मंसिर १२, विद्यार्थीहरुको एक समूहले मंगलबार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक पिन्टु यादवमाथि कुटपिट गरिएको छ ।
शिक्षा संकय तर्फको बिएड प्रथम वर्षका विद्यार्थीहरुलाई स्वास्थ्य विषय पढाएर कक्षा कोठाबाट वाहिरिए लगत्तै क्याम्पसका केही विद्यार्थी र केही बाहिरी युवाहरुको समूहले आफुमाथि कुटपिट गरेको पीडित प्राध्यापक यादवले बताए ।
सातरआठ जनाको समूहमा रहेका आक्रमणकारीहरुले काठको पटरीबाट प्राद्यापक यादवमाथि अन्धाधुन्ध प्रहार गरेका थिए । क्याम्पस परिसरमै रहेका स्ववियुका पदाधिकार र केही विद्यार्थीहरुले यादवलाई जोगाउँदै उपचारर्थ अस्पताल लगेको थियो ।
कुटपिटबाट घाइते यादवको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार गरिएको छ । उनको टाउको फुटेको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
यता घाइते प्राध्यापक यादवले आफुमाथि शिक्षा संकाय स्नातक तर्फका पूर्व इन्चार्ज रामअशिष यादवले आक्रमण गराएको दावी गरेका छन् । कक्षा कोठाबाट वाहिरीने वित्तिकै रामअशिष यादवकै निर्देशनमा ममाथि आक्रमण भएको हो, घाइते यादवले भने ।
क्याम्पस हाता भित्रै एक जना आंशिक प्रध्यापकमाथि आक्रमण भएपछि हाल क्याम्पसका सम्पूर्ण पठन-पाठन ठप्प भएको छ ।
क्याम्पस प्रमुख चिरञ्जीविलाल देवले आफूहरु क्याम्पस प्रशासन र प्राध्यापक एवम शिक्षकहरुको वृहत वैठक पश्चात यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको प्रतिक्रिया दिए ।
