पाल्पा, पौष २६,धवल पुस्तकालय पाल्पाले जिल्लाको शैक्षिक जागरण र पुस्तकालयको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका करुणा प्रसाद प्रधान र कृष्णदेव शर्मालाई सम्मान गरेको छ । पुस्तकालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय पूर्व अध्यक्षहरू प्रधान र शर्मालाई सम्मान गरेको हो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष युवराज पौड्याल र बुद्धिजीवी बुद्धि प्रसाद शर्माले दुबैलाई सम्मान पत्र, दोसल्ला र पाल्पाली करुवा प्रदान गरी सम्मान गरे । तानसेन ८ भगवतीटोलमा वि.सं १९७४ साल चैत्र १० गते जन्मेका प्रधान साधारण सदस्यबाट पुस्तकालयमा प्रवेश गरी निर्वाचन समितिको संयोजक र सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । यसैगरि वि.सं १९८७ साल फाल्गुण ९ गते जन्मेका तानसेन १ मेहलधारा निवासी कृष्णदेव शर्मा २००६ सालमा पुस्तकालय सहयोग समितिको सदस्यका रुपमा प्रवेश गरी सञ्चालक समितिको अध्यक्षसमेत बनेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व ९५ वर्षिय प्रधानले दुवैले जतिसुकै विद्युतिय माध्यमको विकास भए पनि पढन संस्कृतिको ठूलो महत्व रहेको बताएका छन् । अर्का सम्मानित व्यक्तित्व शर्माले धवल पुस्तकालयमा पाल्पा कक्ष उद्घाटन भएका दिन १ लाख ११ हजार १ सय ११ रुपैँया प्रदान गर्नेसमेत प्रतिवद्धता जनाए । कार्यक्रममा छत्रराज शाक्यले शर्माको पुस्तकालय संरक्षणका लागि देशव्यापी अभियान चलाएको प्रसंग र प्रधानको पुस्तक पढ्ने बानीका बारेमा चर्चा गरे । वि.सं १९८३ सालमा पुस्तक पढ्ने दलानका नामबाट स्थापित धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो । पुस्तकालयका सचिव टंक पन्थले स्वागत गर्दै सम्मानित व्यक्तित्वको बारेमा प्रकाश पार्नु भयो । कार्यक्रम पुस्तकालय सञ्चालक समितिका महासचिव राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा चलेको थियो ।
नेपालकै पुरानो पुस्तकालय बचाउनेहरुलाई सम्मान पाल्पा
Read Time:2 Minute, 56 Second
