गोविन्द घर्ति देवदह २ पौष । छोरा बुहारीले बयोबृद्ध आमालाई कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै रुपन्देहीको देवदहमा स्थानीय महिलाहरुले रयाली निकालेर विरोध प्रर्दशन गरेका छन् । रुपन्देहीको देवदह ४ निवासी वर्ष ४८ का शिव वस्याल तथा उनकी श्रीमति आरती बस्यालले ७४ बर्षिय बयोबृद्ध आमा चन्द्रकला बस्याललाई विगत लामो समय देखी कुटपिट तथा दुव्र्यवहार गर्दै आएको भेटिए पछि विरोध प्रदर्शनमा उत्रिनु परेको महिला अगुवा विद्यालक्ष्मी गुरुङ्गले बताउनु भयो l पटक–पटक स्थानियवासीको पहलमा वयोवृद्ध आमालाई कुटपिट नगर्ने र खान लाउन दिने प्रतिवद्धता व्यक्त गरेपनि बस्याल दम्पतीले सो कार्य दोहोरयाउदै आएका कारण वाध्य भएर महिलाहरुले विरोध प्रदर्शन गर्नु परेको स्थानीय महिला अगुवा हिरा ढकालले बताउनु भयो । छोरा बुहारीले समयमा खान नदिने, विरामी पर्दा उपचार नगर्ने तथा घरबाट निस्केर जा भन्दै कोठामा लगेर कुटपिट गर्दै आएको पिडित महिला चन्द्रकला वस्यालले बताउनु भयो । छोरा बुहारीको कुटपिटबाट घाइते समेत भएकी वस्यालले जेठा छोरा दयाराम वस्यालले समेत आफुलाई दुःख र कष्ट पर्दा वेवास्ता गरेको आरोप लगाउनु भयो । छोरा बुहारीको दुव्र्यवहारका कारण धेरै दिन भोकभोकै बस्न वाध्य भएको र वाच्नका लागि काचो लौका खानु परेको दुःखदायी कुरा बयोबृद्ध वस्यालले व्यक्त गर्नु भयो । आमाले दुःख गरेर जोगाएको घर घडेरी समेत बेचेर आफु संगै राखेका कान्छा छोरा शिव वस्यालले स्थानीयवासीको रोहवरमा आमालाई ८ लाख रुपैया दिने र कुनै दुव्र्यव्यवहार नगर्ने सहमति गरेपनि त्यसलाई व्यवहारमा लागु नगरेको स्थानीवासीको आरोप रहेको छ । महिला हिंसाको १६ दिने अभियान भर्खरै सकिदा भएको महिला हिंसाले आफुहरुलाई स्तव्ध तुल्याएको नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य रेवती घलेले बताउनु भयो । जन्म दिने आमालाईनै हातपात गर्ने छोरा बुहारीको गलत प्रवृतिको विरोधमा स्वस्फुर्त उत्रेका महिलाहरुले फेरी पनि यस्तो हिंसा समाजमा नदोहोरियोस भन्नका लागि विरोध प्रदर्शन गरेको घलेले बताउनु भयो । लौकेश्वर मन्दिरबाट शुरु भएको सयौ महिलाहरुको रयाली देवदहको शितलनगरमा पुगी पुनः खैरेनी बजारमा आएर कोणसभामा परिणत भएको थियो l विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, मिना गुरुङ्गको संचालनमा भएको कोणसभामा प्रगति आमा समुहका पार्वती न्यौपाने, पाकडी आमा समुहका चन्द्रकला पाण्डे लगायतले बोल्दै महिला हिंसाको विरोधमा सवै महिलाहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
