पोखरा, मंसिर १२, कास्की कारागारमा झडपमा संलग्न बन्दीहरुलाई सरुवा गरिने भएको छ । नाइके चन्द्र गुरुङ सहित ३५ बन्दीलाई स्थानान्तरण गर्न छानवीन समितिले सिफारिस गरेको छ ।
समितिले घटना दोहोर्याए मुद्दा चलाउने गरी नाइके, सहनाइके र चौकीदारलाई दायित्वबाट मुक्त गराई झडपमा संलग्न सबैलाई कारागार स्थानान्तरण गर्नुपर्ने आशयको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमलाई बुझाएको हो ।
गौतमले प्रतिवेदनको अध्ययन गरेर कारवाही अघि बढाउने जानकारी गराउनुभएको छ । उहाँले मंगलबार नै प्रतिवेदनका सम्बन्धमा छलफल गरेर निर्णय गर्ने पनि बताउनुभयो ।
गएको शुक्रबार राती कास्की कारागारमा बन्दीहरुवीच झडप भएपछि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र पौडेल र जेलर सुनिल अधिकारी सदस्य रहेको छानवीन समिति गठन गरिएको थियो ।
समितिले बुझाएको प्रतिवेदनमा कारागारका नाइके, सहनाइके र चौकीदार गरी १५ तथा झडपमा घाइते २० जनालाई कारागार स्थानान्तरणको सिफारिस गरिएको छ । त्यस्तै, कारागारभित्रको अनियमितता, अमानवीय व्यवहार तथा भौतिक अवस्थाबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
छानवीन समितिका संयोजक सिलवालले कारागारभित्र नाइके र बन्दीबीच असन्तुष्टि बढेर झडप भएको बताउनुभएको छ । ‘बन्दी बन्दीबीचकै लेनदेन लगायतका कारणले समूह विभाजन भएर घटना भएको देखियो’ सिलवालले भन्नभुयो ‘झडप भन्दा पनि नाइकेका विपक्षमा लागेकाले एकोहोरो पिटाइ खाएको पाइयो । नाइकेले बन्दीमाथि दुर्व्यवहार, असमान व्यवहार तथा अनियमितता गरेको भन्दै विरोध जनाउदा झडप भएको हो । त्यसक्रममा २० बन्दी घाइते भएका थिए । घाइतेमध्ये नाइके समूहका ८ जना परेका थिए । नाइकेहरुको ज्यादतीविरुद्ध उत्रने योजना सार्वजनिक भए लगत्तै नाइके पक्षले कुटपिट गरेको छानवीनका क्रममा पाइएको समितिले जनाएको छ । छानवीन समितिले ३८ जनासँग बयान र अन्य बन्दीसँग सोधपुछ गरेको थियो ।
