नेकपा एमालेका उपाध्यक्ष अशोक राईलाई पार्टी अनुशासन समितिले स्पष्टीकरणका लागि पत्र पठाएको छ ।
जातीय पहिचानको मुद्धामा असन्तुष्ट खेमाको नेतृत्व गरेका नेता राईले विश्व आदिवासी दिवसका दिन एमालेमा नफर्किने सार्वजनिक अभिव्यक्ति दिए पछि एमाले पार्टीले स्पष्टीकरण माग गदै उनलाई पत्र काटेको हो । अग्रगामी समूहको नाममा छुट्टै राजनीति गरेको आरोप राई माथि लगाउँदै स्पष्टीकरण माग गरिएको छ । केन्द्रिय सचिवालय मार्फत् अध्यक्ष झलनाथ खनालले राईसंग स्पष्टीकरण माग गरेका हुन् । पत्रमा फरक विचारका बारेमा बाहिर स्पष्ट गर्नु पर्ने र पार्टीको योगदानका विषयमा समेत स्पष्ट गर्नु पर्ने उल्लेख गरिएको छ । पहिचानको मुद्धालाई लिएर नेतृत्व पक्षसंग असन्तुष्टि जनाउँदै आएका राईले समाल्दै आएको मोर्चा विभागको जिम्मेवारी खोसेर सचिव शंकर पोखरेललाई दिइसकेको छ । स्पष्टीकरणको विषयमा राईसंग राज्यसत्ताले प्रतिक्रिया लिने लामो प्रयास भने निरर्थक बन्यो । उनी मिडियामा आउँनै चाहेनन् । एमाले भित्रका असन्तुष्ट आदिवासी जनजाति नेताहरु पार्टीबाट अलग हुने लगभग निश्चित जस्तै बने पछि त्यसले पार्टीलाई गम्भीर धक्का लाग्ने ठानेर एमालेले उनीहरुलाई फकाउँने प्रयास जारी राखेको छ । पृथ्वी सुब्वा गुरुङ तथा मधेशी नेता रामचन्द्र झालाई समेत पार्टीले पटक– पटक बोलाएर सम्झाउँदै आएको स्रोतले बताएको छ । जनजाति तथा मधेशी नेताहरु सामूहिक राजीनामाको मनस्थिति बनाइरहेका बेला एमालले नेतृत्व उनीहरुलाई पाटी मै बसाउँन अनेक उपायमा लागेको कतिपयको बुझाइँ छ । नेतृत्वको विभिन्न प्रलोभनमा परेर पार्टीमै बसेमा त्यसले क्षणिक लाभ भए पनि जनजाति नेताहरुलाई घाटा पुग्ने प्रस्तावित सामाजिक लोकतान्त्रिक पार्टीका कार्यदल संयोजक चैतन्य सुब्वा बताउँछन् । उनका अनुसार एमालेबाट असन्तुष्ट जनजाति नेताहरुले असोज १५ सम्म पार्टी छाडेर नयाँ पार्टीमा आइसक्ने समय दिएका छन् । आगामी असोज १६ मात्रै पूर्ण आकार सहितमो नयाँ पार्टी घोषणा हुने बताइएको छ ।
(राज्यसत्ता नेपाल व्युरो)
