दीपा आले, नेपालगन्ज
केही दिन अगाडि म नेपालगन्जमा भएको एक कार्यक्रममा उपस्थित भएको थिए । कार्यक्रम सुरु भइसकेको थियो । म एकछेउको कुर्चीमा गएर बसे । सहभागीहरु आउने क्रम जारी थियो । म एक कुनामा गएर बसेपछि कार्यक्रम तिर ध्यानकेन्द्रित भयो । मेरा नयनले कार्यक्रममा आएका सहभागीहरुलाई चारैतिर हेर्न थाले प्रायः सहभागीहरु वृदवृद्धा थिए । उनीहरु बेपत्ता परिवारका सदस्य रहेछन् । केही समय मैले उनीहरुको मुहारलाई एकनासले हेरिरहे । लाग्थ्यो उनीहरुको अनुहारमा खुशी होइन दुःख चिन्ताले भरिएको छ । सायद बेपत्ता परिवारका सदस्यहरुले आफ्ना हराएका परिवारलाई खोजिरहेका छन् ? बुढेउली अवस्थामा पनि आफ्ना बेपत्ता परिवारको खोजीमा राज्यको ढोका घच्घचाई रहेका छन् ? म उनीहरुको अनुहारलाई एकनासले हेरि रहे । कार्यक्रम सुरु हुन थाल्यो । वक्ताहरु बोलिरहेका थिए । मैले सुन्ने र केही कुरा लेख्ने काम गर्दै थिए । त्यतिकैमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधानले बडो गम्भीर हुंदै दुःखकासाथ भन्नु भयो–सशस्त्र द्वन्द्वकालका दोषीलाई सरकारले पुरस्कृत गरिरहेको छ । मेरो ध्यान आयोगका प्रवक्ता प्रधानको बाणी तिर गयो । सशस्त्र द्वन्द्वकालमा गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई सरकारले कारवाहीको साटो पुरस्कृत गरेको सुन्दा मलाई दुःख मात्र होइन अचम्म लागेको थियो ।
यसरी सुरु हुन्छ एउटा मानिसको मानवअधिकारको प्रत्याभूति जसलाई राज्यले कसरी लिई रहेको छ भन्ने कुरा । यो त एउटा नमुना मात्र हो यस्ता सयौं घटनाहरु हाम्रो सामु कति छन् कति जसले आजसम्म न्यायको ढोका ढकढकाउदा ढकढकाउदै समयले डांडा काटिसकेको छ तर न्यायको पहल कहिलकतैबाट हुन भने सकेको छैन ।
आदरणीय मेरा पाठकवृन्द समय गतिशिल छ । समयको रफ्तारसंग चल्न नसके मानिसको जीवन मानिस होइन नाम मात्रको मानिसको उपनाममा सिमित हुन्छ । अर्को कुरा जसरी मेरो कलम आफ्नै रफ्तारमा बढी रहेको थियो । २०६९ जेठ ८ गते म माथि सांघातिक आक्रमण भएयता कलम जुन रफ्तारमा बढ्नु पर्ने तर शारीरिक, मानसिक पीडा र समस्याले गर्दा रोकिन पुग्यो । एउटा मानिस भएर जन्मीएपछि उसले पाउने स्वतन्त्रतालाई कुठाराघात गरियो । उसको कलमलाई भांच्ने प्रयास गरियो । त्यति मात्र होइन क्रुर स्वभाव हेर्दा मानिसको खोल ओढेपनि उसको भित्री रुप शैतान थियो । त्यस्ता दानवले मेरो ज्यान लिने दुस्प्रयास गरयो तर भाग्यबश ईश्वरको क्रिपाले म यो धर्तिमा बांच्न सफल भए । आज मैले मेरो ईतिहास मेरो डायरी लेख्ने प्रयास गर्दैछु ।
