पोखरा, ११ मंसीर। स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशन मंसीर २९ गते हुने भएको छ । नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम सहितको उक्त अधिवेशनको लागि संघका केन्द्रीय सल्लाहकार अधिवक्ता भूपनिधि पन्तको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा विष्णुप्रसाद श्रेष्ठ र रामचन्द्र बराल रहेका छन् ।
यसैगरी दुर्गा अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ । सदस्यमा कास्की शाखाका अध्यक्ष दिपककुमार श्रेष्ठ र पार्षद गुप्तप्रसाद शर्मा रहेका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल तदर्थ समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षमा सोमबार पोखरामा वसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले अधिवेशनको उद्घाटन समारोहमा सामाजिक पत्रकारिता पुरस्कारका संस्थापक समाजसेवी लीलाभक्त आचार्यलाई सम्मान गर्ने समेत निर्णय गरेको छ । २०६८ फागुन २४ गते स्थापना भएको स्वतन्त्र पत्रकार संघ नेपाल गत बैशाख १८ गते जिल्ला प्रशाशन कार्यालय कास्कीमा विधिवतरुपमा दर्ता भएको थियो ।संघका पश्चिमाञ्चल र मध्यमाञ्चल गरि आठ वटा जिल्लामा शाखा गठन भएको छ ।
