पोखरा, १० असार
जेठ १४ गते संविधानसभा विघटनपछि मुलुकमा संवैधानिक संकट एवं बढ्दै गएको जटिलतालाइ नेपाल तामाङ घेदुङ कास्कीले राष्ट्रिय सर्वपक्षीय सहमतिबाट निकास दिन माग गरेको छ ।
असार १ गते नेपाल तामाङ घेदुङको काठमाडौमा सम्पन्न विशेष राष्ट्रिय भेलाले मुलुकको वर्तमान संबैधानिक संकटको निकास खोज्न दलहरु, सरकार, राष्ट्रपति एवं सरोकारवालाहरुलाई जनदवाव स्वरुप ज्ञापनपत्र बुझाउने निर्णय बमोजिम आज तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराइ मार्फत प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई ज्ञापनपत्र पठाउदै उक्त माग गरेको हो ।
मुलुकलाई अनिर्णयको बन्दीबाट तत्काल मुक्त गर्नुपर्ने, दलहरु वीच सहमति गर्दै जननिर्वाचित संविधानसभाबाटै संविधान बनाउने र जारी गर्ने प्रक्रियामा अघि बढाउनुपर्ने, सहमतिका लागि दलहरुले गृहकार्य गरी सर्वसम्मत ढंगले आगामी सरकारको नेतृत्व गर्ने व्यक्तिको निर्णय गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी आयोगबाट संविधान बनाउने, सर्वपक्षीय सम्मेलन गर्ने, संसदको निर्वाचन गर्ने जस्ता कुराहरुलाई जनताको संविधान बन्न नदिने षडयन्त्र हो भन्दै संविधानसभाको अलावा अन्य कुनै पनि घुमाउरो बाटोबाट बनाइने संविधान तामाङ घेदुङलाई स्वीकार्य नहुने उल्लेख छ ।
यसैगरी ज्ञापनपत्रमा विगतमा नयाँ संविधान निर्माणका लागि संविधानसभा र दलहरुका वीच भएका प्रगति र सहमतिहरुलाई यथावत राखेर जातीय पहिचानसहितको संघीयताको पक्षमा सहमति गर्न आग्रह गर्दै शिर्ष नेताहरुले सहमति गर्ने नाममा संविधान नै नबनाइ संविधानसभाको दुखान्त विघटन गरेकोप्रति गंभीर असहमति जाहेर गर्दै आगामी दिनमा तारे होटलहरुमा होइन, संविधानसभाभित्रैबाट सहमति खोज्न राजनीतिक दलहरु, सरकार र राष्ट्रपतिलाई गरेको छ । यदि असार १५ गतेभित्र पनि निकास नआए हामी त्यसका विरुद्ध आन्दोलनको घोषणा गर्न बाध्य चेतावनी समेत दिइएको छ ।
हुम तमु
‘संविधानसभा नै चाहियो’ – नेपाल तामाङ घेदुङ संघ
Read Time:3 Minute, 3 Second