म माथि घटना घटनु अगाडि मेरो कलमले कस्तो भूमिका खेलिरहेको थियो । र घटना घटिसकेपछिका दिनमा कस्तो भूमिका खेल्न खोज्दैछ यो कुरा मेरा पाठकवृन्दहरुले बुझ्न जरुरी ठान्दछु । मैले मेरा विचारमा बारम्बार भन्ने गर्दै आएको छु –यो संसारका हरेक मानिस फरक फरक क्षमताका “स्टार” हुन् भन्नुको अर्थ तारा हुन । जुन ताराले आफ्नो क्षमता अनुसार समाजलाई केही न केही परिवर्तन गरिरहेको हुन्छ जसको प्रकाशले कसैको जीवनलाई बर्वाद हुनबाट बचाउंछ । तर अर्को कुरा पनि मैले बारम्बार भन्ने गर्दै आएको छु मानिस आफ्नो स्वार्थ पुरा गर्न अरुको ज्यान लिन पछि पर्दैन । त्यो त प्रत्येक मानिसको मगजमा भर पर्ने कुरा हो आफू सतमार्ग तिर गइरहेको छु या नरगीय मार्गतिर ।
विश्वका ठूला ठूला विद्ववानहरु भन्ने गर्दछन्– तिमी यदि यो समाजलाई परिवर्तन गर्न छ भने तिमी आफैबाट सुरुवात गर । तिमीले गरेको हरेक क्रियाकलापको बारेमा डायरी लेख । जसले भोलि गएर त्यही डायरी यो समाज, देश र विश्वकोलागि एउटा महत्वपूर्ण ऐतिहासिक दस्तावेजको रुपमा परिणत हुनेछ । आदणीय मेरा पाठकवृन्द हामीलाई थाहा छ । हिजोका दिनमा लेखिएका ऐतिहासिक दस्ताबेज आज हामीले पढीरहेका छौं । हिजोको दिनमा त्यो दस्ताबेज सामान्य लाग्थ्यो तर आज त्यो ऐतिहासिक दस्ताबेज हाम्रो लागि महत्वपूर्ण मानिन्छ ।
तर सबै डायरी सत्य हुन्छन् भन्ने छैन त्यो डायरी लेख्ने मानिसमा भर पर्दछ । डायरीको पनि क्वालीटी हुन्छ । विद्ववान महात्मागान्धीले आफ्नो आत्माकथामा लेखेका छन् । जुन आत्माकथा नामक किताबमा यौनचाहनाको रसले गर्दा उनले आफ्ना विरामी बाबुलाई छोडेर गएका थिए । जसको फलस्वरुप उनको बाबुको अन्तिम सास जाने बेला उनको अन्तिम ईच्छा पुरा गर्न सकेनन् । गान्धीले यसरी आफ्नो डायरीमा आफ्नो बाबुको अन्तीम ईच्छा पुरा गर्न नसक्दा उनी जीवन भर पछुताउनु परेको थियो । त्यसले गर्दा उनको डायरीमा सत्यता छ यो त एउटा उदाहरण मात्र हो । उनले आफ्नो जीवनको सत्य यर्थात कुरा समाजको अगाडि ल्याउन सफल भए । आज हजारौ मानिसहरु गान्धीको डायरी अध्ययन गर्ने गर्दछन् ।
आदरणीय मेरा पाठकवृन्द आज मैले धेरै भूमिकाहरु बांध्नु परेको छ । धेरै भन्दा धेरै लेख्नु छ । यहांहरुले पनि धेरै भन्दा धेरै पढ्नु छ । किन किन मरेर बांचेको छु यो धर्तिमा । पुराना र नयां ईतिहासका विचारलाई पुनरलेखन गर्नु छ । मैले धेरै पटक मेरो लेखमा लेखेको छु । जबसम्म मेरो शरीरमा सास रहन्छ । जतिबेला सम्म मेरो मगजले काम गर्छ । तब सम्म मेरो कलम निरन्तर चलिरहेछ । मेरो कलमको