गोविन्द घर्ति देवदह पौष ६ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभाबाट पहिलो शक्तिको रुपमा उदय भएको एमाओवादीले शान्ति र संविधान निर्माणका लागि ठीक ढंगले भूमिका खेल्न नसक्दा संविधान सभाको अवसान भएको र मुलुकमा राजनीतिक संक्रमण लम्बिएको बताउनु भएको छ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कुर्सी छाड्नुको विकल्प नभएको अध्यक्ष खनालको भनाई रहेको छ । दलहरु बीच पछिल्ला चरणमा भएका वार्ता र संवाद सहमतिको नजिक पुगिरहेको तर प्रधानमन्त्री भट्टराई सहमतिमा नआएको उल्लेख गर्दै खनालले तत्काल कुर्सी छाड्न प्रधानमन्त्री भट्टराईलाई आग्रह गर्नुभयो । “एमाले, काँग्रेस वा माओवादी कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा निर्णायक होइन, तर सहमतिको प्रधानमन्त्रीका निम्ति भट्टराईले कुर्सी छाड्नुको विकल्प छैन”–उहाँले भन्नुभयो । रुपन्देही व्यापार संघको आयोजनामा आजदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै एमाले अध्यक्ष खनालले सहमति बिना मुलुक अगाडि बढ्न नसक्ने बताउनु भयो । एमाओवादी, काँग्रेस वा एमाले एक्लै अगाडि बढेर मुलुकको समस्या हल नहुने भएकाले सहमतिको विकल्प नभएको खनालको भनाई रहेको छ । उहाँले ताजा जनादेशमा जाने, आउने बैशाखमै संविधानसभाको निर्वाचन गर्ने र उक्त संविधानसभाले बाँकी रहेका विवाद टुंग्याउने विषयमा दलहरु बीच मतभेद नरहेको उल्लेख गर्दै यसका लागि सहमतिको सरकार बन्नु जरुरी रहेको दोहो¥याउनु भयो । राजनीतिक अस्थिरताले मुलुकले आर्थिक विकासको सुनौलो अवसर गुमाउदै गएको पनि उहँले बताउनुभयो । संघका अध्यक्ष टंक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपाली, एमाओवादीका नेता बामदेव क्षेत्री, पुर्व सासद सूर्यप्रसाद प्रधान, नेकपा माओवादी रुपन्देहीका इन्चार्ज वसन्त श्रेष्ठ, संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्षे तेजकुमार पाठक, रुपन्देहीका स्थानीय विकास अधिकारी नारायण ज्ञवाली, बुटवल नगरपालिकाका कार्यकारी अधिकृत खिमबहादुर रायमाझी, व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्रीकृष्ण पोखरेल लगायतले बोल्नु भएको थियो । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउसम्म व्यापारको विस्तार’ नारासहित रुपन्देही ब्यापार संघको आयोजनामा पुस १७ गतेसम्म संचालन हुने मेलामा २६ वटा विदेशी सहित करिब साढे ६ सय स्टल रहने आयोजकले जनाएका छन् । मेलामा चीनका १०, भारतका ८, बंगलादेशका ६ र पाकिस्तानका २ वटा स्टल रहने संघका अध्यक्ष टंक पोखरेलले जानकारी दिए ।
