सत्ता पक्ष नेकपा माओवादी संविधानसभाको पुनःस्थापनाको पक्षमा उभिएको बेला प्रतिपक्ष दल नेकपा एमाले पुनःस्थापनाको विपक्षमा उभिएको छ । नेकपा एमाले स्थायी समितिको शनिबारको बैठकले संविधानसभाको पुनःस्थापनाको विपक्षमा अडिक रहने निर्णय गरेको हो । संविधानसभाको पुनःस्थापनाको सट्टा ताजा जनादेशमा जाने यस अगाडिको निर्णयमा कुनै हेरफेर नगर्ने एमाले स्थायी समिति सदस्य अमृतकुमार बोहोराले बताए । बैठकले संविधानसभाको पुनःस्थापनामा नलाग्न र पार्टीको निर्देशनलाई अगाडि बढाउन समेत पूर्व सभासद्हरुलाई निर्देशन दिएको छ । स्पष्ट अडान लिन नस्कने र डुलमुले चरित्र देखाउने पार्टी भनेर आलोचना खेप्दै आएको एमालेले यस पटक भने आफ्नो अडानमा पछि नहटेर राजनीतिमा आफ्नो बेग्लै हैसियत देखाउन खोजेको छ, तर सत्ता पक्ष माओवादी र विपक्षी कांग्रेस समेतका अधिकांश नेताहरु पुनःस्थापनाको पक्षमा उभिसकेको अवस्थामा सहमति कायम गरि राजनीतिक गतिरोध हटाउन एमालेको यस्तो अडान बाधक बन्ने निश्चित छ ।
(राज्यसत्ता नेपाल व्युरो)
