सल्यान,माघ ९
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार रहेका बेला द्धन्द्धकालका घटनाहरुको नैतिक जिम्मेवारी लिन तयार रहको बताउनु भएको छ । प्रेस युनियन सल्यानले आज बिहान गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले माओवादीले गराएका घटनाका जिम्मेवारी उसले लिनु पर्ने र सरकारका तर्फबाट भएका घटनाहरुको जिम्मेवारी आँफुले लिन तयार रहेको स्पष्ट पार्नु भएको हो ।
देउवाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि वर्तमान सरकारको वर्हिगमन अनिवार्य भएको धारणा राख्नुभयो । सरकारमा रहेका दलहरुले आन्दोलनको घोषणा गर्नुले प्रजातान्त्रिक मुल्य र मान्यताको खिल्ली उडाएको टिप्पणी गर्दै नेता देउवाले देश गम्भीर दलदलमा फसेकाले राजनीतिक निकासका लागि सहमतिनै उत्तम विकल्प भएको बताउनुभयो ।
