नेकपा एमालेका उपाध्यक्ष अशोक राईले एमाले सुधार्नका लागि छुट्टै बैचारिक आन्दोलन चलाए पनि अब एमाले सुध्रिन नसक्ने बताएका छन् । आदिवासी दिवसका अवसरमा राजधानीमा आयोजित सभालाई सम्वोधन गदै उनले एमालेलाई सुधारेर राष्ट्रिय राजनीतिक मुद्धा अगाडि बढाउँने अवसर अब नरहेको समेत बताए । ‘त्यो संभावना अन्त्य भएको छ । वैकल्पिक शक्ति निर्माणमा हामी अगाडि बढेका छौ त्यसबाट पछि हट्ने संभावना छैन’ उनले भने । कांग्रेस नेता इन्द्रबहादुर गुरुङले ठूला दलहरुको एकात्मक सोचलाई परास्त गर्न छुट्टै शक्ति बनाउँनुको विकल्प नभएको बताए । आदिवासी जनजातिको माग सम्वोधन नभए ठूला दललाई पाखा लगाएर अगाडि बढ्ने समेत उनले बताए । सद्भावनाका नेता लक्षणलाल कर्णले अहिलेको परिस्थितिमा नयाँ राजनीतिक शक्ति आवश्यक रहेको बताएका थिए । माओवादीका शशी श्रेष्ठ र एमालेका राजेन्द्र श्रेष्ठले कसैको अधिकार खोसेर आदिवासी जनजातिले अधिकार नमागेको बताए । कार्यक्रममा आदिवासी जनजाति नेताहरुले आदिवासीको अधिकार सुनिश्चित गर्न थप आन्दोलन आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा विभिन्न ५६ आदिवासी जनजातिको भेषभुषा र सस्कृति झल्काउँने नाँच समेत प्रस्तुत गरिएको थियो ।
(राज्यसत्ता नेपाल व्युरो )
छुट्टै राजनीतिक शक्तिको विकल्प छैन : अशोक राई
Read Time:1 Minute, 54 Second
