गोविन्द घर्ति, रुपन्देही, देवदह गाउँ विकास समितिले नागरिक वडा मञ्चलाई वेवास्ता गरेको सरोकारवालाहरुले बताएका छन् । स्थानीय स्तरमा हुने विकास निर्माण लगायतका सम्पूर्ण कामको नागरिक वडा मञ्चलाई गाविसले कुनै जानकारी नदिएको नागरिक वडा मञ्चका संयोजकहरुको भनाई रहेको छ । योजना छनोट गर्ने, कार्यान्वयन गर्न सहयोग गर्ने, सार्वजनिक परिक्षण तथा नागरिक सुनाईबाट आएका गुनासोलाई सम्वन्धीत निकायमा पुर्याएर समस्या समाधान गर्ने वडा नागरिक मञ्चको निर्देशिकामा उल्लेख गरिए पनि देवदह गाविसले त्यस कार्यमा जानकारी नगराएको वडा नागरिक मञ्च–२ यादव भूसालले बताउनु भयो । वडा भित्र सरकारी एवं गैर गरकारी निकायबाट हुने कार्यक्रममा अनुगमन, समन्वय एवं सहजीकरण गर्ने जिम्मेवारी वडा नागरिक मञ्चलाई दिए पनि नागरिक वडा मञ्चलाई कुर्नै जानकारी नगराएको वडा नागरिक मञ्च देवदह–५ का टिका गौतमले बताउनु भयो । वडा नागरिक मञ्चको निर्देशिका अनुसार देवदह गाविसमा वडा नागरिक मञ्च गठन गर्ने र नागरिक सचेतना केन्द्र संचालन भएपनि अन्य कुनै पनि काम नभएको सामाजिक परिचालक सुष्मा अर्यालले बताउनु भयो । देवदह गाउँ विकास समितिमा गएर वडा जाने विकासका बजेट तथा कार्यक्रमहरु के कस्तो छ भनेर गाविस सचिव संग कुरा गर्दा तपाईहरुलाई गाउँ विकास समितिको बजेट र कार्यक्रम सोध्ने अधिकार नभएको भनेर गाविस सचिवले फर्काएको वडा नागरिक मञ्च देवदह–३ का खेमनारायण अधिकारीले बताउनु भयो । वडा नागरिक मञ्च गठन भएपनि देवदह गाविस तथा अन्य संघसंस्थाले वडा नागरिक मञ्च संग कुनै समन्वय नगरेको र गर्न नचाहेको वडा नागरिक मञ्च देवदह–७ का विष्णु भट्टराईले बताउनु भयो । यस विषयमा देवदह गाविसका सचिव व्रवुवहान सापकोटा संग सम्पर्क गर्दा नागरिक मञ्चलाई हरेक बैठक र निर्णय प्रक्रियामा उपस्थित गराउन आवश्यक नभएको बताउनु भयो । समस्या पहिचानको लागि मात्र वडा नागरिक मञ्च गठन गरेको सचिव सापकोटाले बताउनु भयो । देवदह गाविसलाई दीर्घकालिन रुपमा असर पर्ने निर्णयहरु गर्दा समेत गाविसले वडा नागरिक मञ्चलाई जानकारी नदिई आफनो अनुकुल अनुसार निर्णय गर्ने काम गरेको वडा नागरिक मञ्चका संयोजकहरुको भनाई रहेको छ ।
