गोविन्द घर्ति, देवदह
असोज २६, जेठ २ गते भएको सर्वदलिय सहमति अनुसार संविधान जारी गर्ने हो भने मात्र संविधान सभाको पुनःस्थापना गर्न सकिने नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए । उनले सहमति अनुसार संविधान जारी नगर्ने हो भने ताजा जनादेशमा जानु उत्तम विकल्प रहेकोमा जोड दिए । नेपाली काग्रेस क्षेत्र नं १ क्षेत्रीय समिति रुपन्देहीले मक्रहर ५ मा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताएका हुन । कार्यक्रम उद्घाटन गर्दै महामन्त्री सिटौलाले एकिकृत माओवादी र मधेशी मोर्चाले वावुराम सरकारको कुर्चि जोगाउनको लागि संविधान सभा विघटन गरेको आरोप लगाए । आफुले कवोल गरे अनुसार काम हुन नसके पछि पहिलाका प्रधानमन्त्रीले राजीनामा दिए पनि वावुराम भट्टराई सरकारले भने सत्ता लिप्साका कारण संविधान सभाको विघटन गरेर सत्तामा रहीरहन जालझेल रचिरहेको सिटौलाले बताए । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य वालकृष्ण खाँणले संविधान सभाको पुनःस्थापना भएपनि जनताको पक्षमा संविधान आउन नसक्ने ठोकुवा गरे । त्यसैगरी केन्द्रीय सदस्य धनराज गुरुङ्गले वावुराम सरकारले नेपाली जनतालाई दुख वाहेक कुनै राहत दिन नसकेको बताए । नेपाली काग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति विश्वनाथ यादवको अध्यक्षता, उसभापति तेजबहादुर कुवर क्षेत्रीको स्वागत र सचिव वासुदेव रिमालको संचालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य वावुराम राना, महासमिति सदस्य दुर्योधनसिंह चौधरी, नेपाल तरुणदलका पुर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, जिल्ला सभापति अव्दुल रजाक, महासमिति सदस्य कृष्णप्रसाद पौडेल लगायतले बोल्दै पार्टीमा अवसर वादीहरुको हावी भएका कारण सच्चा र ईमान्दार नेता तथा कार्यकर्ताहरु पाखा पर्दै गएकोले पार्टीले सहि मुल्याकन गर्नु पर्नेमा जोड दिएका थिए । पार्टीमा दोहोरी खेल्नु भन्दा पनि कार्यकर्ताको भावना अनुसार अगाडि बढ्नु पर्नेमा सहभागिहरुको भनाई रहेको थियो ।