मशी सुक्ने छैन । जति बेला मेरो सास रोकिन्छ । तेति बेला मात्र मेरो कलमको मशी रोकिने छ । तर म मरे पनि मैले लेखेका विचार, यो समाज र राष्ट्रलाई गरेको योगदान पाठकवृन्दहरु मांझ सधैं रहिरहनेछ । त्यसैले मैले पाएको नयां जीवनको उपहार स्वरुप मेरो डायरी मार्फत हाम्रो समाजको निगरानी गरिरहने छु । आज मैले लेखेको सानो कुरा कसैकोलागि हांसोको पात्र होला । तर भोलि गएर यो ऐतिहासिक दस्ताबेज नहोला भन्न सकिन्न । हुन त मेरा केही कलमकार सहकर्मीहरुले भन्ने गर्दारहेछन्–दीपाको सोच नकारात्मक छ भनेर । कतिले मेरो मुखमा पनि भनेका छन् तर जसले जे भने पनि त्यसको जवाफ काम र समयले देखाउंछ । त्यो पृष्टी पनि भई सकेको छ । सत्य सधैं सांचो हुन्छ । अन्तिममा सत्यको नै जीत हुन्छ । सत्यमा नै संसार टिकेको छ । हल्ला गर्नेहरुले जति नै फुरफुर किन नगरोस् तर फुरफुर गर्ने गन्ध दिर्घकालीन हुंदैन । यो हामी सबैले महसुस गरेका छौं ।
आज मैले भन्नै पर्दछ राज्य सत्तामा बसेर जनताको खुन पसिना खाने र भोगविलासमा मस्ती गर्ने सत्ताधारीलाई । तिमीहरुले कान खोलेर सुन । जनताको कामकोलागि सरकारमा गएका हौ भने जनताको सेवा गर । जनताको समस्या समाधान गर । जनतालाई न्याय देउ । तर सत्तामा बस्ने सत्ताधारी नेताहरु न त तिमीले जनताको आंशु पुछ्न सक्यौ ? न त जनतालाई न्याय दिन सक्यौ ? नत सशस्त्र द्वन्द्वकालमा हराएका बेपत्ता परिवारलाई राहत दिन सक्यौ ? न त हराएका परिवारलाई खोजविन र अनुसन्धान गर्न सक्यौ ? लाग्छ सत्तामा बस्ने सत्तादारी तिमीहरु आफै बोक्सी आफै धामी बन्ने काम गर्दैछौ । यता मानवअधिकारको रक्षामा लागेका मानवअधिकारवादीहरुको बोल्दा बोल्दै घांटी सुक्यो । हिड्दाहिड्दै खुटा फुटिसक्यो । तर मानव अधिकारको रक्षाकोलागि लाइसेन्स प्राप्त आयोग को कुरा समेत नसुन्ने निकम्बा राज्यले किन सुनुवाई गरेको छैन यहां निर प्रश्न उठ्ने गर्दछ । बोक्सीले धामीलाई बारम्बार गिजाई रहेझै लाइसेन्स प्राप्त आयोगको कुरालाई नसुन्दा अचम्म छ सत्ताधारीको चलखेल । जसले सत्य बोल्छ । जसले सत्य कुरा ल्याउंछ । जसले सत्यकोलागि न्यायको ढोका ढकढकाउंछ उसैको पिठ पछाडि लात हान्ने काम भोगविलासमा लिप्त सत्ताधारीले गरिरहेका छन् । के यही हो त एउटा जनताले पाउने न्याय ? एउटा लाइसेन्स प्राप्त निकायको आवाजलाई सत्ताधारीले बेवास्ता गर्दछ भने ति निमुखा जनता जसलाई आफ्नो अधिकार भनेको के हो त्यो पनि थाहा छैन । आफूले पाउने अधिकार कहां गएर पाउने हो त्यो थाहा छैन भने त्यस्ता जनताको सुनुवाई कहिले होला ?
आदरणीय मेरा पाठकवृन्द मगजमा यस्ता कुराहरु धेरै छन् तर म संयम सांघातिक हमलाको पीडित हुं । समाजमा म पत्रकार भनेर पहिचान बनाएपनि म एउटा आन्दोलनकारीले सांघातिक हमला गरेर पीडितको बिल्ला भेर्नु परेको छ । आज न्यायको खोजिमा मेरो पाइला बढी रहेको छ । आगामि दिनमा पनि न्यायकोलागि बढ्नेछ । मेरो ज्यान लिने क्रुर दानवको अन्त्य एक दिन निश्चित छ । “शैतानले सताउंछ तर ज्यान लिन सक्दैन” भन्ने कुरा सत्यसावीत भएको छ । हो एकदिन मानिसलाई जन्मेपछि मर्नु छ । तर आफ्नो दाना पुरा नहुंदा सम्म कसैले केही गर्न सक्दैन भन्ने कुरा पनि ममाथि भएको घटनाले सावीत गरिदिएको छ । म एउटा पत्रकार समाजलाई परिवर्तन गर्न हिडेको यात्री हुं । म जस्तो समाजलाई सुसुचित गर्ने पत्रकारले त आफू माथि भएको सांघातिक हमलाको दोषीलाई कारवाही गर्न राज्यले सकिरहेको छैन । सत्ताधारीहरु चाहदैनन् आफ्ना आसेपासेहरुलाई खोरमा राख्न किन किन आफै धामी आफै बोक्सी बनेका छन् । हिजोको दिनमा जब म माथि ज्यान लिने हमला भयो । त्यति बेला सत्ता र कानुनको खोल ओढेका सत्ताधारीहरुले अपराधीलाई कानुनी दायरामा ल्याएर कढघरामा उभ्याउछु भनेको प्रतिबद्धता गरेको थियो । तर आज सत्तालिप्तको मोहमा ओतप्रोत भएर होला त्यसको कुनै सुनुवाई छैन न त क्षतिपूर्तिको कुनै पहल छ ।
आदरणीय पाठकवृन्द म मेरो न्यायकोलागि मेरो पाईला अगाडि बढाउदैछु । न्यायको खोजीमा स्थानीय निकाय देखि केन्द्रिय निकाय जसलाई सिंहदरवार भनेर चिन्ने गर्दछन् त्यहां सम्म पुगेर आए । तर सत्तामा बस्ने सत्ताधारीहरुलाई कुनै चांसो छैन । न्यायको खोजीमा आएका जनतालाई भिग माग्न आएको जस्तो उनीहरुको स्वभाव थियो । के यही हो त जनताले चुनेर पठाएका सत्ताधारी नेताहरुमा हुनु पर्ने स्वभाव ? बढो अचम्म लाग्छ । दुःख पनि लाग्छ । अझ अर्को कुरा जसको पहुंच हुंदैन । उसले सिंहदरवारमा बसेका सत्ताधारीहरुलाई भेट्न त के उसको अनुहार समेत हेर्न पाउदैनन् । यस्तो छ हाम्रो देशको बागडोर सम्माल्ने सत्ताधारीहरु जो हुनु र नहुनुमा केही फरक छैन । आज मैले मुख फोडेर भन्नुपर्दछ देश र जनताको सेवा गर्न गएका जनताका सेवकहरु हो कानमा तेल हालेर नबस । हिजोको ईतिहासलाई नभुल । सिंहदरवार भित्र रहेको सत्तामा बस्न पायो भन्दैमा जनताको न्यायकोलागि लडाई लड्न नभुल । यदि सक्दैनौ भने सत्ता छोडेर विकासका बाटा खोजिरहेका नेपालकै कैयौ बांझा खेतहरु छन् आएर जोत अनि कृषि क्षेत्रलाई टेवा पुरायौ यदि त्यो पनि गर्न सकिदैन भने नेता त के मानिस हुनुको कुनै औचित्य छैन । मुखमा राम राम बगलीमा छुरा हान्ने काम नगर । एक दिन तिम्रो जित होला तर सधै भरी हुने छैन । जनताको रगत त्यसै बगेको छैन । जनताको आंशु त्यसै खसेको छैन । जनताको मन त्यतिकै अमिलो भएको छैन । भाषणमा कौवा र डाक्ग्रै जस्तै कराएर हावाको भरमा प्रतिवद्धता जाहेर गरेर केही हुनेवाला छैन । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सिक । जनताको सयौं पिडा भएतापनि एउटा पीडाको न्याय दिन सक्यौ भने तिमी यो देशकोलागि केही गर्न सक्ने नेताको रुपमा जनताले चिन्नेछ होइन भने तिमी नेता होइन कुनेता हुनेछौ ।
