देब पचभैया, पाल्पा मंशिर २२
आत्महत्याका घटनामा वृद्धी हुन थालेपछि यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले सक्रियता देखाएको छ । गत हप्ता मात्र तानसेनको प्रभास स्थीत लुम्विनी मेडिकल कलेजमा एम.वि.वि.एस. पढ्दै गरेका एक जना छात्र र मिलेनियम उच्च माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राले एक दिनको फरकमा आत्महत्या गरेपछि प्रहरीले सक्रियतालाई तीव्र पारेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र तानसेन नगरपालीकाको संयुक्त आयोजनामा आज तानसेनमा अपराध नियन्त्रण तथा रोकथाम वारे चेतना मूलक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक स्थानेश्वर रेग्मीले कार्यक्रममा पछिल्लो तिन वर्षमा पाल्पामा ३७ जना विष सेवन, ९६ जना झुन्डीएर, २ जना हातहतियारबाट र ६ जना पानीमा हामफालेर आत्महत्या गरेका जानकारी दिनु भयो । आत्महत्या गर्नेमा केहि वृद्ध रहे पनि अधिकांश युवाहरु रहेको रेग्मीको भनाई छ ।
आत्महत्या लगायतका आपराधिक विकृती रोक्नको लागि अभिभावकका साथै सम्बन्धीत निकाय सचेत हुनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
कार्यक्रममा युनाइटेड मिशन अस्पताल पाल्पाका कार्यकारी निर्देशक डा.रचेल कारख, लुम्बिनी मेडिकल कलेजका डाक्टर राजु शाक्य र जिल्ला अस्पतालका प्रमुख डा. संज्ञा पौडेलले उदाशिनता, आर्थिक अवस्था कमजोर हुनु, शैक्षिक असफलता, दिर्घ रोग, पारिवारिक झगडा लगायतका कारण मानिसले आत्महत्या गर्ने गरेको बताउनु भयो । उहाहरुले अभिभावकले परिवारका सदस्यको राम्रो सँग ख्याल गर्नुपर्ने र व्यवहारमा केहि फरक पन आए वा उदासिन बन्दै गएको भेटेमा विशेष ख्याल गर्नुपर्ने बतानु भयो ।
तानसेन नगरपालीकाका कार्यकारी अधिकृत निरन भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला न्यायधिष हरीशचन्द्र ढुङ्गाना प्रमुख अतिथि रहनु भएको थियो । महिला हिंसाका घट्ना र नियन्त्रणका लागि भइरहेका प्रयास वारे महिला विकास अधिकृत तुलसा अर्याल, अधिवक्ता गीता शर्मा र सडक दुर्घटनाको वारेमा सडक डिभिजन कार्यालयका प्रकाश पौडेलले जानकारी गराउनुभएको थियो ।
जिल्लामा रहेका सबै राजिनतिक दलका प्रमुख, विभिन्न विद्यालय तथा क्याम्पसका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी, विभिन्न क्षेत्रमा सक्रिय रहेका युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा महिला हिंसा, सडक दुर्घटना, लागु औषध प्रयोग गर्ने युवायुवतीहरुलाई नियन्त्रण गर्न कसरी सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो । कार्यक्रमको सञ्चालन नगरपालीकाका प्रबन्धक विष्णु पौडेलले गनुभएको थियो ।
