मनोज श्रीसमगर, बुटवल, नेपाल मगर संघ रुपन्देहीको नवगठित समितिको विस्तारित बैठकले १ करोड ८५ लाख बराबरको महत्वकाक्षी कार्ययोजना पारित गरेको छ । बुटवलको अमर भवनमा शनिबार सम्पन्न बैठकले सो योजना पारित गरेको हो । संघले तात्कालिन र दीर्घकालिन गरि २ योजनाहरु पारित गरेको छ । तात्कालिन योजनाहरुमा, प्रथम शहिद लखन थापामगरको पूर्णकदको शालिक निर्माण गर्ने, अधुरो रहेको जिल्ला समितिको कार्यालय भवनको निर्माण कार्य पूरा गर्ने l मगर जातिको तथ्यांक संकलन गर्ने काम पूरा गर्ने, २०६८को एस.एल.सी.मा विशिष्ट श्रेणीमा उत्तीर्ण गर्नेमगर विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रमहरु ल्याएका छन् भने दीर्घकालिन योजनाहरुमा मगर जातिको सबलिकरणका लागि आर्थिक कार्यक्रम संचालन गर्ने, मगर भाषाका कक्षा संचालन गर्ने l मगर भाषाका पत्रिका÷बुलेटिनहरु प्रकाशन गर्ने, सांगठनिक तथा सामाजिक सचेतनाको प्रशिक्षण संचालन गर्ने, समसामयिक विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्ने, प्रथम शहीद लखन थापामगर स्मृतिपार्क एवं मगर संग्रालय निर्माण योजनाहरु प्रस्तुत गरिएको छ । तात्कालिन कार्ययोजना सम्पन्न गर्नका २७ लाख र दीर्घकालिन कार्ययोजना सम्पन्न गर्नका लागि १ करोड ५८ लाख गरि जम्मा १ करोड ८५ लाख बराबरको कार्ययोजना संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टामगरले प्रस्तुत गरेका थिए । सो भेलामा प्रमुख अतिथि नेपाल मगर संघको लुम्बिनी इन्चार्ज मिना थापामगरको उपस्थिति रहेको थियो भने गाउँ समितिका अध्यक्ष केरवानीका थम बहादुर बुढाथोकी मगर, मोतिपुरका श्याम बहादुर रानामगर, दुदराक्षका विन बहादुर थापामगर, आनन्दवनका माथवरसिंह सलामीमगर, बुटवलनगर समितिका जनक थापा मगर लगायतका गाउँ तथा नगर समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । त्यस्तै नेपाल मगर महिला जिल्ला समितिका अध्यक्ष सकुन्तला पुनमगर, नेपाल मगर युवा संघ, रुपन्देहीका पहल सिंह रानामगर, नेपाल मगर विद्यार्थी संघका संजिव थापामगर, नेपाल मगर संघका निवर्तमान अध्यक्ष यम बहादुर थापामगर, जिल्ला समिति रुपन्देहीका वरिष्ट सल्लाहकार अमर बहादुर थापामगर, सल्लाहकार दिलीप थापामगर, सल्लाहकार तथा नेपाल राष्ट्र बैंक भैरहवा शाखाका सह–व्यवस्थापक खेम पुनमगर लगायतले जिल्ला समितिको भावी कार्ययोजना प्रति आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
