काठमाण्डौ,पौष १८ सर्वपक्षीय दलित समुदायले कारागारमा थुनामा रहेका रसुवाका कुमार नेपालीको मृत्यु सम्बन्धमा राज्यले यथाशीघ्र सत्यतथ्य छानवीन गरि न्यायिक प्रक्रियामा अगाडि नबढे कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ । प्रधानमन्त्रीलाई भेटेर घटनाप्रति ध्यानाकर्षण गराएको समुदायले आज राजधानीमा पत्रकार सम्मेलन गरि यस्तो चेतावनी दिएको हो । घटनाको यथाशीघ्र सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको व्यवस्था नगरिए सम्पूर्ण दलित समुदाय सडकमा उत्रिएर नेपाल बन्दसम्मका कार्यक्रम अगाडि बढाउने नेपाल राष्ट्रि«य दलित मुक्ति मोर्चाका संयोजक रणेन्द्र बरालीले बताउनुभयो । कारागारभित्रै मृत्यु हुनु र शवको छातीमा दुई वटा प्वाल देखिनुले पनि घटना रहस्यमय रहेको उहाँको दाबी थियो । राज्यले घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म शव नबुझ्ने पनि उहाँले जिकिर गर्नुभएको छ । अहिले नेपालीको शव शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । सर्वपक्षीय दलित समुदायले पत्रकार सम्मेलनमार्फत् घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने, घटनामा संलग्न दोषीलाई कडा कारबाही गरिनुपर्ने, पीडित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराईनुपर्ने र देश व्यापीरूपमा दलित समुदायमाथि शृङ्खलाबद्ध भएका घटनाहरु बन्द गरिनुपर्ने चारबुँदे माग अघि सारेको छ । घटनाको छानबिनका लागि सर्वपक्षीय दलित समुदायको तर्फबाट विनोद पहाडीको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत गठन गरिएको छ ।रसुवाको धैवुङ्ग गाविस वडा नं १ का कुमार नेपालीको यही पुस ११ गते काभ्रेको कारागारभित्रै मृत्यु भएको मृतकका परिवारलाई प्रहरीले जानकारी गराएको थियो । प्रहरीले कारागारभित्रै रहेका कैदीहरुबीच कुटाकुट भएर नेपालीको मृत्यु भएको बताएपनि मृतकका परिवारले भने प्रहरीकै मिलेमतोमा हत्या भएको आशंका गरेको छ ।
दलित समुदायद्वारा आन्दोलनको चेतावनी
Read Time:2 Minute, 50 Second
