मंशिर १४ म्याग्दी, मावि तहको कक्षा सञ्चालनका लागि अभिभावकले विद्यालयलाई चन्दा तिर्नुपर्ने प्रस्तावपछि विद्यालय छाडेका म्याग्दीको दग्नामका विद्यार्थी फेरी विद्यालयमा फर्किएका छन् । स्थानीय जनता माविमा शैक्षिक सत्र २०६९-७० देखि स्थानीय स्रोत जुटाएर माध्यमिकस्तरको पढाइ सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिले वार्षिक शुल्क लिने प्रस्ताव गरेपछि कक्षा ८ र ९ का करिब १० जना विद्यार्थीहरुले विगत केही महिनादेखि विद्यालय आउन छाडेका थिए । गाविस, वन, आमा समूह र स्थानीयबासीको भेलाले अभिभावकबाट तोकेर पैसा नलिने निर्णय गरेपछि पढाई छाडेका १० जना विद्यार्थी दसैँ तिहारको बिदापछि विद्यालय आउन थालेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर गर्बुजाले बताउनुभयो । मावि चलाउन संघ संस्था र व्यक्तिबाट स्वच्छीक चन्दा संकलन र अन्य स्रोत खोज्ने निर्णय गरेपछि विद्यालय छाडेका विद्यार्थीहरु पुन विद्यालयमा फर्कीएको विद्यालयका शिक्षक गुन पुनले जानकारी दिनुभयो ।
