गोविन्द घर्ति
रुपन्देही कार्तिक १८, संस्कार संस्कृति सवै नेपालीहरुको पहिचान भएकोले संरक्षण र सम्वद्र्धन गर्न आ–आफनो ठाउँबाट लाग्नु पर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । खेमा तमु छोंज धी देवदहको आयोजनामा तमु संस्कृति, संस्कार, पर्व सम्वन्धी एक दिने प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रीय पे ताँ ल्हु ताँ समितिका संयोजक ठाकुरजंग तमुले बुहसांस्कृतिक मुलुक नेपालमा सवै संस्कार र संस्कृतिलाई संरक्षण गर्न राज्यले बेइमानीपूर्ण व्यवहार गरेको आरोप बताए । उहाले सवै जातीय भाषा धर्म संस्कृतिलाई समान व्यवहार गर्न राज्यसंग आग्रह गरे । छोंज धी देवदहका अध्यक्ष थमन सिंह तमुको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा तमु पेल्हु संघ जिल्ला समिति रुपन्देहीका सचिव गुम बहादुर तमु, पर्वत तमु समाज देवदहका उपाध्यक्ष गज बहादुर तमु, माङ्गी आमा समुहका अध्यक्ष ज्ञानसरी तमु, तमु युवा संयोजक भिम तमु लगायतले बोल्दै आफनो जातीय भाषा, संस्कार र संस्कृति बचाउन लाग्नु पर्नेमा जोड दिएका थिए । ठाकुर जंग तमुले चाडपर्वका वारेमा, गम बहादुर तमुले धर्म संस्कृति र भिम प्रसाद गुरुङ्गले तमु संस्कृति, संस्कृति र हाम्रो पहिचान विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उपाध्यक्ष टौ बहादुर गुरुङ्गको स्वागत र सञ्जु तमुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