आदरणीय मेरा पाठक विन्दृ मेरो विचारको अन्तिम मोडमा मैले भन्नै पर्दछ जब म माथि ज्यान दिने आक्रमण भयो त्यो घटनाको सुनुवाई अहिले आधाबाटोमा अड्किएको छ । कानुनको खोल ओढेका सत्ताधारीहरु न्याय दिन्छौ पनि भन्छन् र भित्रभित्र दिनु हुन्न पनि भनेका गन्ध फैलिएको छ । तर जुन बेला ममाथि घटना घट्यो त्यो बेला समाजले मेरो अस्तित्व माथि औंला उठाईरहेको थियो । जति बेला म शारीरिक र मानसिक रुपमा सक्त घाईते थिए त्यो बेला मैले काम गर्ने मिडियाहावस “सगरमाथा टेलिभिजन”ले मेरो कलमलाई बांचिनबाट जोगायो । त्यो गुन मैले मेरो जीवनमा कहिल्यै भुल्ने छैन । हामी जस्ता पत्रकार जो जनताको सेवामा २४ सै घण्टा तलिन हुन्छौ त्यसको मुल्यांकन एउटा राज्यले गर्नु पर्ने हो तर सत्ताधारीहरु जनताको जति सुकै रगतको भेल किन नबगोस् तर उनीहरुलाई कुनै मतलब छैन । तर एउटा मिडियाहावस जो आफ्नै बलबुताले चलेको छ । उसले आर्थिक रुपमै सम्मान गर्नु र समाजको अगाडि सम्मान दिनु त्यो सत्ताधारीहरुकोलागि झापड बनेको छ । तर गहिरो निन्द्रामा परेको मानिसलाई बुउ्झाउन सकिन्छ गरे तर नक्कल पारेर सुतेको मानिसलाई बिउझाउन सकिन्न भन्ने उखान जस्तै भएको छ सत्ताधारीको शासन ।
आदरणीय मेरा पाठकवृन्द आवाज विहिनहरुको आवाजलाई न्यायको ढोकासम्म पुराउने प्रयास जारी छ । मेरो मात्र होइन सयौं त्यस्ता आवाज विहिनहरु छन् हाम्रो समाजमा उनीहरुको न्यायकोलागि लड्नु छ । त्यसकारण निमुखा जनता र सत्यको लडाई लड्नकोलागि तपाईहरु सबैको साथको आवश्यकता छ । फेरी पनि भन्ने गर्छु मेरो घटना प्रति चिन्ता व्यक्त गर्ने र न्यायको पहल गर्ने नेपाल पत्रकार महासंघका पदाधिकारीहरु विभिन्न सञ्चारमाध्यमहरु जसले मेरो सत्य घटना लेखेर जनताको सामु पुराउने त्यस्ता पत्रकार साथीहरु, प्रहरी प्रशासनमा पनि विशेष गरी मेरो मुद्धालाई कानुनी दायरामा पुराउन सफल बांकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेल, एस्पी विक्रम सिंह थापा जसलाई म जनतालाई न्याय दिने सेवक भनेर उपनाम दिन चाहन्छु । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका मुरारी खरेल जसले मेरो न्यायको पहलकदमी गर्नु भयो । महिलाबादी, समाजसेवी, इन्सेक, ब्यापार व्यवसायी, महिला विकास, माईती नेपाललगायत देश विदेशमा भएका मेरा शुभचिन्तकहरु जसले मेरो शिर्घस्वास्थ्यको कामना गर्नु भयो उहांहरु सबैलाई धन्यवाद दिन चाहान्छु । विशेष धन्यवादको पात्रहरु जसले मेरो घाइते शरीरलाई उपचार गरेर आज यो समाजमा हेर्न लायक बनाउनु भयो डा. विनोद कर्ण,डा. किदवाई म मेरो जीवनमा सधै याद गर्नेछु । अहिले पनि ममाथि हमला गर्ने अपराधीहरु खुलेआम मेरो आम्नेसाम्मे हिडीहरेका छन् । त्यसलाई कानुनी दायरामा ल्याउन सबैलाई पहल गर्दछु । मेरो कलमलाई भाच्ने दुस्साह गर्ने क्रुर दानवहरु हो होस् गर तिमीहरुको आयू छोटो छ । तिमीहरुले मेरो ज्यान लिनकोलागि म माथि हमला गरेका थियौ तर “इस्पात”ले बनेको मेरो शरीरमा केही भएन । त्यसकारण आदरणीय पाठकवृन्दहरु मेरो लडाईमा यहांहरुले साथ दिनु हुनेछ भन्ने विश्वासका साथ अर्को लेखमा भेट्ने बाचा गर्दै अहिलेलाई विदा हुन्छु ।
अपराधी खुलेआम, न त कुनै कारवाहीको पहल, न त कुनै जवाफदेहिता ?
Read Time:20 Minute, 35 Second