राजनीतिक नियुक्तीको विरोध गदै देशभरका डाक्टर अस्पताल बन्द गरि सडकमा

Read Time:3 Minute, 6 Second

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा डीन नियुक्ती राजनीतिक भाँगबन्डाका आधारमा नगर्न माग गदै नेपाल चिकित्सक संघले देश भरिका स्वास्थ्य संस्था दुई दिनका लागि बन्द गरि आम हड्तालमा उत्रिएको छ । नेपाल चिकित्सक संघले  दुई दिनका लागि आकस्मिक र अन्तरंग बाहेकका सबै सेवा मुलुक भरका स्वास्थ्य संस्थामा बन्द गरिएको जनाएको छ ।
सरकारले अध्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था गरे पनि स्वास्थ्य क्षेत्रमा गरिएको हड्तालले आमजनता निकै समस्यामा पर्न थालेका छन् ।
बन्द फिर्ता गर्नु पर्ने विषयमा प्रधानमन्त्री र चिकित्सक संघका पदाधिकारीहरु शनिबार प्रधानमन्त्री निवासमा छलफल भए पनि समस्या सुल्झिन सकेको छैन । त्रिवि शिक्षण अस्पतालमा राजनीतिक भाग बन्डा अन्त्य गरिनु पर्ने माग राखि विगत ६ दिन देखि आमरण अनसनमा बसेका डा. गोविन्द केशीको स्वास्थ्य गम्भीर बन्दै गए पछि उनको जीवन रक्षाको लागि स्वास्थ्य संस्था बन्द गर्न बाध्य हुनु परेको नेपाल चिकित्सक संघले जनाएको छ । गत असार महिनामा डीनमा नियुक्त भएका डा. कुमोदप्रसाद काफ्लेले उमेर हदका कारण अवकास लिए पछि त्रिविका उपकुलपति डा. हिराबहादुर महर्जनले रिक्त डीन पदमा एमाले सम्वद्ध डा. रमाकान्त बास्कोटालाई गत मंलवार नियुक्त गरेका थिए । बास्कोटाको नियुक्ती राजनीतिक भाँगबन्डामा गरिएको भन्दै डा. गोविन्द केशी चिकित्सा क्षेत्रमा राजनीतिक भागबन्डाबाट नियुक्ती गर्ने काम बन्द गरिनु पर्ने माग राखि आमरण अनशनमा बसेका हुन् । माग सम्वोधन नहुदासम्म अनशन नतोड्ने केशीले बताएका छन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा समेत केशीले कुनै उपचार सेवा समेत लिन अस्वीकार गरिरहेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । डा. केशी यस अगाडि सोही माग राख्दै आमरण अनशनमा बसेका थिए । डा. केशी त्रिवि शिक्षण अस्पतालका हाड्जोर्नी सम्वन्धी विशेषज्ञ डाक्टर हुन् ।
(राज्यसत्ता नेपाल व्युरो )

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %