्षक जसमान गुरुङ्ग, उपस्वास्थ्य चौकी देवदहका जयकिशन अधिकारी, ग्रिनप्लान्ट आवासीय उच्च माविका एक नारायण काफ्ले, देवदह वन सञ्जालका खेम नारायण अधिकारी, सेवा विकास बैकका दण्दपाणी भट्टराई, शिक्षक अभिभावक संघका गणेश वस्याल, विद्यार्थी अनिता न्यौपाने लगातयले बोल्दै शिक्षा क्षेत्रको विकासका लागि सवै एक भएर आ–आफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिनु भएको थियो । विद्यालयका सहप्रधानाध्यापक रामचन्द्र जिसीको संचालनमा भएको कार्यक्रममा प्रधानाध्यापक शिव ढुगानाले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वार्षिक पुरस्कार वितरणको साथै विद्यार्थीहरुले विभिन्न सास्ंकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्ष शिक्षकका रुपमा दिनानाथ शर्मा र वर्ष अभिभावकको रुपमा जीवन पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रम अध्यक्ष वासुदेव रिमालले विद्यालयमा दशजोड दुई कक्षा सञ्चालन गर्ने,अभिभावकहरुलाई सचेत बनाउन घरदैलो अभियान सञ्चालन गर्ने,विज्ञानका प्रयोगशाला निर्माण गर्ने,अंग्रेजी मध्यमवाट सञ्चालित कक्षाहरुलाई निरन्तरता दिने लगायतका आगामी योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
विद्यार्थी संख्याको आधारमा विद्यालयहरु समायोजन गर्नु पर्ने
Read Time:4 Minute, 40 Second
